
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशको विकासका लागि ल्याइएका अध्यादेश संसद्बाट पारित गरेरै छाड्ने बताएका छन्।
दाङको घोराहीमा नेकपा (एमाले) जिल्ला कमिटीद्वारा सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो नेतृत्वको सरकार केन्द्रित भएको स्पष्ट गर्दै आफूहरु कोही पनि नेपाली पछाडि नपरोस् भन्ने सोच बोकेर अघि बढेको बताए।
नेपाल अब सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको जनाउँदै उनले दाङको देउखुरीमा पनि सुरुङमार्ग बनाउने योजना रहेको सुनाए।
“पहिला मैले सुरुङ, पानीजहाज र रेलका कुरा गर्दा धेरैले गिज्याए, अहिले जनकपुरमा त रेल चलिरहेको छ, त्यो विस्तार हुँदै छ, अब नारायणी नदीबाट तपाईंहरू जलयात्रा सुरु गर्न सक्नुहुन्छ, त्यसलाई गङ्गासम्म लैजान सक्नुहुन्छ, त्यहाँबाट बङ्गाल जान सक्नुहुन्छ।’’, उनले भने, “अहिले पुष्पलाल मार्ग, मदन भण्डारी मार्गजस्त आयोजना निर्माणको काम चलिरहेका छन्। हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन।’’
प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताउँदै महासचिव शंकर पोखरेललाई चुनाव जिताएर नपठाउँदा विकासको अभियान अघि बढाउन आफूलाई केही समस्या भएको बताए।
Leave a Reply