‘सुरुमा दलितका नेता, पछि दलका प्रयोगकर्ता’

प्रेम सुनार २१ जेष्ठ २०७९, शनिबार २१:०१

गुल्मी —  नेपालको दलित आन्दोलनको अवस्था क्रमिक रुपमा कमजोर हुँदै जानु वा पुराउनुमा यो देशका राजनैतिक दलहरुकै हात रहेको सरोकारवालाहरुले निश्ष्कर्ष निकालेका छन् ।

शनिवार‘ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस’को अवसरमा गुल्मीको सदरमुकाम तम्घासमा नेपाल राष्ट्रिय दलित पत्रकार संघले आयोजना गरेको विशेष सम्वाद तथा अन्तरकृया कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो न निश्ष्कर्ष निकालेका हुन् । ‘आफुहरुले भोग्दै आएको चरम जातीय विभेदविरुद्ध आन्दोलनमा उत्रिएका दलित समुदाय मध्येका अगुवाहरुलाई विभिन्न राजनैतिक दलहरुले नेताका रुपमा उक्साएर भोट तान्ने प्रयोगकर्ता बनाउँछन् । अनि स्वयम त्यो दलितको नेताले पनि विस्तारै आफ्नो समुदायको मुद्धा र परिचय नै बिर्सन्छ र आफ्नो नयाँ परिचय कुनै राजनैतिक दलसँग जोडेर बनाउँछ’– कार्यक्रममा उपप्रध्यापक तथा मानवअधिकारकर्मी गुणानिधि शर्माले भने–‘ अनि कसरी दलित आन्दोलन अगाडी बढ्न सक्छ ? ’ उनै दलित नेताहरुसँग उनले फेरि अर्को प्रतिप्रश्न गरे–‘ तपाईहरुको आईडेन्टिटी के हो ? दलित समुदायको नेताको हो कि ? कुनै राजनैतिक दलको ? मलाई लाग्छ यहाँ उपस्थित अधिकांश कुनै न कुनै राजनैतिक दलसँग जोडिनु भएको छ र आफ्नो परिचय आ–आफ्नो राजनैतिक दलसँग जोडेर दिन चाहनु हुन्छ । यहि कारण हो दलितका मुद्धा ओझेलमा पर्नु तर दलका मुद्धा मात्रै चर्चामा आउनु । ’ उनले दलित आन्दोलनले जन्माएका नेताहरु नै राजनैतिक दलका प्रयोगकर्ता हुन पुगेकोले नेपालको दलित आन्दोलन सुस्ताउन पुगेको आफ्नो निश्ष्कर्ष दोहराए ।

उनले ती वर्ग समुदायले जन्माएका नेताहरुले अब दलको होईन, आफ्नै वर्ग समुदायको समस्यालाई प्रमु्ख मुद्धाका रुपमा उठाउन गर्न सके मात्र दलित आन्दोलनले सार्थकता पाउने सुझाव दिए ।

अर्का उपप्रध्यापक तथा नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेले अधिकारकर्मीहररुको जिल्ला संयन्त्र स्थानीय तहसँगै विभाजितहुँदा पनि दलित आन्दोलन लगायतका सामाजिक मुद्धाहरु विभाजित र अघोषित रुपमा दमित हुन पुगेको आफ्नो विश्लेषण सुनाए । ‘ हिजो हामी सबैलाई थाह छ , दलित लगायत लक्षित वर्ग उत्थानका लागि साविकको जिल्ला विकास समिति र गाविसहरुमा के-कति रकम छुट्टिन्थ्यो भन्ने कुरा ।

सायद अहिले पनि स्थानीय तहले लक्षित वर्गका लागि भनेर रकम छुट्टाउँछन होला तर त्यो रकम त्यो वर्गको उत्थानका लागि प्रभावकारी बनाउनु भन्दा आफु आबद्ध दललाई बलियो बनाउने गरि खर्च हुँदै आएको पाईएकोछ’– पाण्डेले प्रतिप्रश्न गदै भने –‘खै त्यस्ता कुराहरुमा निगरानी र खबरदारी गर्ने निकाय ?’ उनले जिल्लाका सबै क्षेत्रका अधिकारकर्मी सहितको साझा संस्था गठन गरि ‘गाउँ गाउँमा सिंहदरवार’ भनिएको नारालाई लक्षित वर्ग समुदाय सम्म पुराउनु पर्नेमा जोड दिए । उनले स्थानीय तहका जनप्रतिनिधिहरुलाई कडा प्रश्न गर्दै भने–‘ के चिल्ला गाडी गुडाउन पाउनु नै गाउँ गाउँमा सिंहदरवार हो र ? अनि मोटरबाटो खन्नु र मठ मन्दिर बनाउनु मात्रै विकास हो र ? खै मानव विकास सुचाङक हे रे को ? अहिले पनि कहाँ छ हाम्रो समाज ? त्यस तर्फ ध्यान जानु पर्दैन ?

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज गुल्मीका सभापति ढुण्डिराज पोखरेलले शिक्षा र जनचेतनाको अभावमा जातिय विभेद तथा छुवाछुत प्रथाको अन्त्य हुन नसकेको भनिए पनि समाजका संम्भ्रान्त वर्ग बाधक बनेको चिन्ता व्यक्त गर्दै त्यो वर्गलााई पनि मानसिक रुपमा तयार पारेर अगाढी बढ्नु पर्ने सुझाव दिए ।

त्यस्तै दलित साझा मञ्च गुल्मीका उपाध्यक्ष रोम विश्वकर्माले शोषित पीडित वर्ग समुदायको प्रतिविम्व मुखारित गर्दै आजको पुस्ताले विभेदलाई स्वीकार गरेर नबस्ने बताउँदै जातीय विभेद तथा छुवाछुत मुक्त मुलक व्यवहारतः कार्यन्वयनमा नआए आन्दोलनको ज्वाराभाटमा जस्तो सुकै मुल्य चुकाउन पनि तयार हुने चेतावानी दिए ।

विश्वकर्माले राज्यलाई यस्तो चुनौती दिईरहँदा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी माधवराज खरेलले त्यस्तो हिँसा भड्काउने खालको अभिव्यक्ति नदिन सुझाव दिए । उनले संविधान र कानुन भित्र रहेर आफ्नो अधिकार खोज्न अनुरोध गर्दै भने–‘ हामी प्रहरी–प्रशासनमा आएका जतिय विभेद संग जोडिएका मुद्धामा कुनै कम्जोरी हुन दिएका छैनौं र आगमी दिनमा पनि दिने गम्भीर हुने नै छौं । तर खै के कारणले हो , गत तीन वर्ष यता जिल्ला प्रहरी कार्यालयमा जतिय विभेद संवन्धि मुद्धा एउटा पनि प्रहरीमा आएका छैनन ।’ 

त्यस्तै दलित महिला संघकी अध्यक्ष कमला बरालले केही सञ्चारमाध्यमा पछिलो एकदशकमा प्रेम विवाह र छुवाछुत विभेद गरेका कारण ४४ जनाको निर्मम हत्या गरिएको उल्लेख गर्दै, त्यो त केवल सतहमा आएको कुरा मात्रै भएको तर त्यो भन्दा थुप्रै दलितहरुले ज्यान गुमाएको र गाउँबाटै विस्थापित भएको बताईन ।

कार्यक्रमा गुल्मीका सम्पुर्ण राजनैतिक दलहरुको तर्फबाट बोल्दै नेकपा एमालेका उपसचिव धर्म विश्वकर्माले संवैधानिक र कानुनी रुपले अधिकार प्राप्त गरे पनि व्यवहारिक कार्यन्वयनका सन्दर्भ देखिएको बताउँदै व्यवहारिक कार्यन्वयनका लागि राजनैतिक दलहरुबाट पनि कमजोरी भएको रहेको स्वीकार गरे ।
कार्यक्रमका प्रमुख अतिथि दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्माले अधिकारकर्मी वक्ताहरुले भने झैं दलित नेताहरु दलित आन्दोलनको मुद्धा उठान गर्नु भन्दा पनि आ–आफ्नै राजनैतिक दलका झण्डा पछाडी लाग्नाले दलित आन्दोलन पछाडी परेको गुनासो सुनाए । ‘हामी गतिविधि विनाका नेता भयौं, गतिविधि गरिन्छ र पो नेता भईन्छ अनि दलितको मुद्धा उठान हुन्छ विश्वकर्माले गतिविधि गर्न नसकेको आफै स्वीकार्दै भने–‘अब गतिविधी उठान गर्ने तर्फ लागौ ताकि उतिखेरै तात्ने र उतिखेरै सेलाउने सिल्टी जस्तै नबनौ ।’ 

कार्यक्रममा नेपाली कांग्रेस निकट दलित संघका जिल्ला प्रतिनिधि टिका विश्वकर्मा , नेकपा एमालेनिकट उत्पीडित जातीय मुक्ती समाजका उपाध्यक्ष दिपक वराल , माओवादी केन्द्र निकट राष्ट्रिय दलित मुक्ती मोर्चाकी सिता विक, परियार सेवा समाजका अध्यक्ष लक्ष्मण परियार लगायतले दलित समुदायले भोग्नु परेका समस्या सुनाउँदै समधान हुन नसकेको गुनासो सुनाएका थिए । ‘विभेदलाई जरै देखि मन मस्तिष्क र व्यवहारबाटै अन्त्य गरौं, समतामुलक र विभेद रहित समाज निर्माणमा सबै जुटौं ’–भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष रमेश विश्वकर्माको अध्यक्षता र सचिव मनु सुनार मनसुनको सञ्चालन रहेको थियो ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank