
काठमाडौं — सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु भएको घटनाका मुख्य आरोपी रुपेश मण्डलमाथि दुई दिनको म्याद थप भएको छ । सिरहा जिल्ला अदालतबाट प्रहरीले उनीमाथि दुई दिनको म्याद थप गराएको हो ।
अदालतबाट म्याद थप भएपछि उनीमाथि विस्तृत अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । प्रहरीको विशेष टोलीले रुपेश मण्डललाई आजै सिरहा नगरपालिका १७ स्थित दशगजा क्षेत्रबाट पक्राउ गरेको थियो ।
गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । उनी भोलिपल्ट बिहान रुँदै घर पुगेकी थिइन् । तर, वडासदस्य सहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।
पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीका बीच ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
Leave a Reply