जातीय विभेद गर्नेलाई आजीवन कारावास हुनुपर्छ : वामदेव गौतम

दलित अनलाईन ३१ श्रावण २०८०, बुधबार १०:४४

काठमाडौं —  राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जातीय विभेद र उत्पीडन गर्नेहरूमाथि आजीवन कारावासको सजाय दिने कानुन बनाउन सरकारसँग माग गरेका छन् ।

मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले जातीय विभेद र उत्पीडन गर्नेहरूमाथि आजीवन कारावासको सजाय दिने कानुन बनाउन सरकारसँग माग गरेका हुन् ।

मृत्युदण्डको कानुन व्यवस्था गरेपछि मात्रै अमेरिका लगायतका मुलुकमा जातीय तथा वर्णभेद अन्त्य भएको उल्लेख गर्दै गौतमले नेपालमा पनि त्यसको अन्त्यका लागि सरकारले पीडकलाई आजीवन कारावासको सजाय दिनेगरी सरकारले कानुन व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

नेपालको संविधानले जातीय विभेदलाई गम्भीर अपराधको रूपमा लिए पनि त्यस अनुसारको कानुन नबन्दा त्यसबाट हुने उत्पीडन अझै कायमै रहेको गौतमले तर्क गरे ।

आफूले सुरूदेखि नै जातीय विभेदजस्ता अमानवीय शोषण, दमन, थिचोमिचोलाई अन्त्य गर्न आवान उठाएको गौतमले बताए ।

बैठकमा गौतमले राखेको कुरा जस्ताको तस्तै

हाम्रो देशको मात्र होइन, जातीभेद, वर्णभेदजस्ता समस्याबाट संसार अरु देशहरू पनि पीडित भएका छन् । तर, अहिले जातिभेदबाट पीडित हुने भारत र नेपाल नै हो । त्यसै गरेर इस्लामिक कन्ट्रीहरु, जहाँ इस्लामलाई धर्म मान्ने गरिएको छ । राज्य धर्मको रूपमा रहेका छन् । त्यो ठाउँमा पनि गम्भीर जातीय भेदहरु छन् ।

हाम्रो यहाँ त्यसमा सुधार भएको स्थिति छ । तर, कानून त्यस्तो छैन । कानून भनेको बल हो । त्यो बल प्रयोग हुनुपर्छ । अहिले जेजति कानूनहरु बनेका छन् । संविधानले पनि अधिकार दिने भनेर भन्छ । तर त्यो दण्डनीय अधिकार हो । गम्भीर अपराध हो भनेर भन्ने शब्दहरु पनि परेका छन् संविधानमा । तर कानूनमा त्यस्तो परेको छैन । र, कानून नै बन्नुपर्छ । मैले शुरुदेखि भनि राखेको छु जबसम्म यो अमानवीय शोषण, दमन, थिचोमिचो, जसलाई असैह्य भन्नुपर्छ ।

झण्डै ३ हजार वर्षदेखि हाम्रो समाजमा यो उत्पीडन छ । यो जातीय उत्पीडन छ । र, त्यसको विरुद्ध, जो जोले विद्रोह गर्न सुरू गरे । तिनलाई अरु पनि कठोर कठोर दण्ड जरिवाना गर्दै तिनीहरुलाई दबाउने किसिमको काम भएको छ । त्यसो भएर आज जे जति अधिकार प्राप्त भएको छ । त्यो अधिकार कार्यान्वयन हुन नसक्दाखेरी आक्रोश व्यक्त गर्ने स्थिति सृजना हुन्छ ।

अमेरिकाका सम्झाई बुझाई गरेर समस्या समाधान भएन त्यहाँको गम्भिर वर्णभेद । अनि, अमेरिकामा कानून बन्यो मृत्युदण्डको । त्यो विभेद गर्नेलाई, वर्णभेद गर्नेलाई त्यसो गरियो । त्यसपछि समाप्त भयो । मैले त्यो उदाहरण दिँदै यहाँ भनेको छु कानून बनाऊ त्यस्तो, जसले त्यस किसिमको विभेद गर्छ, त्यसलाई हाम्रो देशको कानून अनुसार सबभन्दा ठूलो सजाय भनेको आजीवन कारवासको हो ।

आजीवन कारावास हुने किसिमको कानून बनाऊ । र, पीडितलाई तत्काल क्षतिपूर्ति दिनका लागि, जसले त्यो उत्पीडन गरेको छ । त्यसले उसको परिवारमा पाउने अंश कब्जा गरेर, त्यसलाई बेचबिखन गरेर पीडितलाई क्षतिपूर्ति दिने । अरु राजनीतिक, सामाजिक क्षेत्रमा यो ३ हजार वर्षदेखि जातीय उत्पीडन शुरु भएर उनीहरु त्यो कारणले राज्यजे दिनुपर्ने र सरकारले लागू गर्नुपर्ने विषयहरु धेरै छन् । त्यसको निम्ति मैले सोचेको त्यस्तो कानून बनाऊँ । त्यो कानूनबमोजिम क्षतिपूर्ति समितिले दिएको सबै निर्देशन लागू गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank