काठमाडौँ — प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले स्नातकदेखि स्नातकोत्तर तहसम्मका परीक्षाहरू सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिएका छन्।
सोमबार आफू कुलपति रहेका ११ वटा विश्वविद्यालयका उपकुलपतिहरूसँगको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन्।
नतिजा प्रकाशनमा हुने ढिलाइले विद्यार्थीको शैक्षिक सत्र खेर जाने र विभिन्न अवसरबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्न प्रधानमन्त्रीले आग्रह गरे। ‘परीक्षाको सवालमा विश्वविद्यालयहरू संवेदनशील हुन जरुरी छ,’ उनले भने, ‘यसका लागि प्रदेशस्तरमै उत्तरपुस्तिका परीक्षण गरेर भए पनि एक महिनाभित्र नतिजा प्रकाशन गर्ने बाटो खोल्नुस्।’

प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयबाट अन्य विश्वविद्यालयले लिनुपर्ने समकक्षता (इक्विव्यालेन्स) को झन्झटिलो व्यवस्था तत्काल हटाउन पनि निर्देशन दिएका छन्।
अबदेखि स्वदेशभित्रकै जुनसुकै विश्वविद्यालयबाट अध्ययन गरे पनि त्रिविको समकक्षता नचाहिने र सबै विश्वविद्यालयका कोर्सले स्वतः मान्यता पाउने व्यवस्था कार्यान्वयन गर्न उनले स्पष्ट पारे।
विश्वविद्यालयमा रहेका राजनीतिक दलका भ्रातृ विद्यार्थी संगठनका कार्यालयहरू खाली गराउनसमेत प्रधानमन्त्रीले निर्देशन दिएका छन्। आवश्यक परे सुरक्षाकर्मी परिचालन गरेर भए पनि विश्वविद्यालयका कोठा, भवन र जग्गामा रहेका दलगत संगठनका कार्यालय हटाउन सरकारले निर्देशन दिएको हो।
छलफलका क्रममा उपकुलपतिहरूले दलका भ्रातृ संगठनहरूको अराजक व्यवहारका कारण काम गर्ने वातावरण नभएको र मनोबल गिर्दै गएको गुनासो गरेका थिए। उनीहरूले शैक्षिक क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त राख्न र संगठनहरूका कार्यालय खाली गराउन सहज वातावरण बनाइदिन प्रधानमन्त्रीसँग माग गरेका छन्।


























Leave a Reply