
काठमाडौं — नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादवसहितले डोम परिवारको घर भत्काइदिएको बताउँदै उनीहरूलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सहमहामन्त्री परियारले औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादवलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरेका हुन् ।
महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष यादवले जेसीबी लगाएर दीपक मरिक (डोम)को घर भत्काएको आरोप छ।
बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् । मरिक परिवार वर्षौँदेखि बस्दै आएको सो स्थानमा भने महायज्ञको तयारी गरिएको छ ।
उनले गाउँपालिका अध्यक्ष र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्षको संलग्नतामा डोम समुदायलाई उठिवास गर्ने काम भएको भन्दै दोषीहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरे।
‘औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलीप यादवसहितका व्यक्तिहरूले डोम समुदायका व्यक्तिहरूलाई उठिवास गर्ने काम भएकोमा घोर भर्त्सना गर्दछु,’ उनले भने।
Leave a Reply