काठमाडौँ — नेपाली कांग्रेसका निवर्तमान सांसद एवं प्रसिद्ध उद्योगपति विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टी नेतृत्वमा पुग्ने आफ्नो अभियानबाट पछि नहट्न सार्वजनिक आह्वान गरेका छन्। आइतबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता चौधरीले यस्तो बताएका हुन्।
उनले विशेष महाधिवेशनका पक्षधरहरूले पार्टीमा युवा नेतृत्व चाहेको उल्लेख गर्दै महामन्त्रीद्वयले यो अभियानलाई कुनै पनि हालतमा अधुरो छोड्न नमिल्ने बताए। “म आज मञ्चबाट दुवै महामन्त्रीलाई बधाई दिन चाहन्छु– अगाडि बढ्नुहोस्। आजको यो यात्रालाई अधुरो नछाड्नुस्, यसलाई निर्णायक ठाउँमा पुर्याउनुहोस्,” चौधरीले भने, “अब नेपालले कुर्नै नसक्ने अवस्थामा पुगिसकेको छ, देशलाई विकासको नयाँ खुड्किलोमा पुर्याउन तपाईंहरूले नेतृत्व लिनैपर्छ।”

नेता चौधरीले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कम्तीमा ५० प्रतिशत नयाँ अनुहार र युवाहरूलाई उम्मेदवार बनाउनुपर्ने प्रस्तावसमेत अघि सारेका छन्। उनले पार्टीले अब ‘जेन–जी’ (नयाँ पुस्ता) को भावना बोकेका युवाहरूलाई नेतृत्वमा उभ्याउनुपर्ने र राजनीतिलाई पेशा नभई समाज रूपान्तरणको प्लेटफर्म बनाउनुपर्नेमा जोड दिए।
सन् १९९१ (२०४८ साल) मा कांग्रेसकै नेतृत्वमा भएको आर्थिक रूपान्तरणले आजसम्म देश चलेको स्मरण गर्दै चौधरीले अब फेरि एकपटक अर्थतन्त्रलाई बलियो दिशा दिन सक्ने र युवाहरूको सपना सार्थक बनाउन सक्ने प्रतिबद्धता भएको कांग्रेस चाहिएको बताए। उनले राजनीति र अर्थतन्त्र दुवै पक्षलाई सँगै लिएर जान सक्ने बलियो साझेदारी नै आजको आवश्यकता रहेको औँल्याएका छन्।


























Leave a Reply