काठमाडौँ — भ्रष्टाचार मुद्धामा निलम्बित भएका मुख्यसचिव वैकुण्ठ अर्याल ५० हजार धरौटीमा छुटेका छन्। आइतबार विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई ५० हजार धरौटी माग गर्दै रिहा गर्न भनेको हो।
उनी धरौटी बुझाएर रिहा भएका छन्। अर्यालमाथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा सुरक्षण मुद्रण केन्द्रबाट नीजि क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप थियो।
अन्तशुल्क स्टिकर छाप्न भ्रष्टाचार गरेको भन्दै असार ९ गते अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले उनीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले उनीसहित प्रतिवादीहरूलाई एकमुस्ट ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो दाबी गरेकाे थियाे।
अख्तियारले अदालतमा मुद्धा दायर गरेपछि उनी निलम्बित भएका थिए। उनलाई निलम्बन गरेर सरकारले राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरेकाे थियो।
उनको ठाउँमा अहिले मुख्यसचिवमा सरकारले लीलादेवी गड्तौलालाई नियुक्त गरिसकेको छ। गड्तौला महिला मुख्यसचिव हुनेमा पहिलो नेपाली महिला पनि हुन्।
Leave a Reply