ज्ञान निर्माण गर्ने विश्वविद्यालयले दलित र सीमान्तकृतमाथि दमन

दलित अनलाईन २५ जेष्ठ २०७९, बुधबार १२:२१

काठमाडौँ — जात व्यवस्थाले जकडिएको नेपाली समाज जस्तो छ, त्यस्तै छन् विश्वविद्यालयहरू । सामाजिक संरचनाको पीँधमा रहेका दलित र सीमान्तकृत जाति समुदायको जीवन समाजमा ज्ञान निर्माण गर्ने विश्वविद्यालयले देख्दैनन् ।

विश्वविद्यालयको अध्ययन, अनुसन्धान र अध्यापनको क्षेत्रमा ती विषय पर्दैनन् । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय भवनमा मंगलबार भएको ‘नेपालमा दलितको आत्मसम्मान र समताको राजनीति’ विषयक अन्तर्राष्ट्रिय विमर्शमा सहभागी प्राध्यापक र अधिकारकर्मीहरूले विश्वविद्यालयमा दलित र सीमान्तकृत समुदायको जीवनबारे अध्ययन, अनुसन्धान र अध्यापन हुन नसकेको बताए ।

राज्यले जस्तै समाजमा ज्ञान निर्माण गर्ने विश्वविद्यालयले दलित र सीमान्तकृतमाथि दमन गरिरहेको उनीहरूको निष्कर्ष छ ।

अमेरिकाको युनिभर्सिटी अफ हवाइ एट मानोवाकी सहप्राध्यापक आन्ना स्टरले दलितको जीवन नै दलित ज्ञान भएको बताइन् । ‘जो व्यक्ति जन्मिए लगत्तैदेखि दलितको जीवन बाँच्न बाध्य छ । उसले भोगेको सम्पूर्ण जीवन, अनुभव र परिस्थिति जुन छ, त्यो नै दलित ज्ञान हो,’ उनले भनिन्, ‘वास्तवको दलित ज्ञान राज्यबाट बञ्चित गराइएको संघर्षको ज्ञान हो । त्यसले समाजको ज्ञान निर्माणमा हिस्सा पाउनुपर्छ ।’ तर, नेपालका विश्वविद्यालय भने त्यस्तो ज्ञानले स्थान नपाएको बताउँछन्, त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक युवराज लुईटेल ।

‘नेपालका विश्वविद्यालयहरूमा जातको प्रश्नहरूबारे त्यति धेरै चर्चा हुन सकेको छैन । दलित ज्ञान निर्माण र जातको प्रश्नहरूमाथि हाम्रो विश्वविद्यालयले काम नै गरेका छैनन् भनेपनि हुन्छ,’ प्राध्यापक लुइटेलले भने ‘त्रिभुवन विश्वविद्यालयको हकमा म समाजशास्त्र विभागको विभागीय प्रमुख नै हुँ, जति हुनुपर्ने हो, त्यति हुन नसकेको सत्य हो ।’

उनले त्रिभुवन विश्वविद्यालयले दलित ज्ञान निर्माणको क्षेत्रलाई अहिलेसम्म पनि त्यति धेरै महत्व नदिएको बताए । ‘स्नातक तहका पाठ्यक्रममा केही विषय समेटिएको पाउँछु, नभए खासै भेटिदैन,’ उनले भने, ‘केही हदसम्म व्यक्तिगत महत्त्व दिएर गर्ने कुरा एउटा हो । तर, दलित ज्ञान निर्माणको समग्र विषय विश्वविद्यालयको नजरमा परेको छैन ।’ उनले विश्वविद्यालयलाई पनि परम्परागत समाज र संस्कारले प्रभावमा राखेको बताए ।

सहप्राध्यापक स्टरले भने दलित समुदायको ज्ञानलाई जोगाउनुपर्ने बताइन् । ‘दलितले मान्ने संस्कार संस्कृति र दलितले गर्ने हरेक गतिविधि दलित ज्ञान हो । यदि म दलित समुदायको व्यक्ति हुँ भने मैले जानेको सबै कुरा दलित ज्ञान हो,’ उनले भनिन्, ‘त्यस्तो ज्ञान हामीले जोगाएर राख्न सक्नुपर्छ ।’

भारतको अजिम प्रेमजी विश्वविद्यालयकी सहायक प्राध्यापक के कल्यानीले अब दलित ज्ञानलाई कसैले पनि बेवास्ता गर्न नसक्ने बताइन् । उनी आफैँ भारतको सीमान्तृकत चमार समुदायकी हुन् । ‘ज्ञान कसले निर्माण गर्छ ? र त्यहाँ दलित ज्ञान किन समावेस हुँदैन ? भन्ने मूल हो,’ उनले भनिन्, ‘अहिले दलित ज्ञान भन्नेबित्तिकै दलित समुदायमाथि हुने हिंसा मात्रै हो कि ? भन्ने आभाष हुन्छ । तर, हामीले दलित समुदायको भाषा, संस्कृति, रितिरिवाज र जीवनशैलीलाई दलित ज्ञानमा समेट्न सक्नुपर्छ ।’ उनले अहिलेसम्म दलित ज्ञानबारे भइरहेको व्याख्याहरूलाई समेत पुनर्विचार गरेर अघि बढ्नुपर्ने धारणा राखिन् ।

भारतकै ओपी जिन्डल ग्लोबल ल स्कुलका सहायक प्राध्यापक अनुराग भाष्करले दलित ज्ञान निर्माणमा ऐतिहासिक रुपमा भएका भुलहरुलाई समेत सच्याउन जानुपर्ने बताए । ‘ज्ञान निर्माणमा समेत भेदभावको संरचना जुन छ, त्यसमाथि प्रश्न गर्नुपर्ने अवस्था छ । दलित र सीमान्तकृत वर्गमाथि जहिल्यै जताबाट पनि घाँटी निमोट्ने प्रयत्न भइरहेको हुन्छ,’ उनले भने, ‘नेपाल र भारतमा मात्रै होइन, यो संसारभरि नै छ । यो दलित समुदायको मात्रै होइन, समग्र मानव अधिकारको प्रश्न हो ।’

उनले भारतमा अहिले संवैधानिक रुपमा जात व्यवस्था हटाइए पनि व्यवहारमा भने कायम रहेको बताए । ‘भारतमा पनि नेपालकैजस्तै अवस्था छ । भारतमा संवैधानिक रुपमा जातीय व्यवस्था छैन । तर, जात व्यवस्थाले जुन संरचना खडा गरेको छ, त्यो अभ्यासमा छ,’ उनले भने, ‘समाजमा होइन, जेलमा समेत जात व्यवस्थाको प्रभाव छ, जेलमा पनि ब्राहृमण समुदायको व्यक्ति मात्रै भान्से हुने, र अरु जातिले त्यसबाहेकका काममात्रै गर्न पाउने अभ्यास छ ।’

अधिवक्ता शैलेन्द्र अम्बेडकरले नेपाली समाजमा जात व्यवस्थाले दलितलाई सबैभन्दा पीँधमा राखेको र त्यसैको प्रभाव ज्ञान निर्माणमा परिरहेको बताए । उनले संविधान र कानुनले जातीय भेदभावलाई निषेध र दण्डनीय बनाएपनि कानुनको आधारमा न्याय गर्ने अदालतमा समेत जातको आधारमा व्यवहार हुने गरेको अनुभव सुनाए । ‘म एउटा कानुन व्यवसायी हुँ । मैले अरुको न्यायको लागि वकालत गर्ने काम गरिरहेको हुन्छु । तर, हाम्रो न्यायालय यस्ता छन् कि न्यायधीशले जात सोधेर धारणा बनाउँछन् । म स्वयंले न्यायालयभित्र त्यो अनुभूति गरेको छु,’ उनले भने ।

अधिवक्ता अम्बेडकरले समाजले अहिले पनि दलितलाई सम्मान नदिने गरेको र त्यसको निरन्तरताको लागि राज्यले नै भूमिका खेलिरहेको बताए । ‘राजधानीमै दलितले कोठा पाउँदैन । दलितले स्वतन्त्ररुपमा प्रेम गर्न पाउँदैन, विहे गर्न पाउँदैन । दलित भएकै कारण कति बेला ज्यान जाने हो ? कुनै ठेगान छैन,’ उनले भने, ‘दलितको आत्मसम्मानलाई अब हामीले ज्ञान निर्माणमा समावेश गर्न सक्नुपर्छ ।’

पत्रकार सुष्मा बरालीले दलित ज्ञानलाई प्राज्ञिक क्षेत्रले बहिष्कार गरेको बताइन् । ‘दलित ज्ञान समग्र ज्ञान निर्माणको क्षेत्रभित्र समेटिएको छैन । यसलाई विद्यालयदेखि विश्वविद्यालयका पाठ्यक्रमसम्म बहिष्कार गर्ने काम भएको छ,’ उनले भनिन्, ‘दलित समुदायको आत्मसम्मानलाई उचो गर्ने गरी कुनै पनि ज्ञान निर्माण र प्रसार भएको छैन ।’ उनले ज्ञान निर्माणको चरणमा दलितलाई सधैँ पीँधमा राखेर प्रस्तुत गर्ने गरिएको बताइन् ।

कार्यक्रम त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग, द न्यू स्कुल, न्युयोर्क तथा इन्डियन इन्स्टिच्युट अफ दलित स्टडिजसँगको सहकार्यमा सामाजिक न्यायका लागि दर्नाल पुरस्कारले गरेको हो ।

सामाजिक न्यायका लागि दर्नाल पुरस्कारकी संस्थापक एवम् लेखक सरिता परियारले यसवर्ष कला र मानविकीलाई केन्द्रमा राखेर दलित जीवनका माया, ज्ञान, विवेक र प्रतिरोधजस्ता बहुआयमिक पक्षलाई उजागर गर्ने प्रयास गरिरहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank