
काठमाडौँ — महायज्ञको नाउँमा दलित डोम परिवार दीपक मरिकको परिवारलाई उठीबास गरेको आरोपमा सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवविरुद्ध पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।
शनिबार दलितका अगुवासहित पुगेर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका हुन् । औरही गाउँपालिका-५ का दलित समुदायका पीडित दीपक मल्लिकले दिएको जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ ।
जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै कानुनबमोजिम कारबाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।
पीडित परिवारको जाहेरी प्राप्त भएको र यससँगै कानुनी कारबाही प्रक्रिया अघि बढेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ ।
चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।
Leave a Reply