काठमाडाैं — सरकारले कमैया प्रथा अन्त्य घोषणा गरेको आज २३ वर्ष पुगेको छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो ।
वर्षौंसम्म मालिकका घरमा दास जसरी बसेकालाई मुक्त घोषणा गरिए पनि उनीहरुको गाँसबासको प्रवन्ध सरकारले नमिलाइदिँदा मुक्त कमैयाहरुले आन्दोलनको रुपमा मुक्ति दिवस मनाउँदै आएका छन् ।
खासगरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा कमैया प्रथा थियो । ती जिल्लाका मुक्त कमैयाहरुले अझैसम्म पनि पुनःस्थापना र व्यवस्थापन नभएको गुनासो गर्दै आएका छन् ।
मुक्तिको घोषणासँगै जिल्लामा मुक्त कमैया पुनःस्थापना जिल्ला समिति गठन गरी सरकारले पूर्वकमैयाको पुनःस्थापना कार्य अघि बढाएको थियो । यस क्रममा समितिले पूर्वकमैयालाई बसोबासका लागि जग्गा र घर बनाउन आवश्यक काठ उपलब्ध गराउने निर्णय गरेको थियो ।
नेपालको संविधानको धारा २९ शोषणविरुद्धको हक अन्तरगत उपधारा (३) मा कसैलाई पनि बेचविखन गर्न, दास वा बाँधा बनाउन पाइैन् भनिएको छ । त्यस्तै उपधारा (४) मा कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाईने छैन भने धारा ४० को उपधारा (५) र (६) मा दलितहरुलाई एक पटक जमिन र आवास उपलब्ध गराउने मौलिक हकको व्यवस्था गरेको छ ।
२०७९ श्रावण २ गते हलिया, कमैया, कम्लरी तथा हरवाचरवा आन्दोलनका अगुवाहरुको उपस्थिति रहेको एक भव्य समारोहकाबीच अनुचित ऋणको खारेजीसहित पूर्वी तराईका बारा देखि सुनसरी सम्मका ९ जिल्लाहरुमा रहेका करिव १ लाख भन्दा बढी हरवाचरवाहरुको मुक्तिको घोषणा भएको थियो ।
हरवाचरवाको मुक्तिको घोषणासँगै नेपालमा सामन्तवादका अवशेषका रुपमा रहेको प्रथाहरु औपचारिक रुपमा अन्त्य भएका थियो भने नेपाल बधुँवाप्रथा मुक्त राष्ट्र भएको थियो ।
मुक्तिको घोषणा भएको १ बर्ष वितिसक्दा समेत नेपाल सरकारले पुनःस्थापनाको कुनै कार्य अघि बढाएको छैन । घोषणासंगै नेपाल सरकारले प्रतिबद्धता जाहेर गरेको लगत संकलन, सत्यापन, परिचय पत्र वितरण, पुनःस्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तिकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दाहरु अहिलेसम्म शुरु हुन सकको छैन ।
नेपाल सरकारलाई मुक्त हरवाचरवा पुनःस्थापनाका लागि संविधानसभा सदस्य तथा नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठको संयोजकत्वमा गठित मुक्त कमैया, कम्लरी, हलिया तथा हरवाचरवा सम्वन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९ को अक्षरसः कार्यान्वन गर्नका लागि जोडदार माग गरेका छन् ।
Leave a Reply