काठमाडौं — दलित अधिकारकर्मीहरुले जुनसुकै गैरदलितहरुसँगको छलफलमा सधै सामना गर्नु पर्ने प्रश्नहरु हो– दलितभित्र पनि विभेद छ । कामील र सार्कीले दमाईलाई, दमाईले गन्र्धवलाई, गन्धर्वले वादीलाई र वादीले पोडे च्यामेलाई विभेद गर्छन नि ? यो प्रश्नको उत्तरमा उनीहरुले भन्ने गरेका हुन्छन् यो साँचो हो तर यो विभेद हामी आफैले लादेको होइन, जसले कानुन बनायो उसैल लागु गरि दिएको हो । यति भनेर उनीहरु उम्किन सके पनि भित्रभित्रै उनीहरुलाई पनि यो समस्याले पिरोली रहेको हुन्छ ।
दलित आयोगका सदस्य तथा अधिकारकर्मी सुन्दर पुर्कुटी जो वुढानिलकण्ठ नगरपालिका वडा नं ६ मंगालका स्थायी वासिन्दा हुन । पुर्कुटीले आफ्नो छोरा सुरेश पुर्कुटी (सार्की) तथा सुर्खे नगरपालिका वडा नं ११ का गोपाल वादीकी छोरी सीता वादीसँग गरि दिने भएका छन् । त्यो पनि प्रेम विवाह नभएर मागी विवाह ।
सानै देखि सुन्दर विद्रोही स्वभावका र एमालेको कम्युनिष्ट राजनीतिमा लागेको हुनाले वर्गीय लगायत जातीय समानता हुनुपर्छ भन्ने सोच तथा माग पहिले देखिनै थियो । कम्युनिष्टहरुले वर्गीय समानताको साथै जातीय समानताको कुरा पनि गर्ने भएको हुँदा यसै भित्र रहेर उनले राजनीति गर्दा गर्दै यो भन्दा अघिको स्थानीय सरकारमा नगरपालिकाको कार्यपालिका सदस्य पनि भएका थिए । दलित आयोगको सदस्य भई सके पछि विभिन्न ठाउँहरुको अनुगमन गर्ने सिलसिलामा वादीहरुको समेत वस्तीभएको सुर्खेत वीरेन्द्र नगर नगरपालिका अन्तर्गत ११ नं वडामा पर्ने झुप्रा खोलामा गएका थिए ।
जाजरकोट तिरवाट धेरै पहिले आएका वादीहरुको करिब १०–१५ घर र बाँकी अन्य जातिहरुको समेत वसोवास रहेको सो क्षेत्रका सवै बासिन्दाहरु सुकुम्वासी हुन ।
ऐलानी जग्गामा बसेको हुँदा राम्रो घर बनाउन सक्ने कुरा भएन । उनीहरु सबको गुजारा भेरी नदिको वालुवा तथा झुप्राखोलाको किनारमा रहेका गिट्टी र बालुवा निकालेर बेच्ने उनीहरुको मुख्य पेशा हो । कोहलपुर सुर्खेत राजमार्गको छेउमै पर्ने वादी वस्तीभएको हुँदा दलित अधिकारकर्मी तथा विकासे संस्थाहरुको बाक्लो भ्रमण हुने गर्दथ्यो, यसै क्रममा वादीहरु गरिब र पीडित छन भन्ने सवैलाई परेको हुँदा त्यहाँका केटाकेटीहरुलाई देशका विभिन्न ठाउँहरुका आवासीय विद्यालयहरुमा स्पोन्सर गरेर विभिन्न संस्था तथा व्यक्तिहरुले पढाई दिएको थिए ।
दलित आयोगका सदस्यको हैसियतले एउट अत्यन्त पछाडी पारिएको दलितवस्तिको अवलोकन भ्रमण गर्ने क्रममा सुन्दर पुर्कुटीको गोपाल वादीसँग भेटघाट भयो । र उनकी छोरी सीतालाई आफ्नो छोराको लागि मन पराएका रहेछन, तर छोराको इच्छा नवुझि त्यसलाई टुंग्याउने कुरा पनि भएन । अतःउनले काठमाडौं आएपछि आफ्नो विवाह उमेर भएको छोरा सुरेशलाई कुरा राखे । छोराले पनि एकपटक केटीलाई भेटेर मात्रै जवाफ दिने बताएपछि उनी पनि झुप्रानै पुगे । विवाहको लागि स्वीकृति दिएपछि उनीहरु विवाहको लगन गाँठोमा गाँसिने भएछन् ।
सुन्दर वुढानिलकण्ठ मंगाल गाउँका रैथाने भएको हुँदा उनका सजातीय दाजु भाई तथा छिमेकीहरु प्नि नहुने कुरा भएन । पहिला त उनको आफ्नै श्रीमतिलाई मनाउनु थियो त्यस पछि दाजुभाई तथा छरछिमेकीहरु ।
विवाह हुने नै भए पछि केटीले पनि केटाको घर आएर परिवारका सदस्यलाई भेट्दा जुन व्यवहार देखाईन त्यसले पुर्कुटी परिवारलाई रिझाएछ । अहिले त सुन्दरकी श्रीमति नै आफ्ना दाजुभाई तथा छिमेकीहरुलाई सम्झाउन अघि सर्दि रहेछन् । अर्थात जातीय वर्गीकरणमा सार्की भन्दा वादीहरु धेरै तल भएता पनि यस खालको स्वीकार्यता सहित विवाह वन्धनमा वाधिनु आफैमा एउटा क्रान्तिकारी कदम हो ।
सुन्दर भन्छन्, म आफै कम्युनिष्ट कार्यकर्ता हुँ, विभेदहरुका विरुद्ध लड्दै आएको हुँ, अहिले त झन म सम्पूर्ण दलितहरुको हकअधिकारका लागि लड्ने संस्थाको सदस्य छु त्यसकारणले गर्दा हामीले कुरा मात्रै होइन काम समेत गरेर देखाउनुपर्छ भन्ने लागेर मैले छोराको एउटी वादी समुदायको कन्यासँग मागी विवाह गर्दिन लागेको हो ।
अहिले पनि दलित र गैरदलितविचको विवाह मात्रै नभई दलित दलितबीचको विवाहमा पनि थुप्रै सामाजिक अड्चन मात्रै छैनन, छोराछोरी जन्मिदा समेत सामाजिक अस्वीकार्यताले गर्दा विवाह नै भत्किने अवस्थामा छन् । यस्तो परिवेशमा पुर्कुटी परिवारले गरेको यो आँटको सर्हाना गर्नै पर्दछ र अन्तर दलितविभेद हटाउन यो विवाह एउटा कोशेढुंगा होस ।
Leave a Reply