गायक प्रकाश सपुत अमेरिकामा सम्मानित

दलित अनलाईन २४ बैशाख २०८०, आईतवार १८:३५

काठमाडौँ — गायक प्रकाश सपुत अमेरिकाको न्यूजर्सी राज्यस्थित जर्सी सिटी सहरका मेयर स्टिभन फुलपद्वारा सहर घोषणापत्रबाट सम्मानित भएका छन्।

मे ४ मा गायक सपुतको सम्मानमा न्यू जर्सी नेपाली समुदायबाट संयुक्त रूपमा आयोजित विशेष लाईभ सांगितिक साँझका अवसरमा मेयरले घोषणापत्र जारी गर्दै गायक सपुतलाई सामाजिक सचेतना जगाउने मौलिक गीत संगितको उत्कृष्ट सर्जक उल्लेख गर्दै विश्वभरका लाखौं लाख नेपाली डायस्पोराको दिलमा बस्न सफल कलाकारको रूपमा मुक्तकण्ठले प्रशंसा गरेका छन्।

यसैबीच गायक सपुतले मेयर फुलपद्वारा सहर घोषणापत्रद्वारा आफूलाई सम्मानित गरेकोमा हार्दिक आभार व्यक्त गरेका छन्।

उता जर्सी सिटी सहरका नेपालीहरूले गायक सपुतलाई आफ्नो सहरको मेयरबाट सम्मानित गरिएकोमा गौरवीभूत हुँदै सो अवसरमा लाईभ सांगीतिक साँझको आयोजना गरी गायक सपुतको स्वागत गरेका छन्।

जर्सी सिटीको हड्सन काउन्टी कम्युनिटी कलेजको अडिटोरियमा आयोजित सांगीतिक साँझमा जर्सी सिटीका मेयरका सल्लाहकार एवं न्यू जर्सी गभर्नरकी एशियन अमेरिकी प्यासिफिक आईल्याण्डर कमिसनकी कमिसनर डा. विष्णुमाया परियारले गायक सपुतलाई स्वागत गर्दै जर्सी सिटी सहरको मेयरद्वारा सहर घोषणापत्रबाट सम्मान गर्न पाएकोमा आफू गौरवान्वित भएको बताइन्।

सञ्चारकर्मी प्रदीप परियार थापाले गायक सपुत अहिलेको समकालिन पुस्तामा अग्रणी युवा गायक र सर्जक भएको उल्लेख गर्दै बधाई ज्ञापन गरे। न्यू जर्सी राज्यका अग्रणी महिला व्यावसायी एवं विमन फर कजकी पूर्व प्रेसिडेन्ट रेणु शर्माले गायक सपुत, पाहुना र सहयोगीहरूलाई उपस्थितिका निम्ति धन्यवाद दिँदै हार्दिक आभार व्यक्त गरिन्।

गायक सपुतको पछिल्लो बहुचर्चित गीत सकम्बरीले उनको यूट्यूब च्यानलमा रिलिज भएको दुई हप्तामै गत १ करोड ७० लाखपटक हेरिएर नेपालकै सांगीतिक इतिहासमा पहिलो रेकर्ड कायम गरेको छ। उनका गीतहरू यूट्यूबमा उनन्तिस करोडभन्दा बढी पटक हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank