काठमाडौँ — स्थानीय तहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो जित निकालेको छ । काठमाडौं महानगरपालिका वडा–१६ को अध्यक्ष पदमा रास्वपा निर्वाचित भएको हो ।
आइतबार भएको निर्वाचनको परिणाम सोमबार बिहान सार्वजनिक भएको हो । जसअनुसार वडा नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ १ हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसका देवेन्द्र पाठक २८० मतान्तरले पराजित भए । कांग्रेसका पाठकले १ हजार ३०४ मत पाए ।
नेकपा एमाले तेस्रो भएको छ । लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाएका छन् ।
उपनिर्वाचनमा रास्वापाले २७ स्थानमा उमेदवार उठाएको छ । मतगणना भइरहेका अन्यत्र स्थानमा भने रास्वपाको उपस्थिति खासै देखिएको छैन । ०७९ को स्थानीय तहको निर्वाचन हुँदा रास्वापाको स्थापना भइसकेको थिएन । ०७९ को निर्वाचनमा काठमाडौं–१६ मा कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका थिए । ०७४ को निर्वाचनमा पनि रिजाल नै निर्वाचित भएका थिए ।
वडाध्यक्षमा निर्वाचित मुकुन्द रिजालको ०८० भदौ २१ गते निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो ।
Leave a Reply