राजविराज— सप्तरीको राजविराज नगरपालिका– ६ दलित बस्तीका २७ वर्षीय रुपेश सदा उपचारका लागि दुई महिनादेखि ओछ्यानमै थला परेका छन् । नसा च्यापिएर हिँडडुल गर्ने अवस्था नभएका उनलाई उपचार गराउन आर्थिक समस्या छ । पेसाले मजदुर उनी एक महिनाअघि घर ढलान गर्ने क्रममा सिमेन्टको बोरा बोकेर जाँदै गर्दा लडेर अचेत भएका थिए । लड्दा उनको टाउको, घाँटी र ढाडमा चोट लाग्यो ।
साथै, घाँटी र ढाडको नसा च्यापिएको थियो । जसकारण उनी हिँडडुल गर्न नसक्ने भएका हुन् । बिरामी भएपछि उनलाई उपचारका लागि श्रीमती रम्भाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएकी थिइन् । पाँच दिनको उपचार र बसाइमा एक लाख पाँच हजार खर्च भएको उनले बताइन् । चिकित्सकले अप्रेसन गर्नुपर्छ भन्दै थप एक लाख ५० हजार रुपैयाँ व्यवस्था गर्नु भनेपछि उपचार नै नगरी श्रीमान्लाई घर ल्याएको रम्भाको भनाइ छ ।
वडा कार्यालयबाट केही सहयोग तथा साहु–महाजनसँग ऋण सापटी खोजेर उपचारका लागि धरान गएकी उनी धेरै खर्च लाग्ने भएपछि चिन्तामा परेकी छन् । उनलाई यतिवेला श्रीमान्को उपचारसँगै तीनजना नाबालक सन्तानको लालनपालनमा समस्या भएको छ । ‘उहाँ (श्रीमान्) थला परेपछि परिवारलाई दुई छाक टार्न धौधौ छ,’ उनले भनिन्, ‘थप उपचार गराउन कहाँ कसरी लानु ?’ सदा परिवार सडक किनारमा दुई धुर ऐलानी जग्गामा फुसको झुप्रोमा बस्दै आएको छ ।
वडाध्यक्ष शशी चौधरीले आर्थिक अवस्था कमजोर भएको सदा परिवारलाई सबैले मिलेर सहयोग गर्नुपर्ने बताए । ‘सम्पत्तिको नाममा एक धुर जग्गा पनि आफ्नो छैन । वडा कार्यालयबाट जे–जस्तो सहयोग गर्नुपर्ने हो गर्नेछु,’ उनले भने ।
(यो समाचार नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।)
Leave a Reply