संघर्ष, अनुशासन र अध्ययनका सागर डा. बाबासाहेब अम्बेडकर

लिलाराज खतिवडा २५ असार २०८१, सोमबार ११:३९

इतिहास–विधि–अर्थ–समाज–शास्त्रमा निष्णात, स्वतन्त्र भारतका संविधान निर्माता, बीसौं सताब्दीका मनु, जीवनभर दलित समुदायको कल्याणका खातिर लडेका योद्धा, प्रेम र श्रद्धासाथ बाबा साहेब नामले पनि याद गरिने भारतरत्न डा. भीमराव अम्बेडकर भारतका महान सपूतहरुमा एक मानिन्छन्।

जन्म र बाल्यकाल

महाराष्ट्रमा एक क्षेत्रको नाम छ, कोंकण। यहाँ एक गाउँ छ- अंबावडे। जहाँ महार जातिका मालोजी सकपाल बसोबास गर्दथे। उक्त स्थानका मालोजीहरु प्रायः बलिष्ठ, मेधावी र वीर हुने गर्दथे। मालोजी सकपाल फौजी जागिरबाट निबृत्त भएपछि विरक्त भएर साधु भए। उनका रामजी सकपाल नामक एक पुत्र थिए। रामजी फौजी विद्यालयमा चौध वर्षसम्म प्रधानाध्यापक थिए। तत्पश्चात उनी सुबेदार मेजर भए। रामजी सकपालका चौध सन्तान भए। उनका अन्तिम सन्तान नै भीमराव थिए।

डा. भीमराव (बाबा साहेब)को पारिवारिक परम्परा कवीरपन्थी थियो। उनका मावलीहरु पनि कवीरपन्थी नै थिए जहाँबाट उनकी आमा भीमाबाई आएकी थिइन्। यसप्रकार डा. अम्बेडकर जसको मातृ र पितृपक्ष दुवै कवीरपन्थी भएका कारण उनलाई सानैदेखि एक खास धार्मिक संस्कार प्राप्त थियो। यसको प्रभाव उनमा जीवनभर पर्‍याे।

उनको जन्म मध्यप्रदेशको महू नामक स्थानमा सन् १८९१, अप्रिल १४ मा भएको थियो। महाराष्ट्रका उनका पिता मध्यप्रदेशमा जागिरे भएका कारण उनी त्यहीँ जन्मिएका थिए। बाबा साहेबले छ वर्षको उमेरमा मातृवियोग खप्नु पर्‍याे। तर पनि उनकी फुपू मीरादेवीले उनलाई मातृस्नेह दिएर लालनपालन गरिन्।

पारिवारिक वातावरण कवीरपन्थी भएका कारण बाबा साहेब कट्टर शाकाहारी थिए। उनका घरमा माछा-मासु, अण्डा वा रक्सीको कुनै गुञ्जायस थिएन। यसको प्रभाव पनि उनमा जीवनभर पर्‍याे।

शिक्षा

बाबा साहेबको प्राथमिक शिक्षा दापोली र सतारा भन्ने स्थानमा भयो। उनले सत्र वर्षको उमेरमा बंबईको एलफिन्स्टोन स्कूलबाट सन् १९०७मा म्याट्रिक पास गरे। उनको सफलता देखेर एक अभिनन्दन समारोहमा उनका शिक्षक कृष्णाजी अर्जुन केलुस्करले आफैँले लेखेको पुस्तक बुद्ध चरित्र उनलाई उपहार दिएका थिए। उक्त पुस्तकले बाबा साहेबलाई अत्याधिक प्रभाव पारेको थियो।

यसैताका उनको विवाह नौ वर्षीय रमाबाईका साथ भयो। पछि गएर रमाबाईले बाबा साहेबको उन्नतिमा हरतरहले साथ दिइन्।

त्यसपछि पिताको महत्वाकांक्षा र सहयोगीहरुको प्रोत्साहनका कारण बाबा साहेबले बंबईको एक कलेजमा प्रवेश पाए। कलेजको पढाइमा उनलाई आर्थिक कठिनाइहरुको डटेर सामना गर्नु पर्‍याे। यसै क्रममा एक सज्जनले बाबा साहेबको भेट बडौदाका महाराजा सयाजीराव गायकवाडसँग गराइदिए। महाराजको घोषणा थियो, कुनै जेहन्दार दलित विद्यार्थीलाई उनी छात्रबृत्ति प्रदान गरेर भए पनि पढाउने छन्। त्यसैले बाबा साहेबलाई भेटेर कुरा गरेपछि उनले प्रतिमहिना पच्चिस रुपैयाँको छात्रबृत्ति उपलब्ध गराइदिए।

बाबा साहेबले सन् १९१२ मा स्नातक उत्तीर्ण गरे। यसको केही महिनापश्चात उनका पिता रामजी सकपालको देहावसान हुन पुग्यो। यस शोकमा २२ वर्षका बाबा साहेब डाँको छोडेर रोए।

त्यसो त हर्ष र शोकका घडीहरु स्थिर रहने गर्दैनन्। युवक बाबा साहेबले पुनः साहस जुटाएर बडौदा महाराज गायकवाडलाई भेटे र आफ्नो विद्या–पिपासा पोखे। गायकवाड आफ्नै खर्चमा केही जेहन्दार विद्यार्थीलाई उच्च शिक्षाका लागि अमेरिका पठाउनेवाला थिए। तर, उनको उक्त योजनामा अध्ययन सकेपछि विद्यार्थीले बिना कुनै विलम्ब भारत फर्किएर १० वर्षसम्म बडौदा रियासतको सेवा गर्नु पर्ने शर्त थियो। बाबा साहेब पनि चयनमा परे।

सन् १९१३को जुलाईमा उनी न्युयर्क पुगे र कोलम्बिया विश्वविद्यालयमा शिक्षा ग्रहण गर्न सुरु गरे। उनले दुई वर्षको कठोर परिश्रमपश्चात ‘एन्सियन्ट इंडियन कमर्श’नामक शोधपत्रका आधारमा एमएको उपाधि हासिल गरे।

उनको दोस्रो शोधपत्र थियो, ‘नेशनल डिविडेन्ट इन इन्डिया, ए हिस्टोरिक एण्ड एनालाइटिकल स्टडी’। यसै शोधपत्रका आधारमा सन् १९१६ मा उनले विद्यावरिधी पनि हासिल गरे।

यसपश्चात बाबा साहेब अमेरिकाबाट लन्डन गए। उनी त्यहाँ रहेर अझै अध्ययन गर्न चाहन्थे। तर बडौदा रियासतले उनलाई अनिवार्य भारत बोलायो।

उनले आफ्नो अमेरिका बसाइँका क्रममा दुई हजार बढी पुराना पुस्तक खरिद गरेका थिए। छ वटा ठूलाठूला बाक्सामा ठुँसेर ती पुस्तकहरु उनले भारत पठाए। तर पानीजहाज दुर्घटनामा ती सबै समुद्रलाई उपहार हुन पुगे। बाबा साहेबले यसबापत मनग्ये क्षतिपूर्ति पनि पाए।

उनी सन् १९१७ मा भारत फर्किए र शर्तानुसार बडौदा रियासतको सेवामा जुटे।

अर्कातिर उनको ज्ञानको भोक मरेको थिएन। तसर्थ अर्को एक अवसर पाउनासाथ उनी पुनः सन् १९२० मा लन्डन पुगे। त्यहाँ उनले ब्रिटिश म्यूजियम, इण्डिया अफिस लाइब्रेरी, लन्डन युनिभर्सिटी लाइब्रेरी तथा सिटी लाइब्रेरीहरुमा गहन अध्ययन गरे। उनले ‘प्रोवेन्सियल डिसेन्ट्रिलाइजेशन अफ इम्पेरियल फाइनान्स इन ब्रिटिश इण्डिया’ शीर्षकको आफ्नो शोधपत्रका आधारमा लंडन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्सबाट स्नातकोत्तरको उपाधि पनि हासिल गरे। साथै उनले ‘द प्रोब्लम अफ रुपी’ नामक शोधपत्र पनि लन्डन विश्वबिद्यालयमा पेश गरे। जसका आधारमा उनले बेरिस्ट्री पनि उत्तीर्ण गरे।

यस प्रकार उनी विश्वका युवाहरुका लागि प्रेरणा बने। उनका नामका साथ बीए, एमए, एमएस्सी, पीएचडी, ब्यारिस्टर, डिएससी, डि लिटलगायत कूल २६ वटा उपाधिहरु थिए।

मानवताको विडम्बना

बालक बाबा साहेब आफ्ना दाजुका साथ विद्यालयमा पढ्न जान्थे। त्यहाँ उनलाई पानी पिउन पनि समस्या हुने गर्दथ्यो। दलितहरुले सार्वजनिक धारो छुन पनि पाउँदैन थिए। दलितका बच्चाहरु अन्य बच्चाहरुसँग टाटमा बस्नसमेत पाउँदैन थिए। अतः उनीहरुले विद्यार्जनका लागि घरबाट बोरा लिएर जानु पर्दथ्यो र अलग्गै बस्नु पर्दथ्यो। दलित विद्यार्थीहरुलाई लोटाले अलिक माथिबाट खन्याएर अँजुलीमा पानी पिउन दिइन्थ्यो। त्यस कुराले बाबा साहेबलाई त्यतिबेला उक्त असमानता एकदिन हमेशाका लागि खारेज गरिदिने प्रेरणा मिल्थ्यो।

एकपटक बालक बाबा साहेब आफ्ना दाजु र भतिजकासाथमा गोरेगाँव गइरहेका थिए। उनीहरु मसूर रेल्वे स्टेशनमा ओर्लिए। उनीहरुले एउटा बयलगाढा भाडामा लिए। बाटामा जब गाडीवानले उनीहरु महार जातिका हुन् भन्ने कुरा थाहा पायो, ऊ निकै क्रोधित हुन पुग्यो। उसले बच्चाहरुले लगाएका सफा कपडा र गोरो वर्णका अनुहार देखेर उनीहरु उच्च जातिका हुन् भन्ने ठानेको थियो। तर उनीहरुको वास्तविकता थाहा पाएपछि उसले सबैलाई बयलगाढाबाट ओह्रालिदियो र आफ्नो बाटो तताउन खोज्यो।

बाबा साहेबले दुगुना भाडा दिने कुरा गरेपछि कसोकसो ऊ राजी भयो। तर उसले बयलगाडा उनीहरुले नै हाँक्नु पर्ने शर्त राख्यो। बच्चाहरुले बयलगाढा हाँके। ऊ भने बयलगाडाबाट ओर्लिएर सँगसँगै पैदल हिँडिरहेको थियो। गाडीवानले महार जातिका बच्चाहरुलाई राखेर बयलगाडा हाँक्दा आफ्नो जात जाने ठानेको थियो।

एकपटक अत्याधिक तिर्खा लागेका कारण बालक भीमरावले आफैं एउटा सार्वजनिक धाराबाट पानी पिए। मान्छेहरुले यो कुरा थाहा पाइहाले। अनि उनीहरुले उनलाई भक्कु कुटे।

हजाम पनि उनको कपाल काट्न मान्दैन थियो। उनको मात्रै नभएर हजाम कुनै पनि दलित बच्चाको कपाल काट्न अस्विकार गर्ने गर्दथ्यो। बाबा साहेबकी दिदीले उनको कपाल काटिदिने गर्दथिन्।

कतिपय अवस्थामा स्वाभिमानमा ठेस लाग्ने भएका कारण उनी दिनभर स्कुलबाट पानी नै नपिइकन घर फर्किने गर्दथे। घर पुगेपछि घट्घटी पानी पिएर उनी दिनभरिको तिर्खा मेटाउने गर्दथे।

एकपटक शिक्षकले कालोपाटीमा उनलाई एउटा सवाल हल गर्न लगाए। कालोपाटीछेउ सबै बच्चाहरुका टिफिनका डब्बाहरु राखिएका थिए। जब उनी सवाल हल गर्न कालोपाटीछेउ पुगे, अरु सबै बच्चाहरुले आ-आफ्ना डब्बाहरु उठाएर आफूसँगै राख्न थाले। बाबा साहेबले छोएर उनीहरुका खाजा अशुद्ध हुने भयले उनीहरुलाई सताएको थियो।

बाबा साहेब तथा उनका दाजु बलरामले हाइस्कुलमा संस्कृत पढ्ने इच्छा ब्यक्त गरे। तर उनीहरुलाई संस्कृत पढ्न दिइएन। कारण, त्यो बेला शुद्रहरुले वेद पढ्न त के छुन पनि हुँदैन भन्ने तुच्छ मान्यता ब्याप्त थियो। साथै देवभाषा भएकाले शुद्रहरुलाई संस्कृत पढ्नबाट बञ्चित गरिएको थियो। त्यसो त जड्शास्त्रका अनुसार शुद्रहरुलाई केही पनि पढ्ने अधिकार थिएन। अन्ततः विवश भएर दुई दाजु-भाइले संस्कृत पढ्ने आफ्नो इच्छालाई तिलान्जली दिँदै फारसी भाषा पढेका थिए।

उता जब बाबा साहेब कलेज पढिरहेका थिए, त्यो बेला क्यान्टिनवाला उनलाई चिया त के पानी पिउनसमेत दिँदैन थियो। प्राध्यापक मूले भने उनीमाथि सहृदयता राख्ने गर्दथे। फलस्वरुप, उनी बाबा साहेबलाई पुस्तक तथा लत्ताकपडा दिएर सहयोग गर्ने गर्दथे। परन्तु अन्य प्राध्यापकहरु भने उनलाई अछूत मान्थे र परपर नै हुन खोज्थे।

पहिलोपटक अमेरिकामा पढेर फर्किएपछि शर्तानुसार उनले १० वर्ष बडौदा रियासतको सेवामा जुट्नुपर्ने हुन्थ्यो। यसै शिलशिलामा उनी बडौदा पुगे। तर त्यहाँ कोही पनि उनलाई होटल वा होस्टेलमा राख्न राजी भएनन्। कार्यालयमा कोही उनलाई पानीसम्म पिलाउन पनि तयार थिएनन्। चपरासीसमेत उनको टेबुलमा टाढैबाट फाइल आदि मिल्काउने गर्दथ्यो।

बाध्य भएर उनीछद्म भेषमा एक फारसीका होटलमा बसेका थिए। तर, एकदिन त्यस फारसीले उनको वास्तविकता थाहा पायो। अनि उनलाई धक्का मारेर होटलबाट गलहत्यायो। उसले उनका सारा सामानहरु पनि आँगनमा मिल्काइदियो। बडौदा जस्तो ठूलो शहरमा समेत उनलाई बस्ने ठाउँ प्राप्त भएन। उनले बस्ने स्थानको जोहो गरिपाउँ भनेर बडौदा महाराजसमक्ष एक बिन्तिपत्र चढाए। महाराजले आफ्ना सचिवसमक्ष यो समस्याको समाधानहेतु प्रस्ताव राखे। तर, महाराजका सचिवले समेत उनलाई डेराको व्यवस्था मिलाउन आफ्नो लाचारी ब्यक्त गरे। किनभने, त्यो बेलाको समय नै दलितलाई भेदभाव गर्ने दुर्गन्धले ब्याप्त थियो। चाहँदाचाँहदै पनि महाराजले उनलाई सहयोग गर्न सकेनन्। दलितलाई साथ सहयोग गर्नेहरु पनि त्यो बेला कोपभाजनको शिकार हुने गर्दथे।

फारसी होटलवालाले गलहत्याएको रात बाबा साहेबले खुला आकाशमुनि एउटा बृक्षको सहारा लिएर रात कटाएका थिए।

केहीशिप नलाग्ने देखेर उनी आफ्ना सामान बोकेर चुपचाप बंबई फर्किएका थिए। त्यस् बेला उनका आँखामा आँशु थामिएका थिएनन्। जीवनमा सबैभन्दा बढी चित्त दुखेको क्षण थियो त्यो उनको।

बंबई फर्किएपछि आजिविकाको प्रश्न आयो। एक सज्जनका मद्दतले उनले दुईजना फारसी बच्चाहरुलाई ट्यूशन पढाउने काम पाए। साथसाथै उनले शेयर बजारमा परामर्श दिने हेतुले एउटा ब्यावसायिक फर्म पनि खोले। यो काम पहिले खुब चल्यो। तर, परामर्श दिने ब्यक्ति एक दलित हो भन्ने कुरा जब मान्छेहरुले थाहा पाए तब उनको फर्ममा क्रमशः भीड पातलिन थाल्यो। अन्त्यमा त स्थिति यस्तो आइलाग्यो कि बाबा साहेबलाई आफ्नो फर्ममा हमेशाका लागि ताल्चा ठोक्नु पर्‍याे।

एकपटक उनी एउटा सभामा जाँदै थिए। कुनै पनि टाँगावाला उनलाई लैजान तयार थिएन। तर एउटाले शर्त राखेर उनलाई लैजाने भयो। शर्त यो थियो कि टाँगावालास्वयम्ले चाहिँ टाँगा चलाउने छैन। एक अर्को उत्साही युवक टाँगा चलाउन ताम्सियो। त्यो युवकसँग टाँगा हाँक्ने अभ्यास नभएको हुँदा केही पर पुगेर टाँगा पल्टिन पुग्यो।

बाबा साहेबलाई धेरै चोट आयो। उनको दाहिने खुट्टा नै भाँच्चिन पुगेको थियो। दुई महिनासम्म उनी ओच्छ्यान परे।

यो त्यस समयको हिन्दु समाजको कलुषित छुवाछुतको ज्वलन्त नमूना थियो। पाठकहरु आफैँले अड्कल गर्न सक्नुहुन्छ कि यो सब जुन विद्वान महापुरुषमाथि घटेको थियो, त्यतिबेला उसको हृदयमा कस्तो प्रतिक्रिया हुन्थ्यो होला।

यहाँ यो पनि मननीय छ, बडौदाका राजाले बाबा साहेबलाई माथि उठाउनका लागि सक्दो प्रयास गरेका थिए। यसै कारण उनी घनघोर अन्धकारमा पनि टाढा कतै क्षितिजमा चम्किलो प्रकाश चियाउन सक्षम हुन्थे।

जब उनी हाइस्कूलमा पढ्थे, एक अध्यापक उनलाई भोजन वा कपडा दिने गर्थे। उनलाई यदाकदा गोजी-खर्च पनि दिने गर्दथे। ती अध्यापकको नाममा अम्बेडकर उपाधि लगाइएको थियो। बाबा साहेब भने त्यो बेला आफ्नो पैतृक थलो अम्बावडेका आधारमा आफ्नो नाममा अम्बावडेकर उपाधि राख्ने गर्दथे। परन्तु, ती दयालु तथा समतावादी अध्यापकबाट प्रभावित भएर बाबा साहेबले उनको उपाधिलाई आफ्नो नामकासाथ जोडे। अनि उनी कहलिए डा. भीमराव अम्बेडकरका नामले। पैतृक उपाधि छाडेर आफ्नो नाममा गुरुको उपाधि राख्ने यो दुनियाँमा अरु को होला? खोजीको विषय हो।

प्रसिद्ध स्वतन्त्रता सेनानी एवम् काँग्रेसका महान भारतीय नेता तथा वेदज्ञ पण्डित लोकमान्य तिलकका छोरा पण्डित श्रीधर पंत एकै भेटमा बाबा साहेबसँग प्रभावित हुन पुगेका थिए। पण्डित पंत क्रमशः बाबा साहेबका उत्कृष्ट विचारहरु सुनेर उनका प्रशंसक भएर निस्किएका थिए। पण्डित पंतले समाज सुधारका अनेक महत्वपूर्ण कामहरु गरे। खासगरी उनी दलित भनिने युवकहरुलाई अनेक तरहले मद्दत गर्दथे। उनी बाबा साहेबलाई चियागफका लागि निमन्त्रण गर्न पाउँदा मक्ख पर्थे। अनि, उनीहरु भेला भएर विविध विषयमा घण्टौं चर्चा-परिचर्चा गर्ने गर्दथे।

कोल्हापुरका नरेश शाहू छत्रपतिले बाबा साहेबको छाति खोलेर प्रशंसा गर्दथे। नरेशले उनलाई अनेक सहयोग र साथ दिए।

विशेषता एवम् योग्यता

उनी अंग्रेजीमा तेज थिए। हिन्दी तथा फारसी भाषामा पनि उनी पोख्त थिए। उनी समाजशास्त्र, मानवशास्त्र, विधिशास्त्र, अर्थशास्त्र, इतिहास आदि विषयमा पारंगत थिए। जतिबेला उनी बंबईको सिंडेन्हम कलेजमा प्राचार्य थिए, त्यतिबेला अन्य कलेजका विद्यार्थीहरु पनि उनलाई सुन्न आउने गर्दथे।

भाषामा उनको जबर्दस्त पकड थियो। उनका भाषण ओजस्वी र सम्मोहक हुने गर्दथे। उनले लंडनको प्रथम गोलमेच सम्मेलनमा दिएको भाषण सुनेर इंग्ल्याण्ड र भारतका उपस्थित विद्वान तथा विभिन्न नेताहरु चकित परेका थिए। त्यस बखत त्यहाँ उपस्थित बडौदा नरेशले त गदगद भएर भनेका पनि थिए, भीमरावलाई प्रदान गरिएको सहयोग सफल हुन पुगेकोमा म प्रफूल्ल छु।

त्यसो त बाबा साहेब एक कुशल ब्यारिस्टर पनि थिए।

बाबा साहेबको क्रान्ति

उनले सन् १९२० जनवरी १३ देखि मूक नायक नामक पत्रिका निकाल्न सुरु गरे। यद्यपि, उनी उक्त पत्रिकाका सम्पादक थिएनन्। तथापि, उनी उक्त पत्रिकाका सर्वस्व थिए। उक्त पत्रिकाको उद्देश्य, समाजको केवल एक वर्गमा मात्रै ज्ञान तथा अधिकारलाई सीमित नराखेर सबै समक्ष सर्वसुलभ तरिकाले फैल्याउने थियो। धर्तीमा जन्मिएका सबै मानवहरुलाई चौतर्फी दिशामा बढ्ने तथा फल्ने-फुल्ने अधिकार छ। सबैले यो अधिकार पाउनु पर्छ। पाएकाले प्रयोग गर्नुपर्छ। कसैले पनि जन्म र जातिका कारण उपेक्षित रहनु नपरोस्। र, कसैले यसको अनुचित फाइदा पनि लिन नसकोस् भन्ने जस्ता कुराहरु पत्रिकाका अन्य उद्देश्य थिए।

दुई महान समाज सुधारकहरुबाट बाबा साहेबलाई निकैबल मिलेको थियो। उनीहरु थिए, ज्यातिराव गोविंदराय फुले तथा कोल्हापुरका नरेश छत्रपति साहू। फुलेले सन् १८३७ मा सत्यशोधक समाज भन्ने संस्थाको स्थापना गरेका थिए।

बाबा साहेबले सन् १९२४ मा बहिस्कृत हितकारिणी सभाको स्थापना गरे। यसको उद्देश्य, अछूत भनिएका दलित वर्गको सर्वोपरी विकास गर्नु थियो। उच्च वर्गको पनि सहानुभूति तथा सहयोग प्राप्त गर्ने प्रयास गरिने कुरा उक्त सभाको अर्को उद्देश्य थियो।

बाबा साहेब भन्ने गर्दथे कि ‘सेल्फ हेल्प इज बेस्ट हेल्प’ अर्थात् आफ्नो सहायता नै सर्वोत्तम सहायता हो। जबसम्म हामी स्वयम् आफ्नो खुट्टामा उभिने प्रयत्न गर्दैनौं, तबसम्म अरुको सहयोग अधिक लाभप्रद हुन सक्दैन। उत्तम शिक्षा तथा संस्कार, सद्गुण अनि आर्थिक सुधारले मात्रै जो कोही अगाडि बढ्न सक्छ। आदर्श शिक्षा र उत्तम संस्कार ग्रहण गर्ने हो भने आर्थिक सुधार आफ से आफ हुने गर्दछ।

उनले दलितहरुलाई आफ्नो कर्तव्य तथा अधिकारबोध गराए। अनि उनीहरु आफ्नो हक माग्न सक्षम पनि भए। जसका लागि उनीहरुले प्राणपत्रैदेखि सत्याग्रह गरे।

महाराष्ट्रको महाड नामक स्थानको एउटा तलाऊमा दलितहरुलाई पानी पिउन बन्देज गरिएको थियो। त्यहाँ मुसलमान तथा क्रिश्चियनहरु भने पानी पिउन सक्थे। तर, हिन्दुकै एक जाति जसलाई उनीहरु दलित भन्थे, उनीहरुले त्यहाँ पानी पिएको खण्डमा दण्डित हुनु पर्दथ्यो। त्यो बेला छुवाछुत प्रथा बिफरको महामारी भन्दा घातक थियो। जहाँ कुकुर वा अन्य जनावरहरु निर्वाध त्यस् तलाऊको पानी पिउन सक्थे भने, कथित दलित भनिने मान्छेहरु चाहिँ त्यस् तलाऊको पानी पिउन असमर्थ थिए।

बाबा साहेबले यसको डटेर विरोध गरे। हजारौंलाई लिएर जुलुस निकाले। आमसभा गरे। यस क्रममा उनीहरुले न्यायपालिका र समाज दुवैलाई अत्याधिक दबाब दिएका थिए।

उनले सन् १९२७ मा बहिष्कृत भारत भन्ने एउटा पाक्षिक पत्रिका पनि निकाले। जसमा दलित समुदायलाई हरतरहले जगाउने प्रयास गरिएको थियो। आफ्नो उक्त अभियानमा उनले बालगंगाधर तिलकजस्ता नेतालाई पनि छाडेनन्। उनले आफ्नो पत्रिकामा लेखे, यदि तिलक कुनै अछूतका घरमा जन्मिएका हुन्थे भने, स्वराज मेरो जन्मसिद्ध अधिकार हो जस्तो नारा दिनुको सट्टा यस्तो नारा दिन्थे- छुवाछुत मेटाउनु मेरो जन्मसिद्ध अधिकार हो!

केवल दलित वर्गको उत्थानको प्रयास

बाबा साहेबले भारतको स्वतन्त्रता आन्दोलनबाट बिरत रहेर केवल दलितहरुको उत्थान र मुक्तिका लागि काम गर्न रुचाए। उनका लागि यो काम आफैँमा एक भयानक चुनौति पनि थियो। उनी सत्ता परिवर्तनमा अधिक विश्वास नराखेर आम, गरिब, दलित र पिछडिएका मानिसहरुको एवम् उनीहरुको सत्ताको विकासमा अधिक विश्वास राख्दथे। यसै कारणले गर्दा विचार र लेखनमा प्रखर राष्ट्रवादी हुँदाहुँदै पनि उनले मुलुकको राजनीतिक स्वतन्त्रता आन्दोलनमा खासै भाग लिएनन्।

सर जोन साइमनलाई ब्रिटिश सरकारले एक आयोग गठन गरेर भारत पठाएको थियो। उसको काम भारतभर अध्ययन भ्रमण गरेर त्यहाँको संविधानमा गर्नुपर्ने फेरबदलको अनुसन्धानात्मक रिपोर्ट तयार पार्नु थियो। उक्त आयोगको नाम ‘साइमन कमिशन’ थियो। राष्ट्रवादी भारतीय कांग्रेस पार्टीले यसको विरोध गर्‍याे। राष्ट्रवादी नेताहरुको आपत्ति थियो, उक्त कमिशन भारतीयहरुलाई भुलभुलैयामा राख्ने एक षडयन्त्र हो। र, ब्रिटिश सरकार उनीहरुमा स्वतन्त्रता आन्दोलनप्रति उदासिनता छाएको हेर्न रुचाउँछ। यसैले पुरै कांग्रेस पार्टी यसको विरोधमा उत्रिएको थियो।

ब्रिटिश सरकारले बंबईमा साइमन कमिशनलाई पूर्णता दिन सहयोगीहरु समेटेर एक समिति बनायो। यसमा बाबा साहेब सदस्यको रुपमा मनोनित भए। अब उनीसँग कांग्रेस नेताहरु चिढिए। त्यसो त बाबा साहेबले देशको अभक्तिका लागि कुनै कदम चालेका थिएनन्। उनलाई लाग्थ्यो, यदि ब्रिटिश सरकारको सहयोग गरियो भने, निश्चय नै उनीहरुले भारतका दलित वर्गको उत्थानमा साथ दिनेछन्।

पछि उनले आफ्नो रिपोर्टमा लेखेका थिए कि भाषाको आधारमा प्रान्त तथा समुदायको आधारमा पृथक मताधिकारको माग गर्नु अनुचित हो।

तर, उनले बिस्तारै थाहा पाए कि दलित वर्गको उत्थान ब्रिटिश सरकारबाट पनि असम्भव छ। त्यसपछि उनले निर्णय लिए कि राष्ट्रिय स्वतन्त्रताको पक्षधर हुनु अपरिहार्य छ। तत्पश्चात उनले भारतीय राजनीतिक स्वतन्त्रताको समर्थन गर्नाले दलित वर्गलाई एक नयाँ दिशा प्राप्त भयो। त्यस बेलासम्मका दलितका आन्दोलनहरुमा यो विशेषता थिएन कि उनीहरु आफ्ना मानवीय एवम् सामाजिक अधिकारहरुका लागि गरिने संघर्षका साथ-साथ मुलुकको आजादी आन्दोलनको पनि ब्यापक समर्थन गरुन्। त्यस बेलासम्म दलितवर्गहरु ब्रिटिश सरकारलाई आफ्नो हितअनुरुप नै मान्दै आइरहेका थिए।

गोलमेच सम्मेलन

महात्मा गान्धीको नेतृत्वमा कांग्रेसले भारतका जनतालाई स्वतन्त्रता आन्दोलनमा समेटेको थियो। भारतमा ब्रिटिश सरकारप्रति सर्वत्र असंतोष फैलिएको थियो। ब्रिटिश सरकार अनेक तरहले भारत र उसका जनताहरुलाई चुसिरहेको थियो। यहाँसम्म कि महामारीले अनिकाल परेर अनाजका अभावमा लाखौं भारतीय नागरिकहरु दर्दनाक तवरले मरिरहँदा पनि ब्रिटिश सरकार मूकदर्शक भएर बसिदिन्थ्यो।

भारतबाट सस्तो दाममा कपास इंग्ल्याण्ड जान्थ्यो र उताबाट वश्त्र बनेर अपेक्षाकृत रुपमा महंगो भएर भारत भित्रिन्थ्यो।

भारतको असंतोष दूर गर्नका लागि ब्रिटिश सरकारले गोलमेच सम्मेलनको आयोजना गर्‍याे। जसमा इंग्ल्याण्डका तीन राजनीतिक दलका सोह्र सदस्यीय प्रतिनिधीहरु समावेश थिए। त्यहाँ त्रिपन्न जना भारतीय सदस्यहरु पनि सम्मिलित थिए, जसमा बीस जना देशीरियासतका तथा तेत्तिस जना राजनीतिक दल एवम् विभिन्न संप्रदायका प्रतिनिधिहरु थिए। उक्त सम्मेलनको उद्देश्य ब्रिटिश सरकारसँग मिलेर भारतका लागि एउटा समावेशी संविधान बनाउन सकियोस् भन्ने थियो।

कांग्रेस नेताहरुलाई लाग्थ्यो कि त्यो ब्रिटिश सरकारको भारतीयहरुलाई गुमराहमा राख्ने एउटा कुत्सित चाल मात्रै हो। साथै ब्रिटिशहरुले भारतलाई कुनै न कुनै तरहले भुलभुलैयामा राख्न चाहेको आरोप पनि लगाइयो। अतः कांग्रेसले यस सम्मेलनलाई बहिस्कार गर्‍याे। परिस्थिति विषम हुँदाहुँदै पनि केही राजा महाराजा, हिन्दु तथा मुस्लिम नेता जिन्ना र बाबा साहेब यस गोलमेज सम्मेलनमा भाग लिन लन्डन पुगे।

बाबा साहेबले उक्त सम्मेलनमा बडा प्रभावकारी भाषण दिएका थिए। बडौदा नरेश गायकवाड त्यस सभामा उपस्थित थिए। उनी बाबा साहेबको भाषण सुनेर गद्गद् भए।

उक्त सम्मेलनमा बाबा साहेबले भारतमा अछूत कहलाइएका सम्पूर्ण दलित वर्गको स्थितिका बारेमा भावविव्हल भाषण गरेका थिए। यसै भाषणले भारतीय कांग्रेस कमिटिका राष्ट्रिय नेताहरुलाई बाबा साहेब र उनको उद्देश्य बुझ्न सहज पनि गरिदियो। यो प्रथम गोलमेच सम्मेलन सन् १९३०को नोबेम्बर महिनामा लन्डनमा आयोजना गरिएको थियो।

बाबा साहेब– महात्मा गान्धी भेट

सन् १९३१ अगस्त ६ मा महात्मा गान्धीले बाबा साहेबलाई पत्र लेखेर भेट्न डाके। गान्धीले पत्रमा लेखे कि यदि तपाईं म भए ठाउँमा आउन असमर्थ भए मलाई तपाईं भए ठाउँमा आउन पाउँदा प्रसन्नता हुनेछ।

बाबा साहेबले गान्धीलाई भेटे।

महात्मा गान्धी छुवाछूत तथा उचनीच सुरुदेखि नै मान्दैन थिए। उनको आश्रममा चाहे दक्षिण अफ्रिकी होस् या भारतीय, सबै जाति, वर्ण, वर्ग तथा अनेक देशका नागरिकहरु एकसाथ समभावमा रहन्थे।

बाबा साहेब र गान्धीमा एउटा खास अन्तर के थियो भने महात्माजीले हिन्दु समाजबाट कुनै जातिगत भावनाले तिरस्कार या उपेक्षा पाएका थिएनन्। भनिन्छ, त्यसैले उनको दलित उद्धार नीति ठन्डा दिलबाट थियो। साथ साथै उनी भारतलाई आजाद गराउने अभियानमा मुख्यरुपमा खटिएका थिए जहाँ अछूतको उद्धार विषयक एउटा सानो दफा मात्रै उल्लेख थियो।

अर्कातर्फ बाबा साहेबले सवर्ण हिन्दु समाजबाट आफूले प्रसस्तै छुवाछूतको व्यवहार भोगेका थिए। यस मामिलामा उनी स्वयम् भुक्तभोगी थिए। साथै, उनी दलितवर्गसँग सिधैं जोडिएका थिए। र, उनको एक मात्र अभियान थियो, दलित उद्धार। भारतको स्वतन्त्रताउपर पनि सुरुमा उनको दृष्टि मलिन थियो। उनको नजरमा घरभित्रको भेदभाव पहिले हटाउने विषय टड्कारो बनेको थियो।

फलस्वरूप दुवैको दृष्टिकोणमा प्रष्ट अन्तर र टकराव थियो।

बाबा साहेब चाहन्थे कि अछूत भनिने वर्गलाई आफ्नो पृथक निर्वाचनको अधिकार प्राप्त होस्। महात्मा गान्धी यसका विरुद्ध थिए। उनको मान्यता थियो, त्यसो गर्दा अछूतहरुको अछूतपना स्थायी गरिदिए जस्तो हुन पुग्छ। त्यो भनेको हिन्दु समाजको आत्महत्या हो जसले हिन्दु समाजमा विखण्डन ल्याउँछ। बाबा साहेब र गान्धीजी दुवै आपसी बातचितले सन्तुष्ट हुन सकेनन्।

सन् १९३१मा लन्डनमा दोस्रो गोलमेच सम्मेलनको आयोजना गरियो। यसमा महात्मा गान्धी र बाबा साहेब दुवैको उपस्थिति थियो। यस सम्मेलनमा अन्य कुराहरुका साथ दुवै नेताहरुले आ-आफ्ना कुराहरु स्पष्टरुपमा राख्ने अवसर पाए।

स्वतन्त्र निर्वाचनको समस्या

जतिबेला गान्धी दक्षिण अफ्रिकामा थिए, र उनलाई त्यतिबेला कांग्रेससँग मतलव थिएन; त्यतिबेला अर्थात सन् १९९०मा ब्रिटिश सरकारले भारतीय मुसलमानका लागि स्वतन्त्र निर्वाचन अधिकारको वातावरण बनाइदिएको थियो। साथै कांग्रेस लीग एक्टमा सन् १९१७मा नै उनीहरुलाई त्यसको अधिकार प्राप्त भइसकेको थियो। यस बखत कांग्रेसमा लोकमान्य तिलकको वर्चस्व रहने गर्दथ्यो। गान्धीले त त्यसबेला कांग्रेसमा भर्खरै प्रवेशमात्रै गरेका थिए।

ब्रिटिश सरकार भारतलाई टुक्राटुक्रा तुल्याएर राज गर्न या बिदा हुन चाहन्थ्यो। उसले सन् १९३२ माभारतका विविध सम्प्रदायहरुलाई स्वतन्त्र निर्वाचन अधिकार दिइने घोषणा गर्‍याे। यसलाई लिएर राष्ट्रिय नेताहरु विचलित हुन पुगे। साथै, अछूतहरुको अलग निर्वाचन अधिकार हुने कुराको गान्धीजीले खुलेर विरोध गरे।

उनले सम्प्रदायको आधारमा अलग निर्वाचन अधिकारलाई सरासर गलत भएको आरोप पनि लगाए। गान्धीजीले भने, अछूत भनिने दाजु-भाइलाई हिन्दुसँग अलग्याएर पृथक निर्वाचन अधिकार प्रदान गरिनु हामीलाई सह्य छैन। यहाँसम्म कि उनले त यस मुद्दामा आमरण अनशनकै घोषणा गरिदिए। त्यस बखत उनी पूनाको यरोडा जेलमा बन्द थिए।

गान्धीजी अनशनले निकै कमजोर हुन पुगेका थिए। बाबा साहेबले उनलाई जेलमा भेट गरे र शान्तभावमा बिस्तारै भने, महात्माजी, हजुरले हामीलाई एकदम अन्याय गर्नुभयो।

गान्धीजीले बताए, हाम्रो पक्षले त सदा अन्याय गरेकै दखिन्छ।

बाबा साहेबले आफ्नो पक्षका सारा कुराहरु उनलाई बताए। ती कुराहरुको गान्धीजीमा बडा प्रभाव पर्‍याे। उनले बाबा साहेबलाई भने, तपाईंप्रति मेरो पूर्ण सहानूभूति छ। तपाईंले जुन कुराहरु गर्नुभयो, त्यसका अधिकांश बुँदाहरुमा म तपाईंको साथ छु। तर, यो बताउनुहोस् कि तपाईं मेरो जीवन बचाउन चाहनुहुन्छ कि चाहनुहुन्न?

बाबा साहेबले जवाफ दिए, हुन्छ महात्माजी। तर, आशा छ, हजुरले हामीहरुको हितका लागि आफ्नो जीवन समर्पित गर्नुहुनेछ र हाम्रो नायक पनि बन्नुहुनेछ।

गान्धीजीले भने, डाक्टर, तपाईं जन्मदेखि नै अछूत हुनुहुन्छ र म दत्तकरुपले अछूत हुँ। हामीले एकपटक फेरि अविभाजित रहनु श्रेयस्कर हुनेछ। म आफ्नो जीवन हिन्दु समाजका विषमताहरुलाई निर्मूल पार्ने कार्यमा लगाउन चाहन्छु।

यसपश्चात, बाबा साहेब र महात्मा गान्धीबीच सहमति हुन पुग्यो र अछूत भनिने वर्गका लागि पृथक निर्वाचन अधिकारको कुरा पनि समाप्त भयो। सम्झौतापश्चात दुवै नेताहरुबीच हस्ताक्षर भयो र यसको वोधार्थ ब्रिटिश सरकारलाई पनि दिइयो।

त्यस बेलासम्म गान्धीजीद्वारा अछूतोद्धारको काम मन्द गतिले हुने गर्दथ्यो। तर, अब भने त्यसले गति लिइसकेको थियो।

त्यस ऐतिहासिक भेटपछि गान्धीजी र बाबा साहेबको अभियानले अछूत भनिने र दलित वर्गको जुन उत्थान कार्य सम्पन्न भयो, त्यो अभूतपूर्व रह्यो।

पार्टीको गठन, कानून मन्त्री

बाबा साहेबले सन् १९३६मा इंडिपेन्डेन्ट लेबर पार्टीको गठन गरे। १५ अगस्त १९४७मा भारत स्वतन्त्र हुँदा तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुले बाबा साहेबलाई कांग्रेसका कट्टर आलोचक एवम् विरोधी पार्टीका हुँदाहुँदै पनि कानून मन्त्री बनाए। उनी स्वतन्त्र भारतका प्रथम कानून मन्त्री थिए।

भारतीय संविधान निर्माता

पण्डित जवाहरलाल नेहरुले स्वतन्त्र भारतको संविधान बनाउनका लागि एक समिति गठन गरे जसको अध्यक्ष बनाइए, बाबा साहेब। आजको भारतीय संविधानको रचनाश्रेय बाबा साहेबलाई नै जान्छ। यसैकारण उनलाई बीसौं सताब्दीका मनु पनि भनिन्छ। उनले दुई वर्ष, एघार महिना र अठार दिनमा भारतको संविधान लेखिसकेका थिए। भारतको संविधानलाई दुनियाँकै सबैभन्दा लामो र विवादास्पद संविधान मानिन्छ।

उनले हिन्दु कोड बिल बनाउन पनि भयंकर श्रम गरेका थिए। तर, त्यो यथावत नभएर काँटछाँटपश्चात मात्रै अनुमोदन हुन पुग्यो। फलस्वरुप, बाबा साहेब खिन्न भए र कानून मन्त्रीको पदबाट राजीनामा दिएर विपक्षीको आसनमा विराजमान हुन पुगे। यस्तो लाग्थ्यो, उनी व्यक्तिगत फाइदा भन्दा दलितवर्गको सर्वोपरि कल्याणका लागि नै हमेशा समर्पित थिए।

उनले सन् १९५२ तथा १९५४को चुनाव हारे। किनभने, त्यस बखत देशव्यापी रुपमा बलवान पार्टी कांग्रेस नै थियो। उसको अगाडि अन्यको दाल गल्दैन थियो। तथापि बाबा साहेबजस्ता योग्यतम् ब्यक्तिका लागि चुनावको हारजितले महत्व राख्दैन थियो। उनी यो तुच्छ हारजितको खेलबाट निकै माथि उठिसकेका थिए।

पुनर्विवाह

लामो समय विमारीले थलिएर उनकी पत्नी रमाबाईको सन् १९३५मा निधन भयो। सन् १९४०मा भारतको संविधानको ड्राफ्ट तयार गर्दासम्म उनलाई अनिद्राले सताउन थासिकेको थियो। उनलाई मधुमेहले पनि समातेको थियो। इन्सुलिन लिइरहनु पर्दथ्यो। उनलाई चिकित्सकले राय दिए, कुनै युवतीसँग बिहे गर्दा हेरचाहमा फाइदा हुनेछ। वस्तुतः कहिलेकाहीँ चिकित्सक नै रोग बनिदिन्छ। यद्यपि, आफ्ना पिताले दोस्रो विवाह गरेको उनलाई मन परेको थिएन। उक्त घटनाले उनलाई आफ्नो स्वाभिमानमा ठेस पुगेको महसुस भएको थियो। तथापि, सोही प्रकृतिको भूल उनले पनि गर्न भ्याए। आफ्नो ५६औं जन्मदिनको भोलिपल्ट(सन् १९४८ अप्रिल १५)डा. शारदा कवीरसँग उनले विवाह रचे। डा. शारदाले विवाहपश्चात आफ्नो नाम बदलेर डा. सविता अम्बेडकर लेख्न थालिन्।

तर, बुढेसकालमा कम उमेरकी युवतीसँग गरेको विवाह एक अर्को विडम्बना हुन पुग्यो। फल यो हुन पुग्यो कि नवपत्नीसँग सम्बन्ध सुमधुर हुन सकेन। सन् १९५६, डिसेम्बर ६मा भएको बाबा साहेबको आकस्मिक निधनले सन्देहको जुन परिधि खिच्यो त्यसको घेरामा डा. सविताको नाम पनि घिसारिन पुग्यो।

बौद्ध दीक्षा

बाबा साहेबले सन् १९३५ मा नै धर्म परिवर्तन गर्ने मनशाय प्रकट गरेका थिए। उनले बौद्ध, क्रिश्चियन वा शिख धर्ममध्ये कुनमा जाँदा सर्वोपरि हित हुन्छ भनेर खुब मथिंगल गरे। अन्त्यमा बौद्ध धर्मको ब्यापक अध्ययन र अनुसन्धानले उनलाई अरु धर्म फिक्काफिक्का लागे। उनको योजना ब्यापक र दूरदर्शी थियो। उनले यस मामिलामा आफ्नो मात्रै नभएर भारतका सम्पूर्ण दलितहरुको उत्थानको बारेमा सोचेका थिए।

फलस्वरुप, सन् १९५६, अक्टुबर १४ तारिखका दिन नागपुरमा एक बौद्ध भिक्षुबाट उनले दीक्षा ग्रहण गरे। उनकी कान्छी श्रीमतीले पनि बौद्ध दीक्षा ग्रहण गरिन्। बाबा साहेबले आफूसँगै अन्य पाँच लाख दलितहरुलाई पनि बौद्ध दीक्षा दिलाए।तर यसमा विभिन्न मतहरु छन्। कसैकसैले यो संख्या दश लाखभन्दा बढी रहेको दाबी गरेका छन्।

यसको लगत्तै उनी चौथो विश्व बौद्ध सम्मेलनमा भाग लिन नेपाल आएका थिए।

त्यसो त उनी हिन्दु धर्म विरोधी थिएनन्। उनी केवल हिन्दु धर्मको दोहोरो मापदण्ड र पाखण्डका विरोधी थिए। ‘हिन्दु कोड बिल’ पारित गराउन उनले खेलेको अथक भूमिकाका पछाडि पनि एउटै उद्देश्य थियो: हिन्दु धर्ममा जे जति विसंगतिहरु ब्याप्त थिए, ती सब दूर हुन सकून र सारा हिन्दुहरु एउटा ‘कमन पर्सनल ल’ले नियन्त्रित हुन सकून्। यस सम्बन्धमा लोकसभामा भएको बहसमा उनले सरदार हुकुम सिंहद्वारा गरिएको आपत्तिको जवाफमा भारतका कानून मन्त्रीका हैसियतले भनेका थिए,यस देशको कानूनको दृष्टिमा हिन्दु, शिख, जैन र बौद्ध एकै कानूनले नियन्त्रित हुने गर्दछन्। पृथक–पृथक कानूनले होइन।

त्यसो त धर्म परिवर्तन शब्द आफैँमा एक धोका हो। समझदार ब्यक्ति धर्म परिवर्तन गर्नतिर लाग्दैन। सत्य ज्ञान तथा सत्य आचरण नै धर्म हो। तर, मत परिवर्तन, दीक्षा परिवर्तन, उपासना परिवर्तन आदि कुराहरु क्षम्य हुन्छन्। बाबा साहेब यस विषयमा निकै दूरदर्शी थिए। उनले केही हिन्दुको अनुदार जडताको प्रतिक्रियास्वरुप बौद्ध धर्मको सहारा लिए। आखिर बौद्ध धर्म कुनै टाढाको धर्म पनि त थिएन, उनका लागि। बौद्ध धर्म हिन्दुत्वकै परिमार्जित रुप र बृहत्तम परिधिभित्र अवस्थित धर्म हो।

सन् १९५०मा प्रकाशित उनको बुद्ध र उनको धर्मको भविष्य शिर्षकको लेखमा उनले लेखेका थिए, यदि नयाँ दुनियाँ पुरानो भन्दा भिन्न हो भने नयाँ दुनियाँलाई स्वतः पुरानोको भन्दा धेरै धर्मको जरुरत पर्दछ।

बाबा साहेबका जीवनी लेखक गेल ओमबेटले एक ठाउँमा लेखेका छन्, अम्बेडकरले बौद्ध धर्मलाई एक उचित र आदर्श धर्म मान्नुका पछाडि उक्त धर्ममा अन्तर्नीहित नैतिकता तथा विवेकशिलता हो।

आफ्नो प्रसिद्ध लेख बुद्ध अथवा कार्ल मार्क्शमा बाबा साहेब भन्छन्, बुद्धको भिक्षु संघको सम्पूर्ण संविधान लोकतान्त्रिक छ। बुद्ध त तमाम भिक्षुहरुमध्ये एक थिए। हद से हद उनी मन्त्रीमण्डलका सदस्यहरुबीचका एक प्रधानमन्त्रीसरह थिए। उनी कहिल्यै तानाशाह थिएनन्। उनको महापरिनिर्वाण भन्दा पहिले दुई पटक उनलाई आग्रह गरियो, भिक्षु संघलाई नियन्त्रणमा राख्न कसैलाई संघ प्रमुख नियुक्त गरियोस्। तर हरेकपटक उनले धर्म नै संघको सर्वोच्च सेनापति हो, भन्ने जवाफ दिएका थिए। आफू तानाशाह बन्ने वा कसैलाई तानाशाह बनाउने सन्दर्भमा बुद्धले ठाडै अस्विकार गरिदिएका थिए।

बाबा साहेबको निष्कर्षमा कार्ल मार्क्शभन्दा बुद्ध धेरै ज्ञानी र प्रजातान्त्रिक महापुरुष हुन्।

प्रख्यात भारतीय इतिहासकार रामचन्द्र गुहाले आफ्नो पुस्तक मेकर्स अफ मोडर्न इण्डियामा बाबा साहेबलाई ‘वाइज डेमोक्रेट’ अर्थात् ज्ञानी प्रजातान्त्रिक भनेका छन्।

सन् १९५६मा बौद्ध दीक्षाका दौरान आफूलाई तथा अनुयायीहरुलाई उनले बाइस वटा प्रतिज्ञा गरे/गराएका थिए।

जो लगभग यस्ता थिए,

हिन्दु धर्मको त्रिमूर्तिमा अविश्वास, अवतारवादको खण्डन, श्राद्धतर्पण तथा पिण्डदानको परित्याग, बुद्धका सिद्धान्त एवम् उपदेशमा विश्वास, ब्राह्मणहरुद्वारा आयोजित कुनै पनि समारोहमा अनुपस्थिति, मनुष्यताको समानतामा विश्वास, बुद्धका अष्टांगिक मार्गको अनुशरण, प्राणीहरु उपर दया तथा करुणा, पञ्चशिलको पालना, असमानतामा आधारित हिन्दु धर्मको परित्याग तथा बुद्ध धर्म ग्रहण आदि।

बाबा साहेबले सबैलाई भने,
शिक्षित बन! संगठित बन! संघर्ष गर!

उनका प्रमुख रचनाहरुमा भारतको सम्पूर्ण संविधान, भगवान बुद्ध और उनका धर्म (अंग्रेजी – बुद्ध एण्ड हिज धम्म), बुद्ध और कार्ल मार्क्श, भारत में क्रान्ति और प्रतिक्रान्ति, हु वाज शुद्रज इन इण्डिया? प्रमुख मानिन्छन्। बुद्ध एण्ड हिज धर्म बाबा साहेबद्वारा मूलतः अंग्रेजीमा लिखित महत्वपूर्ण ग्रन्थ हो। यो अनेक भाषामा अनूदित छ। यसमा सिद्धार्थ बिरक्तिएर ज्ञान खोज्न जङ्गल गएका नभएर उनलेराजनीतिक कारणले परिबज्रमा निस्किनु परेको कुरालाई तथ्यगत हिसाबलेउजागर गरिएको छ।

ब्यक्ति पूजाका विरोधी

बाबा साहेब ब्यक्तिलाई पूजा गरेर भगवान मान्ने कुराका घोर विरोधी थिए। बिएल मेघवाल लेख्छन्, बाबा साहेब ब्यक्ति पूजाको हानी बारेमा राम्रोसँग परिचित थिए। उनले ब्यक्ति पूजाको कठोर आलोचना गरे। भारतीयहरुको ब्यक्तिपूजक मानसिकताउपर तटस्थ विश्लेषण गर्ने चिन्तक तथा विचारकहरुलाई ब्यक्तिपूजाको खतर्नाक दुष्परिणामले निकै बिचलित तुल्याएको थियो।

यसमा ध्यान दिनुपर्ने कुरा के पनि हो भने स्वयम् बाबा साहेबका अनुयायीहरुबाट आज उनकै लागि उक्त खतरा उपस्थित हुन पुगेको छ। बाबा साहेबकै मूर्तिस्थापना र उनको नाममा आज जुन पूजाआजा शुरु भएको छ त्यो निकै भयानक प्रतित हुन्छ।

स्वयम् बुद्धले कुनै धर्मको गठन गरेका थिएनन्। बुद्धले जिवित रहुन्जेल आफ्नो पूजा पनि गराएका थिएनन्। तर, आज बौद्ध धर्मावलम्बीहरुले बुद्धको हुर्मत नै काढेका छन्। फलस्वरुप, आज बुद्धको निर्वाणशिक्षा फिक्का हुँदै गएको छ र उनकै मूर्ति-पूजा चाहिँ प्रमुख हुन पुगेको छ।

देहावसान

जीवनका अन्तिम कालमा बाबा साहेब दिल्लीस्थित आफ्नो निवासमा थिए। उनको स्वास्थ्यमा गडबढी आएको थियो। उनकी कान्छी पत्नी डा. सविता अतिथि डा. मावलंकरका साथ दिउँसो साढे एक बजे सामान किन्न बजार गएकी थिइन्। उनीहरु साँझ पाँच बजेमात्रै फर्किए। पत्नीको यो हर्कतले बाबा साहेब दुःखी भए। र, उनले पत्नीलाई हप्काए पनि।

डा. सविताले सेवक रत्तूलाई भनिन् कि मालिकलाई शान्त तुल्याऊ।

बाबा साहेबसँग त्यो साँझ जैनहरुको एक शिष्टाचार मण्डल भेट्न आएको थियो। उनीहरुसँग बाबा साहेब बात मारिरहेका थिए, त्यसै बेला डा. मावलंकरले रात्रिकालिन उडानबाट बंबई  प्रस्थान गरे।

रत्तूले बाबा साहेबका गोडा दबाए। साथै शिरमा तेल लगाएर मालिश पनि गरिदिए। बाबा साहेब मन्दमन्द स्वरमा आवाज निकालिरहेका थिए,
बुद्धं शरणं गच्छामी!

राति पत्नी डा. सविता र भान्से सुदामाका अलावा निवासमा कोही पनि थिएनन्। अर्को दिन बिहान अर्थात सन् १९५६ डिसेम्बर ६ मा जब डा. सविता बिहान साढे ६ बजे उठिन्, उनले बाबा साहेबलाई ओच्छ्यानमा सुतिरहेको देखिन्। सधैँ झैं उनले बगैंचामा केहीबेर चहलकदमी गरिन्। अनि फर्किएर आफ्ना पतिलाई सदा झैं जगाउन खोजिन्। तर, बाबा साहेबको मृत्यु भइसकेको थियो।

बाबा साहेबको असामायिक र रहस्यमय मृत्युमाथि उनका पुत्र यशवंत राव बी. अंबेडकर तथा उनका कैयन अनुयायीहरुलाई शंका लाग्यो। उनीहरुलाई बाबा साहेबको अचानक मृत्युमा गहिरो षडयन्त्र पनि गन्हाइरहेको थियो। यशवंतले उक्त सम्बन्धमा ब्यापक अनुसन्धान गर्न दिल्ली प्रहरीमा जाहेरी पनि दिएका थिए।

बाबा साहेबका दोभाषे सोहनलाल शास्त्रीले आफ्नो प्रकाशित संस्मरणमा पनि बाबा साहेबको हत्या भएको हुन सक्ने आशंका ब्यक्त गरेका थिए।

यस सम्बन्धमा तत्कालिन गृहमन्त्री पण्डित गोविन्दवल्लभ पंतले सन् १९५७, नोवेम्बर २६ मा लोकसभामा यस आशयको बक्तव्य दिएर उक्त प्रकरणको पटापेक्ष गरे कि बाबा साहेबको मृत्यु षडयन्त्र नभएर एक स्वाभाविक मृत्यु थियो।

उपसंहार

भारतको धार्मिक आयाममा शूद्र भनिने वंशमा कृष्णद्वैपायन जस्ता महापुरुष पनि थिए, जो हिन्दु सभ्यताका मेरुदण्ड नै थिए। राजकाजका क्षेत्रमा पनि मगधको गद्दीमा नन्दवंश एवम् मौर्यवंशजस्ता महान शाषकहरु भए जसले क्रमशः प्रसिद्ध महान सिकन्दरको सामना गरे र पछि उनका सरदार सैल्युकशलाई परास्त गरेर बन्दी पनि बनाउन भ्याएका थिए। मौर्यवंशी महान अशोकका सुकिर्तीहरुलाई कसले जान्दैन जो शुद्रवंशकै मानिन्छन्। छत्रपति शिवाजी महाराज पनि शूद्रवंशकै मानिन्छन्, जसको राज्याभिषेकमा ब्राह्मणहरुले निकै बखेडा गरेका थिए। अन्त्यमा करोडौं रुपैयाँको दानदक्षिणा दिएर ब्राह्मणहरुलाई चुप लगाइएको थियो।

बीसौं शताब्दीमा डा. बाबा साहेब अम्बेडकर एक यस्ता रत्न थिए, जो शूद्र परिवारमा जन्मिएर पनि आफ्नो संघर्ष, लगन र जागृत शोचका कारण महान नक्षत्र भएर अमर भए। उनले भारत र भारतबाहिर विषमताको विरोधमा गरेको हुँकारले भारतका कथित उच्च जातिहरु जातपात र छुवाछूतका सन्दर्भमा पुर्नविचार गर्न र पछाडि हट्न बाध्य भए।

दलित एवम् आदिवासीहरुलाई मन्दिर प्रवेश गर्न, पानी पिउन, छुवाछूत निर्मूल पार्न, जाति विभेद हटाउन, उँचनीचजस्ता सामाजिक कुरीति मेटाउन सन् १९२७मा बाबा साहेबले हिन्दुहरुको प्रसिद्ध ग्रन्थ मनु स्मृति जलाएर एउटा भयंकर बिद्रोहको शंखनाद गरेको घटना अभूतपूर्व मानिन्छ। यसका साथै उनका महाड सत्याग्रह (सन् १९२८), नासिक सत्याग्रह (सन् १९३०) तथा येवलाको गर्जना (सन् १९३५) जस्ता आन्दोलनहरुले दलितहरुको उत्थान र मुक्तिको क्षेत्रमाइतिहास रचेका थिए।

स्वतन्त्र भारतका दलित वर्गको उन्नती तथा सर्वांगिण अधिकार प्राप्तिका सन्दर्भमा बाबा साहेबको योगदान जति जोखे पनि कम नै हुन्छ।

(खतिवडाको आगामी जुलाई १३ अर्थात् असार २९ गते बजारमा आउने पुस्तक ‘अन्तिम प्रहर’बाट। पुस्तक ५२ वटा अनुसन्धानात्मक लेख तथा रोचक सामग्रीहरुको संग्रह हो।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank