कनकासुन्दरी गाउँपालिका–८ का दलित गाउँका ठालु भलाद्मी र युवाहरू एक ठाउँमा भेला भई एकताकाे निम्ती पहल गरे। चुनावमा आफ्नाे बलियाे पकड बनाउन दल भएकाले दल त्यागे र दलका टिकट पाउने सम्भावना भएकाले टिकटकाे आश मारेपछि एउटा वडामा इतिहासमा पहिलाे पटक दलितले आफ्नै बलमा चुनाव जिते।
वडामा दलित समुदायको बाहुल्यता हुँदा पनि राजनीतिक दलले उनीहरूलाई कहिल्यै वडाअध्यक्षकाे उम्मेदवार बनाएनन्। सदस्य पद दिए पनि राजनीतिक सिद्धान्तकाे नाममा फुटाएर राज गरिरहे। जसले न दलितहरूकाे राजनीतिक पहुँच बन्याे, न जीवनस्तर बदलियाे न त उनीहरूमाथी हुने विभेद नै कम हुन सक्याे।
वडाका सबै दलित बस्तीमा पुरानाे पार्टी कांग्रेस, जनताको बहुदलीय जनवादवाला एमाले, समाजवाद चाहने पार्टी नेमकिपा, क्रान्तिकारी पार्टी माओवादी सबैले आफ्नाे बल बुताले भ्याएजति दलित फटाएकै थिए।
कसैले लगिमानीकाे नाममा कयाैं दलितका घरधुरी कब्जा गरे। कसैले सत्ता र शक्तिकाे आडमा आफ्नाे इसारामा नचाए। त्यसैकाे भरमा गैर दलितले भने, ‘यी हाम्रा सांगठनिक किल्ला हुन।’ तर किल्ला बनाउनेहरूले अवसर आउँदा दलितलाई बञ्चित गरेर सिंगाे समुदायकाे बिल्ला गरिरहे। आखिर जति जाेगी आएपनि कानै चिरेका त थिए।
समय परिवर्तनशील छ। संसारमा स्थिर केही पनि छैन भनेजस्तै समयले दलित समुदायमा चेतनाकाे दियाे बाल्दै थियाे। कयाैं पटक अपमान र अवहेलना सहेर शान्त बनेका दलित समुदायमा चेनताले जरा गाडेपछि विद्राेहकाे हुरी चलेकाे थियाे। यतिबेलाकाे स्थानीय तह निर्वाचन अगाडि चलेकाे विद्रोहका हुरीले राजनीतिक बसन्त ल्याएकाे छ।
एकता नै बल भनेजस्तो दलितहरूकाे एकता भयाे। आफूले आदर्श मानेकाे राजनीतिक आस्थालाई भाडमा पठाएर स्वतन्त्र उम्मेदवारी दिएपछि वडाध्यक्षसहित चार पदमा दलका उम्मेदवारलाई हराउन सम्भव भयाे। परिणाम स्वतन्त्र उम्मेदवार धनबहादुर कामीले दूई सय ८८ मत ल्याएर ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मातृकाप्रसाद उपाध्यायले २ सय २० मत मात्रै पाए।
बाहुन हराए पाप लाग्छ। नर्कमा पुगिन्छ भनि विश्वास गर्ने दलित समुदायले पुराना मान्यता भत्काए। आफ्नाे स्वतन्त्रताको जग खने र स्वतन्त्र राजनीतिक आस्थाका लागि न्याय र समानताकाे बलियाे पर्खाल लगाए।
स्वतन्त्रताको कावा खादै दलित समुदायबाट उम्मेदवारी दिएका गोल दमाई र कर्णजीत सार्कीले पनि वडा सदस्य जिते। दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलालले पनि विजयकाे माला पहिरिन्। एक मात्र महिला सदस्य पदमा भने कांग्रेसकी रामुदेवी काफ्लेले जितिन्।
उक्त वडाबाट २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको थियो। तर, त्यो बेला दलित महिला सदस्यबाहेक अरू सबै पदमा गैर दलित समुदायको मात्रै प्रतिनिधित्व भयाे।
त्यसबेला धनबहादुर एमालेका खाइखाना कार्यकर्ता थिए। पार्टी फुटेपछि नेकपा एकीकृत समाजवादीतिर लागेर तर, दलित भएकै कारण जुन पार्टी राेजेर हुनेवाल केही थिएन। जति गर्दा पनि दलित समुदायमा फुटाउ र राज गरकाे नीति लिने भएपछि उनीहरूले स्वतन्त्र उम्मेदवारी दिए।
‘गैर दलित नेता भएकाे पार्टीमा हाम्राे अस्तित्व समेत स्वीकार गरिदैन। दलितकाे कला, सिप र दक्षताका कदर समेत नुहँदा कहिले उभाे लाग्ने स्थिति आएन। त्यही भएर हामी सबैले सल्लाह गरेर स्वतन्त्र उठेकाे हुँ,’ धनबहादुरले भने, ‘उम्मेदवारी दर्ताको अगाडि बारम्बार गाउँ भेला गर्याैं। अनि प्यानल नै बनाएर स्वतन्त्र उठ्याैं।’
वडाभरीमा सञ्जेलबाडा, सुमलगाउँ, कुलालबाडा, रोकायाबाडा, भट्टबाडा, भण्डारीबाडा र पाउँसेरा गरि छ वटा गाउँ छने। ती मध्ये सञ्जेलबाडा, राेकायाबाड, सुमलगाउँ र कुलालबाडामा दलितकाे बाहुल्यता छ। यी सबै गाउँका दुई सय २५ धङ(घरधुरीमा) ६ सय दलित मतदाता छन्।
वडामा रहेका कुल १३ सय मतदातामध्ये छ सय दलित हुँदा सजिलै जितिने हिसाब याे भन्दा अगाडि बारम्बार बिग्रदै आएकाे थियाे। तर यसपालिकाे एकताले खसेका एक हजार ४२ मतमा भने हिसाब मिल्याे र धनबहादुर नेतृत्वमा आउन सके।
‘हामी एकजुट भएपछि याे हिसाब मिल्याे। हजार हण्डर खाएपछि मिल्न बाध्य भयाैं। नत्र त चुनावमा दलित मतदाता किन्न पाइन्छ भन्दै हामीलाई उम्मेदवार बन्नै दिदैनथे। हाम्राे अज्ञानता, गरिबी र अशिक्षालाई भर्याङ बनाएर लाभ लिइरहेका दलहरूलाई हाम्राे शक्ति देखायाैं,’ उनले भने, ‘हामीमा बदला भाव पनि थियाे। आजसम्म दबाएका झाेक पनि चुनाबमै फेर्ने माैका मिल्याे। हामी मिलेपछि अरूले टिल्न पाउन्या रहेनछन् भन्ने ठूलाे शिक्षा मिल्याे।’
उसाे त दलितहरूका लागि अहिले पनि गैर दलितकाे दैलाे खुला छैन। सहभाेज, सँगै खानपान, वैवाहिक सम्बन्ध त परकाे कुरा हाे। कथित तल्लाे जात र तथाकथित माथिल्लाे जातका पानी भर्ने धारा त अलग छन् नै मरेपछि पाेल्ने घाट पनि अलगअलग छन्।
पुराना पुस्ताहरूका काेही पनि परिवर्तन हुन सकेका छैनन्। नयाँ पुस्ताकाहरू दलितका घर बसेर खाना खान त केही मान्दैनन् तर आफ्ना घरमा लान मान्दैनन्। जात व्यवस्थाकाे बेलुनमा अन्यायमाकाे हावा भरिदै गइरहेकाे बेला दलित समुदायले ठूलाे प्रेसर दिएपछि बिस्फोट भयाे। परिणाम बिना रक्तपात वडाकाे सत्ता दलितहरूले हत्याउन सफल भए।
दलबाट दलित वडाध्यक्षकाे जित कसरी भयाे?
दलितहरूले कनकासुन्दरी–८ मा सिंगाे प्यानल नै वडामा जित्न सलफ भएजस्ताे कुनै पनि दलले एउटा वडामा आजसम्म दलित प्यानलै उठाएका छैनन् र उठाउने पनि छैनन्। जुम्लाकाे धेरैजसाे पालिकाकाे उपप्रमुख र वडाध्यक्षमा दलित उठाए पनि जित्न भने मुस्किल भयाे।
चन्दननाथ नगरपालिका र हिमा गाउँपालिकाका उपप्रमुखका दलित उम्मेदवारहरूलाई हराउन फुटकाे राजनीति गर्न सकेकै कारण सम्भव भयो भने कतिपय वडामा दलितलाई गैर दलितले नमस्कार गर्नुपर्छ भनेर नै हराइदिए।
सिंजा गाउँपालिका–५ मा चार सदस्य माओवादीले जित्दा वडाअध्यक्षका उम्मेदवार माेती दमाइले हार्नुपर्यो। त्यहाँका कथित उपल्लो जातकालाई माेती दमाईले, ‘मेरा बाेब, बाजेले तिमीहरूका टाला(कपडा) सिलाए, मैले पनि सिलाउँदै आएकाे छु। जिजु बाजेका पालाबाटै तिमीहरूकन हामीले नमस्कार गरेका छाैं। भाेली मैले जितेपनि म आफै तिमीकन नमस्कार गरूला’ भनेर खुला रूपमा बिन्ती गरेका थिए। र पनि उनलाई गैर दलित समुदायले ‘डुमकन नमस्कार गर्न सकिदैन’ भनेर भाेट दिएन।
साेही गाउँपालिकाकाे वडा नम्बर दुईमा भने तिर्थ वडले चुनाव जिते। माओवादीकाे संगठन राम्राे मानिएकाे दुई नम्बरमा उनले टिकट पाउन मुस्किल थियाे। तर दलितहरू एक भएकै कारण पार्टीकाे गाउँपालिका अध्यक्ष दिकदर्शन जैशी उर्फ भिस्म कमरेडसँग आन्तरिक प्रतिस्पर्धा गरेर उनले टिकट लिए।
साविकको धापा गाविसकाे छ, सात, आठ र नाैका गाउँहरू घाेडेङ्ङा, विष्टबाडा, रनुखाना र चुलेलगाउँका दलितहरू एक नभएकाे भए चुनाव जित्न मुस्किल हुने वडाध्यक्ष वडले बताए।
‘अहिले पनि गैर दलित समुदायकाे पुरानाे मानसिकता परिवर्तन हुन सकेकाे छैन। आफ्नै पार्टीको भए पनि दलितलाई चुनावमा जिताउन तयार भएकाे देखिदैन,’ उनले भने, ‘हाम्राे वडाका चारवटै गाउँमा दलित बस्तीको सहयोग नपाएकाे भए हामीलाई चुनाव जित्न मुस्किल हुने थियाे।’
जुम्लाका आठवटा पालिकाका साठी वडामध्ये एउटा कनकासुन्दरी–८, सिंजा–२ र तिला–४ मा गरि तीनवटा वडामा दलितले चुनाव जितेका छन्।
तिला–४ मा नेकपा एमालेका भद्रविर सार्कीले विजयी भए। वडाकाे साँपूल्ली र नुवाकोटका बाख्ला दलित बस्ती एक भएकै कारण चुनाव जित्न सम्भव भएकाे उनले बताए।
‘हाम्राे गाउँपालिकाकाे वडा नम्बर दुई, तीन र आठमा माओवादीबाट आइते नेपाली, बिर्ख नेपाली र धन बहादुर नेपालीले वडाअध्यक्षकाे उम्मेदवारी दिनुभएको थियाे,’ उनले भने, ‘दलितहरू एक हुन नसक्नु र कतिपय वडामा दलित मतदाता संख्या कम हुन र राजनीतिक पार्टीले विभिन्न खालका चलखेल गरि दलित समुदायलाई विभाजित बनाएकै कारण उहाँहरूले जित्न सक्नु भएन।’
Leave a Reply