काठमाडौं — जातीय छुवाछुतलाई दुरुत्साहन र धार्मिक विद्वेष फैलाउँदै आएका भारतीय ‘धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्री’लाई व्यापारिक घराना चौधरी ग्रुपले नेपाल ल्याउने भएको छ।
भूत–प्रेत हुने र त्यसको उपचार आफूले गर्दै आएको भनेर अन्धविश्वास फैलाएर भक्तजन ठग्दैआएका धीरेन्द्रकृष्णलाई पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा ल्याउन लागिएको हो।
धीरेन्द्रकृष्णले कथावाचन गर्दा मञ्चमै आफूलाई ढोग्न आएकालाई ‘अछूत’ भनेर छुनबाट रोकेका केही भिडिओ समेत सार्वजनिक भएका छन्। आदिवासी समुदायलाई ‘जङ्गली’ भनेको घटना पनि सार्वजनिक भएका छन्।
धीरेन्द्रकृष्णजस्ता कट्टर धार्मिक मतका प्रवर्तकले प्रवचन दिँदा नेपालमा पनि विभाजक र विखण्डनकारी, जातीय धार्मिक विद्वेष फैलने खतरा रहेको समाजशासास्त्रीहरू बताउँछन्।
उनीहरू भन्छन्, ‘‘जातीय छुवाछूत गर्ने, तोकेरै हिन्दुबाहेक अरूलाई मानिस नगन्ने, जातीय छुवाछुत गर्ने मानिस समाज विभाजक शक्ति हो, हाम्रो शान्त र सहिष्णु समाजलाई असर पार्ने गरी यस्ता विवादित व्यक्तिलाई ल्याउनु आपत्तिजनक मात्र होइन, गैरसंवैधानिक पनि छ ।’’
धीरेन्द्रकृष्णको अराजकता यति मात्रै सीमित छैन, उनी आफूलाई धर्मगुरु भन्दै धार्मिक सभामा भक्तजनको भूतप्रेत भगाउने भन्दै उपचार गर्न बोलाउँछन्। उनको सभामा ‘भूत–प्रेतलाई मानिसको शरीरबाट निकाल्ने भन्दै भक्तजनमाथि दुर्व्यवहारसमेत हुने गर्छ।
Leave a Reply