काठमाडौँ — पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे बयान सकिएकाे छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबारदेखि सुरू भएकाे लामिछानेको बयान शुक्रबार दिउँसाे सकिएकाे हाे। उनले सहकारी ठगीमा इन्कारी बयान दिएकाे बताइएकाे छ।
सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित छविलाल जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो। उनीहरूमध्ये अहिलेसम्म रवि, जोशी र पछाईंको मात्रै बयान सकिएको छ।
सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेक बहस र आदेश हुने अदालतले जनाएको छ।
गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेकाे छ। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ।
यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको छ।
Leave a Reply