काठमाडौं —राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । बुधबारको प्रतिनिधिसभामा समय लिएर बोलेका उनले राजीनामा दिने घोषणा गरेका हुन् ।
निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा चलखेल गरेको आरोप खतिवडामाथि छ । यसबारे गठित संसदीय छानबिन समितिले खतिवडालाई नैतिक जिम्मेवार ठहर गरेको थियो । त्यसपछि उनको राजीनामा माग्न थालिएको थियो ।

यद्यपि छानबिन समितले आफ्नो राजीनामा नमागेको खतिवडाले बताए । उनले भने, ‘प्रतिवेदन सबैले पढ्नुहोला । त्यसमा मलाई मलाई मुख्य दोषी ठहर्याएइको छ ? न राजीनामा उल्लेख गरिएको छ । न प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्छ भनेर सिफारिस गरिएको छ । तर राज्य व्यवस्था समितिको सभापतिको रूपमा जे काम गर्यो त्यसको लागि एउटा भए पनि इँट्टा थपाैँ भन्ने मनसाय थियो । यद्यपि जिम्मेवार भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको पदबाट आज हाँसी हाँसी राजीनामा दिएको घोषणा गर्छु ।’
खतिवडाले मंगलबार सभामुख देवराज घिमिरे कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेसँग भेट गरेका थिए । भेटमा राजीनामाकै विषयमा छलफल भएको थियो । अन्तत: राजीनामा दिँदै खतिवडाले कर्मचारीसहित सिंगो संसदमाथि पनि छानबिन हुनुपर्ने माग गरे ।


























Leave a Reply