जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियकरण गर्छु : प्रधानमन्त्री

दलित अनलाईन ३ मंसिर २०८०, आईतवार १८:३७

रुकुमपूर्व —  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियकरण गरिने बताएका छन्।

रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै  उनले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि ठूलो क्षति व्यहोर्नुपरेको अवस्थालाई ध्यानमा राखेर क्षतिपूर्तिका लागि स्पष्ट रूपमा आफ्ना कुरा राखिने बताएका हुन्।

जलवायु परिवर्तनको पीडा कम गर्न अन्तर्राष्ट्रिय कोषबाट सहयोग उपलब्ध गराइँदै आएको भए पनि नेपालले हालसम्म कम मात्रै रकम पाएकाले त्यसमा उल्लेख्य रूपमा वृद्धि गर्न अन्तर्राष्ट्रिय समुदायलाई आफूले पटकपटक अनुरोध गरेको स्पष्ट पारे।

आफ्नो आग्रहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टाेनियो गुटरेसले नेपाल भ्रमण गरेर जलवायु परिवर्तनबाट परेको प्रभावलाई नजिकैबाट हेरेर गएको प्रधानमन्त्री दाहालले उल्लेख गरे।

जलवायु परिवर्तनबाट परेको प्रभावबाट दुःख पाएको नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने राहत अधिकारको विषय भएको प्रधानमन्त्रीको भनाइ छ।

नेपालीले गर्दै नगरेको कमजोरीको सजाय पाइराखेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ‘क्लाइमेट फन्ड’बाट ठूलो राहतका लागि सरकारका तर्फबाट दस्ताबेज तयार पार्न उच्च अधिकारीलाई निर्देशन दिइएको बताए।

उनले कोटलाई खुला संग्रहालय घोषणा गरी आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारको तर्फबाट साथ तथा सहयोग रहने स्पष्ट पारे।

यस्तै, प्रधानमन्त्री दाहालले जडीबुटी तथा कृषि क्षेत्रको विकासका लागि एउटा विशेष परियोजना अगाडि बढाउन पहल गर्ने विश्वास दिलाए।

आफ्नो चीन भ्रमणका क्रममा हिमाली क्षेत्रका केही जिल्लामा विशेष परियोजना सञ्चालन गर्ने सहमति भएको जानकारी दिँदै प्रधानमन्त्रीले रुकुम पूर्वको पुथा उत्तरगंगा पनि हिमाली पालिका भएकाले एउटा परियोजना अगाडि बढाइने बताए।

उनले मैकोटलाई जीवित संग्रहालय बनाउनका लागि केन्द्र सरकारको तर्फबाट बजेटको प्रबन्ध गरिने विश्वास दिलाए। क्रान्तिको समयमा ठूलो त्याग, तपस्या र बलिदान गरेको यस क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाइ छ।

शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रको विकासका लागि पनि उत्तिकै महत्त्व दिइएको उनको कथन छ। नेपालको संविधानमा नै  समाजवाद उन्मुख विषयलाई उल्लेख गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सरकारले पहलकदमी लिएको र सोही संकल्पका आधारमा काम सुरु भएको बताए।

यस्तै, तराई–मधेसमा रहेका लाखौँ किसानलाई मिटरब्याजकाे पीडा र अत्याचारबाट मुक्त गरिएको जानकारी दिए। नागरिकताविहीन नेपाली नागरिकलाई पनि वर्तमान सरकारले प्राथमिकता राखेर नागरिकता प्रदान गरिएको तथ्य पेस गरे।

विदेशमा गएका लाखौँ नेपाली युवाको हक अधिकार सुनिश्चित गर्न सामाजिक सुरक्षाको दायरामा ल्याइएको, अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका श्रमिकलाई पनि त्यसको दायरामा ल्याइएको प्रधानमन्त्रीको भनाइ छ।

सामाजवादको आधार तयार पार्ने काममा सरकार लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले केही तथ्यसमेत पेस गरे। भ्रष्टाचार नियन्त्रणमा पनि सरकार उत्तिकै क्रियाशीलताका साथ लागिपरेको स्पष्ट पार्दै ठूलाठूला मन्त्री र नेतासमेत जेल जाने अवस्थाको सिर्जना भएको बताए।

सुन तस्करी नियन्त्रणमा पनि सरकार उत्तिकै क्रियाशीलताका साथ लागिपरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले सुशासन कायम गर्न निरन्तर लागिपर्ने बताए। फरक एक प्रसंगमा प्रधानमन्त्री दाहालले वर्तमान गठनबन्धन पूरै पाँच वर्ष टिक्ने र देश तथा जनताका पक्षमा काम गरेरै देखाउने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank