काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कीर्तिपुरमा आयोजित चुनावी सभाका क्रममा १७ वर्षअघिको चुनावको स्मरण गरेका छन्।
बिहीबार दिउँसो नगाउँ दोबाटोमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा २०६४ सालमा सम्पन्न पहिलो संविधान सभाको चुनावको स्मरण गरेका हुन्। त्यतिबेला उनी काठमाडौं क्षेत्र नम्बर १० बाट विजयी भएका थिए।
‘१७ वर्षअगाडिको चुनाव र त्यतिबेला कीर्तिपुरवासी जनताले जनताले प्रदर्शन गरेको उत्साह फेरि एकपटक पुनरावृत्ति भएको महशुस भएको छ। अमूल्य मतबाट नै यस क्षेत्रबाट निर्वाचित भएर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गराउने अवसर पाएको थिएँ,’ उनले भने।
त्यसपछिका कयौं उतारचढाव पार गर्दै नयाँ अभियानमा आएको प्रचण्डले बताए।
उनले यसपालिको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवा प्राध्यापक डा. शिवशरण महर्जनको पक्षमा मतदान गर्न पनि कीर्तिपुरवासीलाई अपिल गरे। महर्जनले जित्नु कीर्तिपुरवासीका लागि सम्पूर्ण हिसाबले राम्रो हुने पनि उनको भनाइ छ।
सम्बोधनका क्रममा प्रचण्डले आफू सरकारमा रहँदा नेपाल संवतलाई राष्ट्रिय संवित बनाउने निर्णय गरेकोदेखि नेपाल भाषालाई सरकारी कागजातमा नेपाली भाषासँगै लेख्ने व्यवस्था कार्यान्वयन गरिएको बताए।
अरू धेरेै काम गर्ने योजनाका बाबजुद विभिन्न षड्यन्त्रका कारण चाँडै सरकारबाट हट्नुपर्ने अवस्था आएको बताए। अहिले आएको सरकारले माओवादी नेतृत्वमा भएका राम्रा काम र त्यो काम गर्नेमाथि तीर चलाउन थालेको प्रचण्डले बताए।
‘लोडसेडिङ अन्त्य भयो। अहिले प्राधिकरण नाफामा छ। त्रिदेशीय व्यापार साझेदारी भइरहेको छ। त्यसैलाई ह्युमुलेट गर्न प्रयास गरिरहेको छ,’ उनले भने, ‘जनताको सानो सानो बिल तिर्नैपर्ने उद्योगीले अरबौंको बिल तिर्न नपर्ने?’
कांग्रेस एमालेले प्रदर्शन गरेको संख्याको तागतलाई जनताले आफ्नो तागत देखाएर तह लगाउनुपर्ने समय आएको र त्यसको सुरूवात कीर्तिपुरबाटै गर्न प्रचण्डले आह्वान गरे।
आफू निरन्तर जनताको समृद्धि, विकास र सुशासनको आकंक्षा पूरा गर्न लागिरहने पनि उनले बताए।
‘म थाकेको छैन। फेरि एउटा आन्दोलनको नेतृत्व गरेर नेपाली जनताको सुसशासन समृद्धिको आकांक्षा पूरा गर्न लागेको छु,’ उनले भने।
Leave a Reply