तिमी म भएपछि
म तिमी भएपछि
अर्थात तिमी र म हामी भएपछि
सायद मैले जन्मेको गाउँ छोड्नुपर्छ
हुर्केको ठाउँ छोड्नुपर्छ
तिम्रो हात समाएर
मैले आफन्तहरूसँगको निकटता तोड्नुपर्छ
तिमीसँगको नातालाई अझ दरिलो बनाएर
यो जिन्दगीको बाटो मोड्नु पर्छ
तिमी कति पनि विचलित नहुनु है मेरी प्रियतमा
तिमी कति पनि विचलित नहुनु है ।
जब हामी जीवनको यात्रामा एउटै बाटोमा देखिनेछौँ
तिमी सम्मानित हैन अपमानित हुने छौ
तिम्रो अगाडि फूलको हैन
काँडाहरूको वर्षा हुनेछ
प्रेमका शुभेच्छा हैन घृणा र आक्रोशका बाणहरूले
बारम्बार तिम्रो हृदय छिया छिया पार्नेछ
तिम्रो शिरमाथि आशीर्वादको स्पर्श हैन
अपहेलनाको फणा उठ्ने छ
तिमी कति पनि विचलित नहुनु है मेरी प्रियतमा
तिमी कति पनि विचलित नहुनु है ।
म आरनमा बसेर
हतियारमा मात्र धार लगाइरहेको छैन
चेतनामा पनि धार लगाइरहेको छु
स्वाभिमानमा पनि पाइन चढाइरहेको छु
जसले तोड्ने छन्
युगौँदेखि हामीबीच उभिएका जातीय विभेदका पर्खाल
जसले भत्काउने छन्
युगौँदेखि हामीबीच उभिएका असमानताका छेकबार
अहा ! तिमी म जत्रै हुने छौ
म तिमी जत्रै हुने छु
हामी बराबर हुने छौँ
तिमी कति पनि विचलित नहुनु है मेरी प्रियतमा
तिमी कति पनि विचलित नहुनु है ।
मभित्र सहास छ फलामभन्दा बलियो
तिम्रो स्पर्शले झन बलियो बनाएको
मभित्र नदी छ भावनाको, चेतनाको
तिम्रो प्रेमले अझ सङ्ल्याएको
मभित्र दृढताको पहाड छ, हिमाल छ
तिम्रो साथले उभ्याएको
मभित्र फूलजस्तै हृदय छ
तिम्रो खुसीले, तिम्रो विश्वासले, तिम्रो मायाले फुलाएको
म सहास, प्रेम, दृढता र खुसीले बलिरहेको छु
अँध्यारोमा उज्यालो भएर
तिमी कति पनि विचलित नहुनु है मेरी प्रियतमा
तिमी कति पनि विचलित नहुनु है ।
जिउन सजिलो छैन
तर जीवन साह्रै सुन्दर छ
आँधी, हुरी, बाढी, पहिरोलाई जितौँला
सबै अप्ठ्यारा र असजिलाहरूलाई पन्छाउँला
जहाँ जहाँ बाटोमा उभिन्छन् हाम्रा अगाडि
सुनाखरीलाई हेर त
बाङ्गाटिङ्गा हाँगाबिँगा र पहराहरूमा फुलिरहन्छ
लालीगुँरासलाई हेर त
अप्ठ्यारा भिरपाखामा पनि मुस्कुराइरहन्छ
तिमी कति पनि विचलित नहुनु है मेरी प्रिमतमा
तिमी कति पनि विचलित नहुनु है ।
हामी बुबाआमा हुनेछौँ
हामी हजुरबुबा, हजुरआमा हुनेछौँ
हामी पुर्खा हुनेछौँ हाम्रा सन्ततिका
त्यसबेला उनीहरूले हामीलाई के भन्छन् थाहा छ ?
“अहा ! ती अप्ठ्यारा भिरपाखाहरूमा फुलेका
सुनाखरी र लालीगुँरास त
हाम्रा पुर्खाहरू पो रहेछन्
अहा ! ती सुन्दर सुनाखरी र लालीगुँरास त
हाम्रा अग्रजहरू पो रहेछन् । “
तिमी कति पनि विचलित नहुनु है मेरी प्रियतमा
तिमी कति पनि विचलित नहुनु है ।
(इलाम,हाल काठमाडौँ)
Leave a Reply