
काठमाडौं — सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, सिरहाले शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार, अहिलेसम्म यो घटनामा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन् ।
यसमध्ये रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् भने अन्य जाहेरीमा नाम नभए पनि पञ्चायतीमा भूमिका खेल्ने व्यक्ति हुन् । चन्देश्वर, रामविनोद र कमलेशलाई प्रहरीले फागुन ११ मै पक्राउ गरेको थियो ।
यसैगरी, बलात्कारका मुख्य अभियुक्त रुपेश गत २१ गते पक्राउ परेका थिए । यस्तै, अन्य चार जनालाई भने शुक्रबार बिहान लुकिछिपी बसेको अवस्थामा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताए ।
गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । उनी भोलिपल्ट बिहान रुँदै घर पुगेकी थिइन् । तर, वडासदस्य सहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।
पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीका बीच ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
Leave a Reply