काठमाडौँ — सीमान्तकृत तथा दलित महिलालाई सम्बोधन गर्न दलित महिला संघ (फेडो)ले राष्ट्रिय योजना आयोगसमक्ष माग गरेको छ ।
शुक्रबार ललितपुरमा सरोकारवालासहितको छलफलमा फोडोले सीमान्तकृत तथा दलित महिला सम्बन्धमा गरिनुपर्ने मुख्य सवाल, रुपान्तरण रणनीति र कार्यक्रमसहित विभिन्न सुझावसहित आयोगसमक्ष माग गरेको हो ।
योजना आयोगका सदस्य डा.रामकुमार फुयालको सहभागिता रहेको कार्यक्रममा फेडोको तर्फबाट १६औं योजनामा समेट्नुपर्ने माग तथा सुझावको मस्यौदा मोहनसिंह सुनारले प्रस्तुत गरेका थिए । जसमा विशेषगरी दलित तथा दलित महिलाका विशिष्ट सवाल उल्लेख छन् ।
संस्थाको सुझावले योजना कार्यान्वयन गर्ने तथा योजनाको अध्ययन गर्ने व्यक्ति र संस्थामा सवालको गाम्भीर्यताप्रति संवेदनशील बनाउन मद्दत पुग्ने फेडोका अध्यक्ष कला स्वर्णकारले बताइन् ।
उनले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रकाशनमा खण्डीकृत तथ्याङ्कको सुनिश्चितता गर्नुपर्ने तथा अन्य मन्त्रालय र विषयगत कार्यालयले खण्डीकृत तथ्यांक राख्ने मापदण्ड बनाइ प्रभावकारी अनुगमन गर्नुपर्ने, खण्डीकृत तथ्यांक व्यवस्थापन गर्न स्थानीय सरकारलाई प्राविधिक सहायता प्रदान गर्नुपर्ने बताइन् ।
फेडोले शिक्षा र सीप, स्वास्थ्य तथा पोषण, खानेपानी तथा सरसफाइ, रोजगारी र सामजिक संरक्षण, परम्परागत पेशा र उद्यमशीलताका विषयमा सुझाव दिएको छ । यस्तै कृषि र खाद्य सुरक्षा, विपद र जलवायु परिवर्तन, भूमि र आवास, मानव अधिकार, न्याय र सामजिक सशक्तीकरण, लैंगिक समानता तथा महिला सशक्तीकरण र समावेशीकरणसँग सम्बन्धित माग तथा सुझाव मस्यौदामा समेटिएका छन् ।
योजना आयोगका सदस्य फुयालले सरोकारवालाका सुझावलाई सकेसम्म सम्बोधन गरेर १६औं योजना निर्माण गरिने प्रतिबद्धता जनाए । उनले सीमान्तकृत तथा दलित महिलाप्रति अहिलेको सरकार र योजना आयोग संवेदनशील रहेको बताए ।
Leave a Reply