
काठमाडौं — सर्लाहीको अन्तरजातीय विवाहको घटनामा प्रहरीको भूमिका बारे प्रतिनिधि सभा बैठकमा सांसदहरूले गृहमन्त्री रमेश लेखकसँग जबाफ मागेका छन्।
बिहीबार दिउँसो १ बजेदेखि सुरू भएको प्रतिनिसभा बैठकको आकस्मिक समय र शून्य समयमा बोल्ने सांसदहरुले अन्तरजातीय विवाहको घटनामा गृहमन्त्रीको आलोचना र उनीमाथि प्रश्न गरेका हुन्।
सर्लाहीका सत्यन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई अन्तरजातीय विवाह गरेकै कारण राज्यले ज्यादती गरेको आरोप लगाउँदै एमाले सांसद हर्कमाया विकले त्यसको भर्त्सना गरिन्।
‘यस घटनाले जातीय विभेद मात्रै होइन। यसमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अन्याय गरेको छ,’ उनले भनिन्। विवाह दर्तासमेत गरिसकेका उनीहरूको सम्बन्ध तोड्न राज्यशक्तिको दुरूपयोग गरेर जबरजस्ती छुट्याउन खोजेको आरोप छ।
अन्तरजातीय विवाह भएकै कारण अदालतले पनि विवाह दर्ता नै नहेरी धरौटी माग गर्नेदेखि लिएर प्रहरीले धरपकड गरेको सांसद विकले बताइन्। ‘अन्तरजातीय विवाह गर्नेलाई राज्यले लखेटीलखेटी छुट्याउन खोज्यो,’ उनले भनिन्।
आकाशमा नयाँ संसार बसाल्ने होडबाजी भइरहँदा नेपालमा भने एउटा मानवबाट अर्को मानवमाथि हुने हिंसाको विषयलाई लिएर संसदमा बहस गरिराख्नुपरेको माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले बताए।
‘सत्येन्द्र र नेहाबीच प्रेम विवाह भएको, विवाहपश्चात मंसीर २१ गते भारतको मुम्बई घुम्न गएका जोडीलाई गृहमन्त्रीकै आदेशमा प्रहरी महानिरीक्षकले अपराध अनुसन्धान कार्यालयका प्रहरी टोली पठाएर पक्राउ गर्यो। जबकी गम्भीर अपराधका घटनामा मात्रै गृहममन्त्रीको स्विकृतिमा प्रहरी विदेश पठाउने गरिन्छ,’ बरालीले भने।
उनले जिबी राईलाई समात्न नसक्ने प्रहरीले अन्तरजातीय विवाह गर्ने जोडीलाई भारतबाट पक्रेर बहादुरीपूर्ण काम गरेको बताए।
अन्तरजातीय विवाहलाई लिएर गृहमन्त्रीको आदेशमा अत्याचार भएको घटनाले सिंगो दलित समुदायलाई स्तब्ध बनाएको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले यही घटनालाई लिएर सरकार हात्तीको दातजस्तै लाग्न थालेको बताए।
‘विवाह दर्ता भइसकेको कानुनी रूपमा वैध सम्बन्धलाई जबरजस्ती तोड्न गृहमन्त्रीकै निर्देशनमा राज्यशक्ति दुरूपयोग भएको खबर सत्य हो भने सरकारले जबाफ दिनुपर्छ,’ उनले भने।
‘प्रेम विवाह गरेकै कारण सत्येन्द्रमाथि बालविवाह, मानव तस्करी, लागुऔषध ओसारपसार मुद्दाको झुट्टा मुद्दा लगाउने धम्की दिएर दबाउन खोजियो। बाध्य भएर मानवअधिकार आयोगमा उजुरी दिए। सर्वोच्चले नेहालाई सत्येन्द्रकै जिम्मा लगाउने आदेश दियो। के सरकार संविधान भन्दा माथि हो ? सरकारले दलित समुदायको संविधान प्रदत्त हकको रक्षा गर्नुपर्ने हो या जातीय विभेदलाई स्थापित गर्ने हो। यो घटनाले देखाएको छ,’ उनले भने।
शक्तिको दुरूपयोग गर्ने र जातीय भेदभावलाई मौलाउने र संविधानको धज्जी उडाउने प्रवत्ती सरकारमै रहेको नेपालीले बताए।
कांग्रेस सांसद शान्ति विकले भने अन्तरजातीय विवाहको विषयलाई लिएर गृहमन्त्री लेखकले नै ठाडो निर्देशन दिने कुरा विश्वास नगर्ने बताइन्।
उनले भ्रम फैलाएर गृहमन्त्री लेखकको चरित्र हत्या गर्न खोजिएको बताइन्। यद्यपि अन्तरजातीय विवाहकै कारण सत्येन्द्रमाथि प्रहरीले गरेको व्यवहार ६० लाख दलितसमुदाय माथिको चोट रहेको उनले बताइन्।’ हामीले अझैपनि यो जातीय विभेदको गहिराईमा कहिलेसम्म डुबिराख्नुपर्ने हो ? यो घटना सत्यतथ्य के हो गृहमन्त्रीज्यूले प्रष्ट पारिदिनुपर्छ,’ उनले भनिन्।
सांसद शान्त विकले आफ्नाे मालिककाे कचनउ गरेकने देखियाे याे दास मननसिकता हाे ।