ओलीको नजरमा दलहरूः कांग्रेस ‘टेस्टेड’, माओवादीलाई ‘ट्याग’ नै भारी, विकल्प होइन रास्वपा

दलित अनलाइन भदौ २१, २०८२

काठमाडौं —  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा दस्तावेजहरू प्रस्तुत गर्दै समाजवादको आधार निर्माणको ऐतिहासिक अभिभारा एमालेबाहेक अरु कुनै पार्टी या शक्तिबाट पूरा हुन सम्भव नरहेको दाबी गरेका छन्।

ओलीले अन्य राजनीतिक दलहरूमाथि आफ्नो धारणा राख्दै सत्ता साझेदार दल नेपाली कांग्रेस प्रजातान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका खेलेको पार्टी भए पनि लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माण लागि भने यो ‘टेस्टेड’ भइसकेको शक्ति भएको टिप्पणी गरेका छन्।

‘प्रचण्डपथ’लाई कुनै निर्जन बाटोतिर थन्क्याएका माओवादीहरूका लागि ‘माओवादी’ ट्याग नै भारी भएको टिप्पणी गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राजतन्त्र फर्काउने सपना देख्ने अन्य राजावादी समूहहरूले धर्मलाई राजनीतिक हतियार बनाउन चाहेको भनेका छन्।

रास्वपालाई पार्टीकै मान्यता नदिएका ओलीले तलाउमा देखा पर्ने एउटा तरङ्ग जस्तै पपुलिज्म उठ्नु र छिट्टै सेलाउनु अनिवार्य नै भएको भनेका छन्।  ओलीले भनेका छन्, ‘हामीले सुरुदेखि नै भन्दै आएका थियौं- यो कुनै विकल्प होइन, हुन सक्दैन। दुई वर्ष बित्दानबित्दै समाजले पनि निष्कर्ष निकालिसकेको छ- पपुलिज्म कुनै समाधान या विकल्प होइन।’

यस्तो छ पार्टीहरूमाथि ओलीको धारणा-

समाजवादको आधार निर्माणको ऐतिहासिक अभिभारा अरु कुनै पार्टी या शक्तिबाट पूरा हुनु संभव छैन। नेपाली काङ्ग्रेस मुलुकको पुरानो पार्टी हो र प्रजातान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका खेलेको पार्टी पनि हो। तर लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माण लागि भने यो ‘टेस्टेड’ भइसकेको शक्ति हो। यसले सात सालपछि क्रान्तिका पक्षधर शक्तिहरूलाई समेट्दै आन्दोलनको रक्षा गर्न सकेन। पन्ध्र सालको निर्वाचनमा दुई तिहाई बहुमत पाएर पनि क्रान्तिका उपलब्धि जोगाउन सकेन। २०४८ र २०५६ मा दुई–दुई पटक बहुमत पाएर पनि आफ्नै अन्तरकलहका कारण सरकार गुमायो, र २०५९ सालमा त प्रजातन्त्र नै राजाको हातमा पुग्ने स्थिति निर्माण भयो। उसले अवलम्बन गरेको नवउदारवादी आर्थिक नीतिले समृद्धिको यस अभियानको नेतृत्व गर्न सक्दैन भन्ने प्रष्ट छ। नवउदारवाद संसारभरि नै असफल भइसकेको छ भने नेपालमा यस विचारले अगुवाइ गर्न सक्ने कुनै संभावना छैन।
नेकपा (माओवादी केन्द्र) बाट यस्तो नेतृत्व संभव छ त? बिल्कुलै छैन। कुनै बेला नेकपा (एमाले) र यसको सिद्धान्त जनताको बहुदलीय जनवादको ‘एण्टिथेसिस’ का रूपमा ‘प्रचण्ड’ ले विकास गरेको भनिएको सशस्त्र युद्धको बाटो, सेना बिनाको पार्टी कम्युनिष्ट पार्टी नै होइन भन्ने आग्रह र बहुदली प्रतिष्पर्धालाई अस्वीकार गर्दै जनवादी अधिनायकत्वको एकदलीय सोच त उहिल्यै असफल भइसकेको हो। ‘प्रचण्डपथ’ लाई कुनै निर्जन बाटोतिर थन्क्याएका माओवादी साथीहरूका लागि ‘माओवादी’ ट्याग पनि भारी भएको छ। शान्ति प्रक्रियामा आइसकेपछि अगाडि सारिएका सत्ता कब्जा, सेनामा ‘समूहगत समायोजन, जातीय राज्य लगायत माओवादीका प्रायः सबै प्रयोग असफल भएका छन्। अस्थिरता, अवसरवाद एवं विभाजनकारी सोच र भ्रष्ट व्यवहारले गर्दा आज माओवादी वैचारिक, साङ्गठनिक र चारित्रिक हिसाबले निरन्तर क्षयीकरण हुँदै गएको छ। कसैको पनि बहुमत नभएको ‘ह पार्लियामेन्ट‘का कारण सत्ताको लाभ लिइरहनु एउटा कुरा हो। तर मुलुकको वैचारिक-राजनीतिक नेतृत्व गर्ने प्रतिष्पर्धाबाट माओवादी केन्द्र बाहिरिइसकेको छ। सङ्कीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका बारेमा त्रुटिपूर्ण सोच बोकिरहेका मधेस केन्द्रित दलहरूले राष्ट्रको नेतृत्व गर्न सक्ने प्रश्नै भएन।
राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य राजावादी समूहहरू राजतन्त्र फर्काउने सपना देख्छन्, कतिले धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन्। जन्मजात श्रेष्ठताको सामन्ती विचारले र त्यस्तो विचार बोक्ने त्यसका अनुयायीहरूले आजको लोकतान्त्रिक युगमा समाजको नेतृत्व गर्ने कुरा कल्पना बाहिरको कुरा हो। पछिल्लो समय राजावादीका नाममा संविधान नै नमान्ने, प्रचलित कानुन र प्रशासनका आदेशहरू अवज्ञा गर्ने, शान्तिपूर्ण प्रदर्शनका नाममा हिंसा र अराजकता मच्चाउने प्रवृत्ति बढेको छ। यो स्वीकार्य हुन सक्दैन।
समाजमा असन्तुष्टि, गुनासो र बेथिति सिर्जना गर्दै त्यसबाट उत्पन्न नकारात्मकतालाई प्रयोग गर्दै केही दल र व्यक्तिहरू गत निर्वाचनबाट नाटकीय ढङ्गले राजनीतिक रङ्गमञ्चमा उदाए। विशेष गरेर नेकपाको विभाजन, जनादेशबाट सरकार चलाइरहेको नेकपा (एमाले) लाई परमादेशबाट गरिएको विस्थापन, त्यसपछिका नीतिहीन गठबन्धन र त्यसले सिर्जना गरेको राजनीतिक विकृतिले गर्दा समाजको एउटा तप्काले विकल्पको खोजी गरिरहेको थियो। समाजको यही मनोविज्ञानलाई ‘पपुलिस्टहरू’ ले राम्रैसँग दुरूपयोग गरे। तर उनीहरूसँग प्रश्नहरू थिए, उत्तर थिएन। हातमा समस्याको चाङ, समाधानको कुनै विकल्प थिएन। न कुनै वैचारिक राजनीतिक स्पष्टता। न विगतको कुनै बिरासत र योगदान। न कुनै सुस्पष्ट गन्तव्य। न त निश्चित वर्गआधार र लक्षित समूह। तलाउमा देखा पर्ने एउटा तरङ्ग जस्तै यस्तो पपुलिज्म उठ्नु र छिट्टै सेलाउनु अनिवार्य नै थियो। हामीले सुरुदेखि नै भन्दै आएका थियौं- यो कुनै विकल्प होइन, हुन सक्दैन। दुई वर्ष बित्दानबित्दै समाजले पनि निष्कर्ष निकालिसकेको छ- पपुलिज्म कुनै समाधान या विकल्प होइन।
विचारका हिसाबले जनताको बहुदलीय जनवाद र शक्तिका हिसाबले नेकपा (एमाले) यस अभियानको सारथी हो भन्ने कुरामा कुनै द्विविधा छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank