अभिव्यक्ति स्वतन्त्रताका नाममा भ्रामक सामग्री फैलाउनु हुँदैन : मन्त्री डा.तिमिल्सिना

दलित अनलाइन बैशाख ६, २०८३

नुवाकाेट—  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.बिक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाबाट टाढा रहँदै जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेका छन्।

आइतबार विदुर नगरपालिका–४ बट्टारमा आयोजित पत्रकार भेटघाटमा उनले अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण भए पनि त्यसको नाममा भ्रामक सामग्री फैलाउनु उचित नहुने स्पष्ट पारे।

उनले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले आत्मअनुशासन र आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए। ‘सरकार सबै समस्याको समाधान कारबाहीबाट मात्रै खोज्ने पक्षमा छैन, सञ्चार क्षेत्र आफैं जिम्मेवार बन्नु जरुरी छ,’ उनले भने।

Cg

मन्त्री तिमिल्सिनाले हरेक समाचारले पार्ने असरबारे गम्भीर विश्लेषण गर्नुपर्ने बताउँदै भ्रामक सूचनाले छोटो समयमै ठूलो क्षति पुर्‍याउन सक्ने बताए।

साथै, सरकारी विज्ञापन र सूचना प्रकाशनमा पारदर्शिता ल्याउन सरकारले नयाँ नीति कार्यान्वयनमा ल्याएको जानकारी पनि दिए।

उनका अनुसार सरकारी सूचना सरकारी सञ्चारमाध्यममार्फत् प्रवाह गर्ने व्यवस्था पारदर्शितासँग जोडिएको विषय हो। सञ्चार जगत आफैंले उठान गरेका यस क्षेत्रका अनियमितता हटाउन सरकार अघि बढेको उनको भनाइ छ।

त्यस्तै, सञ्चार क्षेत्र बलियो र जिम्मेवार नभएसम्म सरकार पनि प्रभावकारी बन्न नसक्ने उल्लेख गर्दै उनले श्रमजीवी पत्रकारको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए। तथ्यमा आधारित र समाधानमुखी पत्रकारितामा जोड दिनुपर्ने उनको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले सरकारले काम र परिणाममार्फत् जवाफ दिने नीति लिएको स्पष्ट पारे।

‘सरकार अफवाह नभै नीति र नतिजामा विश्वास गर्छ । सञ्चार जगत तथा सबै नागरिकले सत्यमा आधारित भएर प्रश्न गर्ने र खबरदारी गर्न सके सरकार जवाफदेही हुन्छ’, उनले भने।

नयाँ सरकार गठन भएको छोटो समयमै जनताको आवश्यकता बुझेर काम सुरु गरिएको बताउँदै उनले सेवा प्रवाह सुधार, सुशासन र विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

उनले नागरिकलाई सरकारप्रति निरन्तर प्रश्न गर्न र निगरानी राख्न आग्रह गर्दै सत्यमा आधारित आलोचना र सुझाव आवश्यक रहेको बताए । साथै, प्रविधिको प्रयोग बढाएर सेवा प्रवाह सहज बनाउने योजना पनि सरकारले अघि सारेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank