काठमाडाैं — नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने भन्नेबारेमा नेकपा एकीकृत समाजवादीभित्र विभाजन देखिएको छ। पार्टी अध्यक्ष माधव नेपालको समूह पार्टीका बहुमत पदाधिकारी र सदस्यहरू एकताका लागि तयार भएको बताइरहेको छ। तर नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायत एक दर्जन नेताहरू भने त्यसको विपक्षमा उभिएका छन्।
नेपाल समूहका केही नेता कार्यकर्ताहरूले आजै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दैछन्। यो समूहले आजै माओवादी अध्यक्ष प्रचण्डसँग प्रारम्भिक लिखित सम्झौता गर्ने पनि तयारी गरेकोछ।
_UAliKuUxWq.gif)
खनाल पक्षले भने आइतबारका लागि आफ्नो समूहको भेला बोलाएको छ।
माधव पक्षले शुक्रबारमात्रै एकता प्रस्ताव अनुमोदन गरेको थियो। खनाल पक्षले छुट्टै पार्टी गठन गर्ने चर्चा पनि चलिरहेको छ। एकीकृत समाजवादीभित्र विभाजन देखिएपछि शुक्रबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘आफ्नै घर’ एमालेमा फर्किन आह्वान गरेका थिए।
माओवादीसँग एकीकरणको झट्काले विप्लव नेतृत्वको पार्टी पनि दुई चिरा भएको छ। पार्टीको एउटा समूह चिरन पुन (मिलन सी)को नेतृत्वमा छुट्टै समूह बनाएर माओवादी केन्द्रलगायतको पार्टीसँगको एकताको पक्षमा उभिएका छन्।
शुक्रबार छुट्टै भेला गरेर उनीहरूलाई मिलनलाई महासचिवका रुपमा प्रस्ताव गरेका छन् र उनकै अगुवाईमा पार्टी एकतामा जाने निर्णय गरेका छन्। त्यसमा पार्टीका लगभग ७५ केन्द्रीय सदस्य छन्। विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल नामको पार्टीमा १४५ केन्द्रीय सदस्य थिए।
केही दिनअघिमात्रै विप्लवले यो पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका थिए।
माओवादी र एकीकृत समाजवादीबीच एकीकरण प्रक्रिया चलिरहेका बेलामा प्रचण्डले विप्लवहरूलाई पनि पार्टीमा सामेल हुन भनेका थिए। तर अहिले नै एकता गर्ने पक्षमा नभएको भन्दै विप्लवले उक्त प्रस्ताव अस्वीकार गरेका थिए।


























Leave a Reply