सामाजिक तथा सांस्कृतिक अधिकार कार्यान्वयन चुनौतीपूर्ण छ : प्रधानमन्त्री

दलित अनलाईन २४ मंसिर २०८०, आईतवार १८:१८

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यको साधन स्रोतको सीमितताका बाबजुद संविधानमा प्रत्याभूत गरिएका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।

आइतबार मानव अधिकार दिवस, २०८० को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस चुनौतीपुर्ण अवस्थामा पछिल्लो दशकमा भएका ऐतिहासिक परिवर्तनबाट प्राप्त महत्त्वपूर्ण राजनीतिक उपलब्धिहरूको जगमा मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरण गरी विद्यमान वर्गीय, क्षेत्रीय, भाषिक, धार्मिक र लैङ्गिक विभेद तथा असमानता अन्त्य गरी समतामूलक समाज निर्माण गर्नका लागि इमान्दाररूपले सत्प्रयास गर्नु सबैको कर्तव्य भएको बताएका हुन् ।

‘राज्यको साधन स्रोतको सीमितताका बाबजुद संविधानमा प्रत्याभूत गरिएका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको कार्यान्वयनको विषय थप चुनौतीपूर्ण छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

१० डिसेम्बर १९४८ का दिन संयुक्त राष्ट्रसंघको महासभाबाट पारित मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणालाई मानव अधिकारको क्षेत्रमा सबै राष्ट्र तथा समुदायको साझा उपलब्धि र आधारभूत मापदण्डको रूपमा लिइन्छ । यो घोषणा जारी हुँदा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य नभए पनि मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा तथा नेपाल पक्ष भएका मानव अधिकार सम्बन्धी महासन्धिद्वारा व्यवस्था गरिएका सबै प्रकारका अधिकारहरूलाई नेपालको संविधानमा मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालमा घटेका मानव अधिकार उलङ्घनका घटनाको छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको कामलाई सङ्क्रमणकालीन न्यायका मान्य सिद्धान्तअनुरूप प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानुनमा परिमार्जन र संशोधन गर्न संघीय संसदमा विधेयक पेस गरिएको पनि जनाएका छन् ।

त्यसक्रममा प्रधानमन्त्रीले नेपालमा मानव अधिकारको कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा परेका विषयमा तत्तत् तहका सम्बन्धित निकायको स्पष्ट कार्य जिम्मेवारीसहितको पाँचौ मानव अधिकार राष्ट्रिय कार्य योजनाको तर्जुमा गरी संघ, प्रदेश र स्थानीय तहको संरचनात्मक माध्यमबाट कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको बताए । ‘त्यसैगरी मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाको तेस्रो चक्रमा नेपालले स्वीकार गरेका सिफारिसहरू कार्यान्वयनको चरणमा रहेका छन्’, प्रधानमन्त्रीले भनेका छन् ।

उनले मानव अधिकारहरूको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नका लागि नेपाल सरकारले राष्ट्रिय मानव अधिकार आयोग लगायत अन्य संवैधानिक आयोगहरू, राज्यका विभिन्न निकायहरू, संयुक्त राष्ट्रसंघ मातहतका अन्य निकाय, गैरसरकारी संघसंस्था तथा नागरिक समाजसँग समन्वय गरी सहकार्य गर्दै आएको बताए ।

सबैका लागि स्वतन्त्रता, समानता र न्यायको सुनिश्चितता गर्न मानव अधिकारको संरक्षण, संवर्द्धन र परिपालना गर्ने नेपाल सरकारका तर्फबाट प्रतिबद्धता दोहो¥याउदै प्रधानमन्त्रीले सूचना प्रविधिको विकासले मानव समाजलाई थप सहज र सरल बनाएको भए पनि प्रविधिको असमान विकासले यसको पहुँच र प्रयोगमा विभेद सिर्जना गरेको बताए । ‘प्रविधिको विकासले सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा पनि नयाँ–नयाँ समस्या र चुनौतीहरू थपिएका छन्’, उनले भने, ‘विश्वव्यापीकरण र खुला बजारमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण वस्तु र सेवाको उत्पादनदेखि उपभोक्तासम्म पुग्ने आपूर्ति शृङ्खलाका विभिन्न चरणमा संलग्न श्रमिक र सीमान्तकृत समुदायको आधारभूत मानव अधिकारको सुनिश्चितताको विषय थप चुनौतीपूर्ण बन्न पुगेको छ ।’

विश्वका विभिन्न ठाउँहरूमा भइरहेका सशस्त्र संघर्ष र युद्धका क्रममा महिला, बालबालिका र ज्येष्ठ नागरिक लगायतका गैरसैनिक सर्वसाधारण एवं घाइते तथा बन्दीहरूको आधारभूत मानव अधिकारको संरक्षणको सन्दर्भमा मानव अधिकारको विश्वव्यापी घोषणाको कार्यान्वयनको सान्दर्भिकता अझै टड्कारो बन्न पुगेको प्रधानमन्त्रीको भनाइ छ । उनले मानव अधिकारका आधारभूत मूल्य मान्यताहरूलाई वर्तमान समयका समस्या र चुनौतीहरूको सम्बोधन गर्ने गरी समयानुकूल परिमार्जन र परिष्कृत गर्दै मानव अधिकारको विश्वव्यापी घोषणालाई पुनर्ताजगी दिने कार्यमा अन्तर्राष्ट्रिय समुदायको आपसी सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank