काठमाडौं — व्रतबन्धमा दलित भन्दै जातीय विभेद गरेको आरोपमा भतेर घोप्ट्याउने कास्कीका वडा सदस्य रामजी लामिछानेसहित ४ जनालाई पक्राउ गरिएको छ ।
व्रतबन्धमा दलित भन्दै जातीय विभेद गरेको आरोपमा भतेर घोप्ट्याउने कास्कीका वडा सदस्य रामजी लामिछानेसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछानेसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर ज्ञानबहादुर खड्काले बताए ।
चार जनाविरुद्ध पोखराका नारायण परियारले जातीय विभेदको आरोपमा जाहेरी दर्ता गराएका थिए । लामिछाने फरार रहेकोमा आइतबार जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।
लामिछाने र सिता लामिछानेलाई आइतबार नियन्त्रणमा लिएपनि चैत १२ गते नै सन्तोष परियार र सुजन लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो ।
दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने र दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेको भन्दै प्रहरीमा जाहेरी दिएको इन्स्पेक्टर खड्काले बताए । उनीहरूलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ ।
जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कारबाही गरी क्षतिपूर्ति समेत भराउन नारायणले माग गरेका छन् ।
Leave a Reply