कञ्चनरुप — सप्तरी कञ्चनरुप नगरपालिका–१ का १८ वर्षीय चन्दर सदामाथि जातीय आधारमा गालीगलौज गरी निर्घात रुपमा कुटपिट भएको छ । सदालाई शुक्रबार साँझ तीन जनाको समूहले जातीय आधारमा गालीगलौज गरी निर्घात रुपमा कुटपिट गरेका हुन् ।
सदामाथि सोही ठाउँका देवेन्द्र यादव उर्फ देवी, उनका भतिजा शम्भु यादव र रमेश यादव कुटपिट गरेका थिए । पीडित सदाका अनुसार उनी आमा र भान्जासहित घर फर्कँदै गर्दा बाटोमा मदिराले मातिएका रमेश यादवले विना कारण गाली गलौज गरेका थिए । जब चन्दरले विरोध गर्दै प्रश्न उठाए, रमेशले जातीय आधारमा ‘मुसहर भएर किन बोलिस्’ भन्दै हातपात थालेका थिए ।
रमेशको कुटपिटपछि चन्दरले प्रतिकार गरे पनि रमेशले काका देवेन्द्र र भाइ शम्भुलाई घरबाट बोलाएर ल्याएका थिए । त्यसपछि तिनै जनाले मिलेर चन्दरमाथि लात्ती, घुँडा, र हातले घाँटीसमेत किच्दै आक्रमण गरेको पीडितको भनाइ छ ।
_KhaYWeEYXG.gif)
स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले चन्दरलाई उपचारका लागि अस्पताल पु¥याएको थियो ।
प्रहरी निरीक्षक लेखबहादुर बिष्टका अनुसार, घटनामा संलग्न देवेन्द्र यादव र रमेश यादवलाई पक्राउ गरिएको छ । तर देवेन्द्र यादव कुटपिटमा प्रत्यक्ष संलग्न नभएको भन्दै हाजिरी जमानीमा छाडिएको र रमेश यादवमाथि अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइएको छ । अर्का अभियुक्त शम्भु यादव भने हाल फरार छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चन्दर सादा दैनिक ज्यालादारी गरेर जीविका चलाउने व्यक्ति भएकाले उपचारमा आर्थिक अभाव रहेको थियो । त्यस कारण प्रहरीकै सहयोगमा उनलाई अस्पताल पठाइएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।
फरार अभियुक्त शम्भु यादवमाथि कञ्चनरुप–१ क्षेत्रमै दर्जनौं चोरीका घटनामा संलग्न भएको भन्दै मुद्दा दर्ता भएका छन् ।
घटनाप्रति दलित सरोकार मञ्च नेपाल कञ्चनरुपले ध्यानाकर्षण जनाउँदै दोषीमाथि कडा कारबाही गर्न र पीडितको उपचारमा सहयोग पु¥याउन प्रहरी प्रशासनसँग माग गरेको छ ।

























Leave a Reply