
मोरङ —प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन्। शनिवार मोरङको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘जीवन विकास सामुुदायिक अस्पतालले पैसा नभएकै कारण उपचार नपाउने अवस्था हुन नदिने अठोट व्यक्त गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘संसारमा कमै मात्र यस्ता अस्पताल हुन्छन्।’
सामाजिक भावबाट सञ्चालित जीवन विकास सामुदायिक अस्पतालको विकासका लागि सरकारको साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे। ‘दुई सय शय्याबाट तीन सय शय्यामा अस्पताललाई स्तरोन्नतिसहित मेडिकल कलेज सञ्चालन गर्ने जीवन विकास समाजको योजना पूरा होस् । सरकार आवश्यक सहयोग गर्न तयार छ,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले उद्यमशीलता र रोजगारी वृद्धिका लागि जनप्रतिनिधिले भाषणभन्दा यसैगरी काम गर्नुपर्नेमा जोड दिए।
Leave a Reply