काठमाडौं — पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेले जनताको बहुदलिय जनवादलाई मार्गदर्शन सिद्धान्तको रुपमा लिए पनि त्यसको मर्म र भावना अनुसार काम भएको छ कि छैन भनेर समीक्षा गर्ने बेला आएको बताएकी छन्।
मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले यस्तो भनाई राखेकी हुन्। पार्टीले राष्ट्रपतिमा जानुपर्छ भनेका कारण गएको बताउँदै अब आफु एमालेको कार्यकर्ता भएर बस्ने पनि उनले बताइन्।
‘एमालेले मार्गदर्शन सिद्धान्तको रूपमा जबजलाई लिएको छ। त्यसको मर्म र भावना अनुसार हामीले काम गर्ने हो। त्यसको मर्म र भावना अनुसार काम भएको छ कि छैन समीक्षा गर्ने बेला भएको छ,’ समारोहमा भण्डारीले भनिन्।
भण्डारीले २०४६, ४७ को आन्दोलनपछि बनेको अन्तरिम सरकारसहित ५० सालको चुनावदेखि एमालेले निरन्तर सरकारमा भाग लिइराखेको स्मरण पनि गराइन् । सरकारमा भाग लिनु भनेको आफ्नो पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्नु रहेको पनि उनले बताइन्।
‘त्यो अनुसार हामीले काम गर्न सक्यौँ कि सकेनौँ ? विभिन्न समयमा हामीले चर्चा गरिहरेका छौँ। आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा हामीले काम गर्न सक्यौँ कि सकेनौँ समीक्षा गर्ने बेला भएको छ,’ उनले भनिन्।

जबजको सिद्धान्त अनुसार समाजलाई डोहो¥याउनको लागि वैचारिक मनन् गरेर अगाडि बढ्नुपर्ने भनाई उनको छ। पार्टीले जिम्मेवारी दिए पनि नदिए पनि आफूलाई सरोकार नभएको उनको भनाई थियो। उनले पार्टी संगठित सदस्यकै विषयमा च्यासलले प्रश्न उठाएको बिषयमा पनि जवाफ दिएकी छन्।
‘म चाहिँ के भन्न चाहन्छु भने– एमाले अहिले, माले थियो पहिले। मैले माले कालदेखि नै सदस्य भएकी हुँ । ०३७ सालमा सदस्यता लिएको रहेछु, ४५ वर्ष भएछ,’ उनले भनिन्, ‘राष्ट्रपतिको शपथ खाने बेलामा ३५ वर्ष भएको थियो। पार्टीले निर्णय गरेर जानुपर्छ भन्यो गएँ। राष्ट्रपतिले गर्नुपर्ने काम गौरव गर्ने हिसाबले गरेको छु।’


























Leave a Reply