‘तल्लो बाटो’बाट ६ महिनामै अमेरिका आइपुगे २,१७० नेपाली !

दलित अनलाईन १७ श्रावण २०८१, बिहीबार ०८:१३

काठमाडौँ  —  ‘तल्लो बाटो’बाट अमेरिका आउने नेपालीको संख्यामा यो आर्थिक वर्षको पहिलो ६ महिनामै २,१७० पुगेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका पछिल्लो प्रतिवेदनमा यो आर्थिक वर्षको पहिलो छ महिनामा कुन महिना कति नेपाली तल्लो बाटोबाट अमेरिका आइपुगेको तथ्यांक सार्वजनिक भएको छ ।

प्रतिवेदन अनुसार अक्टोबरमा ६१०, नोभेम्बरमा ५५० र डिस़ेम्बरमा ४२०, जनवरीमा २००, फेब्रुअरीमा २३० र मार्चमा १६० नेपाली तल्लो बाटो अमेरिका आइपुगेका हुन् । अमेरिकामा हरेक वर्षको अक्टोबरमा आर्थिक वर्ष सुरू हुन्छ र सेप्टेम्बरमा सकिन्छ ।

नेपालबाट विभिन्न देश भएर दक्षिण अमेरिकाका विभिन्न देश हुँदै मेक्सिकोबाट अमेरिका छिर्ने बाटोलाई तल्लो बाटो भनिन्छ । यो बाटो मानव तस्करहरूले अवैध किसिमले मानिसहरूलाई अमेरिका पठाउन प्रयोग गर्ने एक बदनाम बाटो हो । यो बाटो भएर कम्तिमा पनि ५० लाख देखि ८० लाखसम्म मानव तस्करहरूलाई तिरेर नेपालीहरू अमेरिका आइपुग्छन् । छिटो आइपुग्ने ‘भाग्यमानी’हरू तीन महिनामा आइपुग्छन्, कतिपय ‘अभागी’हरूलाई १८ महिनासम्म पनि लाग्छ ।

यो आर्थिक वर्षको पहिलो ६ महिनामा अमेरिका आइपुगेका २,१७० नेपालीहरू पनि यही नियतिको सामना गर्दै अमेरिका आइपुगेका हुन् । तर, यो संख्या अमेरिका प्रवेशका क्रममा सिमा सुरक्षा गस्तीसँग जम्काभेट हुनेहरुको मात्र हो । लगभग यतिकै संख्यामा नेपालीहरू सीमा सुरक्षा गस्तीसँग जम्काभेट नभई अमेरिका छिर्ने गरेको अनुमान गरिन्छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पछिल्लो प्रतिवेदनअनुसार सन् २०१४ यता १०,४९० नेपालीहरू  तल्लोबाटो भएर अमेरिका आइपुगिसकेका छन् । अहिलेसम्मको तथ्यांक हेर्दा आर्थिक वर्ष २०२२/२३ मा ३,१४० नेपालीहरु अमेरिका आइपुगे । यो संख्या एकै वर्ष तल्लो बाटोबाट अमेरिका आएको नेपालीको सबैभन्दा ठूलो संख्या हो । तर, आर्थिक वर्ष २०२३/२४ को पहिलो ६ महिनामै २,१७० नेपालीहरू अमेरिका आइसकेकाले यही अनुपातमा नेपालीहरू आउने हो भने यो आर्थिक वर्षमा कीर्तिमानी संख्यामा तल्लो बाटो भएर नेपालीहरू अमेरिका आइपुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank