…अनि जुम्लामै ‘राम्रो उपचार पाएँ’

हिक्मतबहादुर नेपाली २६ श्रावण २०८०, शुक्रबार १०:५२

दैलेख—   गर्भमा ८ महिने शिशु हुर्कँदै थियो। सामान्य घरायसी कामहरू गर्न पनि उनलाई सहज थिएन। तर, काम नगरी घरको गर्जो टार्न हम्मे–हम्मे पथ्र्यो। त्यसैले जसोतसो घरायसी काम गर्थिन् मुगुको छायानाथ रारा नगरपालिका–१२ की २५ वर्षीया नानी विक। गत असार २२ गते मकै गोड्न बारीमा गएका बेला उनी लडेर नराम्ररी थला परिन्। श्रीमान् लालसिंह विकका अनुसार उनको बायाँहात दुई ठाउँमा भाँच्चिएको छ। 

‘जसोतसो जीवन गुजारा चलाइरहेको हामीलाई यो घटनापछि ठूलो आपत आइलाग्यो, घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि महँगो रकम खर्चेर सुविधासम्पन्न अस्पतालमा पु¥याउन सकेनौं,’ लालसिंह भन्छन्। उनले श्रीमतीलाई उपचारका लागि मुगु अस्पताल भर्ना गरे। मुगुमा उपचार सम्भव नभएपछि झन्डै एक सातापछि अस्पतालले रिफर गरिदियो। ‘अस्पतालले सुर्खेत वा नेपालगञ्ज लैजान भन्दै रिफर गरिदिएपछि समस्या माथि समस्या थपियो,’ लालसिंह भन्छन्।

स्थानीय समाजसेवी लगायतको सहयोगमा नानीलाई जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लैजाने निधो भयो। असार २८ गते मुगु अस्पतालमा भर्ना भएकी नानीले साउन पाँच गते चौथो सन्तानको रूपमा छोरीलाई जन्म दिइन्। ‘धेरैको सहयोग पाएर जुम्लामा आएर राम्रो उपचार पाएँ, छोरी पनि जन्मिइन्, हातको शल्यक्रिया गरेर रड राखिएको छ,’ नानी भन्छिन् ‘जुम्ला अस्पतालसम्म नआएको भए म बाँच्दिनथे होला।’ 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार पाएपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। नवजात शिशुको स्वास्थ्य अवस्था पनि राम्रो रहेको नानीले बताइन्। उनी झन्डै एक महिनापछि डिस्चार्ज भएकी छन्। दुःख लिएर अस्पताल आएकी उनी खुसी बोकेर घर फर्किएकी छिन्। श्रीमतीको उपचारका लागि अस्पताल र विभिन्न व्यक्तिहरूले ठूलो सहयोग गरेको लालसिंह बताउँछन्। ‘अस्पतालमा उपचार चलुन्जेल सामान्य औषधि बाहेक शल्यक्रियालगायतको शुल्क विभिन्न व्यक्ति र अस्पतालले बेहोरिदिनुभयो,’ उनले भने।

उनको उपचारका लागि मुगु अस्पतालमा रहेका भुवन पुरी, समाजसेवी सूर्यादेवी मल्ललगायत छिमेकीहरूले ठूलो सहयोग गरेका अभियन्ता महेन्द्रकुमार थापाले बताए। 

‘आठ महिने गर्भवती महिला लडेर हात भाँच्चिएपछि मुगु अस्पतालमा सामान्य उपचार गराए पनि शल्यक्रिया गर्नुपर्ने देखिएपछि हामीले विभिन्न व्यक्ति र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालसँग समन्वय ग¥यौं, अन्ततः उनको उद्दार भयो। उपचारपछि नवजात छोरीसहित घर फर्किनुभएको छ,’ नानीको उपचारका लागि जुटेका थापाले भने। 

विभिन्न माध्यमबाट सहयोग जुटाएर श्रीमतीको उपचार गराएका लालसिंहको परिवारलाई समस्याहरूले घेरिरहेको छ। उनको परिवारलाई बिहान साँझको छाक टार्नसमेत धौ–धौ परिरहेको छ। ‘धेरथोर जग्गा थियो, त्यसमै खेतीपाती गरेर छाक टाथ्र्यौं, गत वर्षको पहिरोले आधा जग्गा बगाइदियो, जीविकोपार्जनका लागि अरू कुनै स्रोत छैन,’ उनले भने। उनका यसअघि दुई छोरी र एक छोरा छन्। ‘कमाउन कालापहाडतिर जाउँ भने लडेर थला परेकी श्रीमती र छोराछोरी बेसहारा हुन्छन्, गाउँमा आम्दानीको कुनै स्रोत छैन, परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताइरहन्छ,’ लालसिंह भन्छन्।

(यो समाचार अन्नपूर्ण पोष्ठबाट साभार गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank