दलित महिलामाथि सामूहिक बलात्कार भएको बाँसको झ्याङ ।
मोरङ — मोरङको जहदा गाउँपालिका– ३ की दलित महिलालाई शौच गर्न निस्किएका वेला युवाहरूको एक सहमूहले अपहरण गरी सामूहिक बलात्कार गरेको छ । युवाहरूले उनको मुख थुनेर सिटी रिक्सामा राखी एक किलोमिटर पर कटहरी गाउँपालिका– २ स्थित बाँसको झ्याङमा पुर्याएर बलात्कार गरेका हुन् ।
हातखुट्टा बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा मंगलबार दिउँसो उनको उद्धार गरिएको थियो । अर्धचेत अवस्थामा उद्धारपछि उपचार गरिएकी महिलाले स्वास्थ्यमा केही सुधार आएपछि बलात्कारमा संलग्नहरूको हुलियाबारे जानकारी गराएसँगै प्रहरीले एक भारतीयसहित चारजनालाई पक्राउसमेत गरिसकेको छ ।
कटहरी– २ कदमटोलीकी वृद्धा शान्ति ऋषिदेवले मंगलबार दिउँसो १२ बजेतिर बाँसघारीमा हातखुट्टा बाँधिएको अवस्थामा महिलालाई देखेपछि घर पुगेर छोरा रसिलाललाई जानकारी गराएकी थिइन् । त्यसपछि रसिलाल स्थानीयहरूसमेत भेला गरेर घटनास्थल पुगेका थिए । सलले हातखुट्टा बाँधिएको र मुखमा समेत कपडा कोचेर मरणासन्न अवस्थामा लडिरहेको महिला देखेपछि गाउँलेले कटारी प्रहरी चौकीमा खबर गरेका थिए । तत्काल प्रहरी वरिष्ठ हवल्दार भीम खड्काको नेतृत्वमा आएको टोलीले उद्धार गरेर विराटनगरस्थित कोसी अस्पताल पुर्याएको थियो ।
कोशी अस्पतालको लैंगिक हिंसा पीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) कक्षमा चेकजाँच, उपचार र मनोविमर्शपछि स्वास्थ्यमा सुधार हुँदै गएपछि प्रहरीले महिलासँग सोधपुछ गरेको थियो । आफूलाई युवाहरूको समूहले मुख थुनेर सिटी रिक्सामा राखी बाँसको झ्याङमा लगेर सामूहीक बलात्कार गरेको वयान दिएकी थिइन् । पीडितले दिएको हुलियाका आधारमा प्रहरीले मंगलबार राति नै तीन र बुधबार एक गरी चार युवालाई नियन्त्रणमा लिएको छ ।
कटहरी– २ का १९ वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सोनुकुमार साह, भारतको अररिया कुर्साकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार र अर्का एक (नाम नखुलेको)लाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । दुईजना सिटी रिक्सा चालक र दुईजना कटहरीमै ग्यारेजमा काम गर्ने युवा रहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले घटना सामूहिक बलात्कारजस्तै देखिएको र पीडितको बयानका आधारमा चारजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताए ।
बुधबार सार्वजनिक बिदा परेकाले अदालतबाट म्याद थप गर्न नपाइएको उनको भनाइ छ । ‘हामीले पीडितको बयानका आधारमा अनुसन्धान अगाडि बढाइसकेका छौं, तर बुधबार सार्वजनिक बिदा परेकाले अदालतमा म्याद थपका लागि लैजान पाएनौं,’ उनले भने । उपचार र चिकित्सकीय परीक्षण सकिएकापछि बुधबार प्रहरीले पीडितसँग वयान लिएर सेफ हाउसमा पठाएको छ ।
श्रीमानले अर्कै महिलासँग बिहे गरेर भारत गएपछि उनी दुई बालबच्चासहित ३ वर्षदेखि माइती घर खदरामा बस्दै आएकी थिइन् ।
Leave a Reply