काठमाडौं— यस वर्षको ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ (डिएएसजे) नेपालको समुदायमा आधारित कलासँग सम्बन्धित संस्था कर्णाली आर्टस् सेन्टर (केएसी) तथा संयुक्त राज्य अमेरिकामा रहेको दलित नागरिक अधिकारवादी संस्था इक्वेलिटी लायब्स (इएल)लाई प्रदान गरिने भएको छ ।
सामाजिक न्यायका लागि दर्नाल पुरस्कार (डिएएसजे) सामाजिक न्यायका अगुवा सुभाष दर्नालको छोटो तर विशिष्ट जीवनबाट प्रेरित भएर स्थापित गरिएको द्विवार्षिक अन्तर्राष्ट्रिय पुरस्कार हो, जसले जातीय विभेद र अपमान अन्त्य गर्ने कामको अगुवाइ गर्ने ४० वर्षमुनिका युवा अगुवासँगै संगठन र आन्दोलनलाई सम्मान गर्छ । यसले पाँच लाख रूपैयाँको पुरस्कार प्रदान गर्छ, जुन प्रत्येक दुई वर्षमा सुभाष दर्नालको जन्मदिन जून ८ तारिखमा प्रदान गरिन्छ । यो प्रदान गरिने पुरस्कृत दुई संस्थाको छोटो जानकारी छ ।
पुरस्कृत दुई संस्था
कर्णाली आर्टस् सेन्टर
कर्णाली आर्टस् सेन्टर (केएसी) सांस्कृतिक रूपमा समृद्ध कर्णाली प्रदेशको सुदूर जिल्ला मुगुमा अवस्थित छ । कर्णाली नेपालमा सबैभन्दा बढी दलित जनसंख्या र घरधुरी भएको प्रदेश हो । मुगु जातीय अन्यायले ग्रस्त जिल्लासमेत हो । कलाकार तथा लेखक हीरा बिजुली नेपालीले नाटक र कलाको सशक्त माध्यमबाट सामाजिक न्यायको अभियानमा योगदान पु¥याउने सपना बोकेर सन् २०१२ मा यस सेन्टरको स्थापना गर्नुभएको हो । यस सेन्टरले विगतका वर्षमा जातीय विभेदविरोधी सडक नाटकहरू सयौँ पटक प्रदर्शन गरिसकेको छ । सेन्टरले विभिन्न अभियानमार्फत यस क्षेत्रको सांस्कृतिक सम्पदाको दस्तावेजीकरण, अभिलेखन, र उत्सव मनाउनुका साथै यस संस्कृतिबारे गम्भीर प्रश्न पनि उठाउँदै आएको छ ।
‘कर्णालीका धेरै स्थानीय कला विधा दलित समुदायमा जरा गाडेर बसेका छन्, तर पनि ती कलाकृतिले उनीहरूलाई कहिल्यै सम्मान, आम्दानी वा अवसर दिन सकेनन्,’ हिरा बिजुली भन्छन्, ‘इतिहासको अधिकांश भागमा राजा र सामन्ती शासकहरू एव उत्पीडकहरूको गुणगान गाउन यी कला–संस्कृतिलाई माध्यमको रूपमा प्रयोग गरिन्थ्यो ।
हामीले यी कला–संस्कृतिलाई संरक्षणमात्रै गर्ने होइन, यसलाई आलोचनात्मक ढंगले प्रश्न गर्दै, अनुसन्धान गर्दै, कला–संस्कृतिमार्फत दलितहरूको आत्मसम्मानको पुनःदाबी गर्न थाल्यौं ।’ यस सेन्टरले आफ्ना कला–कर्मको माध्यमबाट जात र लैंगिकतासँग जोडिएका भेदभाव, गरिबी र प्रवासन (माइग्रेसन) सम्बन्धी मुद्दा सार्वजनिक गर्छ । यो सेन्टर दलितद्वारा थालिएको र दलितकै नेतृत्व रहेको संस्थाको रुपमा क्रियाशील छ । ठूल्ठूला चुनौती हुँदाहुँदै पनि यो सेन्टरले काठमाडौँको शक्ति–केन्द्रभन्दा बाहिर रहेर पनि कला-संस्कृतिको क्षेत्रमा के गर्न सम्भव छ भन्ने महत्वपूर्ण उदाहरण स्थापित गरेको छ ।
दलित र गैर–दलितबीच विभाजन निकै कठोर र व्यापक रहेको क्षेत्रमा कला–कर्म गर्न यो सेन्टर दृढ संकल्पका साथ क्रियाशील छ । भुइँतहको समुदायसँग जोडिएर क्रियाशील रहेको यस सेन्टरले समयसँगै कलाकार, विद्यार्थी र दर्शकका धारणा फेर्दै आएको छ ।
इक्वेलिटी लायब्स
इक्वेलिटी लायब्स (इएल) जातीय रङ्गभेद (अपार्थाइड), लिङ्गमा आधारित हिंसा, इस्लामोफोबिया, श्वेत श्रेष्ठतावाद र धार्मिक असहिष्णुता अन्त्य गर्न सन् २०१५ मा अमेरिकामा स्थापना भएको दलित नागरिक अधिकार संस्था हो । यसले सामुदायिक संगठन, कलाकारिता, अनुसन्धान, प्रशिक्षण, र डिजिटल सुरक्षासहित धेरै रणनीतिमार्फत शक्ति निर्माण गर्छ ।
सुरुका केही वर्षमा लायब्सले संयुक्त राज्य अमेरिकामा जातबारे एक महत्वपूर्ण सर्वेक्षण सञ्चालन गरेको थियो । त्यस सर्वेक्षणले के कुरा निश्चित रूपमा स्थापित ग¥यो भने जात दक्षिण एसियाली डायस्पोरामा पनि विद्यमान छ । त्यसपछि धेरै जातीय समताका मुद्दा जित्नेगरी भएका अभियानमा यस सर्वेक्षणका निचोड प्रयोग गरिएका छन् ।
यसले आफ्नो वकालत गर्ने उद्यममा एक अन्तर–जातीय, बहु–जातीय र अन्तरविश्वास गठबन्धनलाई उत्प्रेरित गरेको छ, जसले गर्दा क्यालिफोर्निया डेमोक्रेटिक पार्टी, अल्फाबेट वर्कर्स युनियन र क्यालिफोर्निया राज्य विश्वविद्यालय प्रणालीका २३ क्याम्पसलगायतका दशौं संस्थामा जातीय संरक्षणको प्रावधान थपिएको छ । यसबाट लगभग पाँच लाख विद्यार्थीसँगै विभिन्न संकाय र कर्मचारी गरी ५६ हजार मानिस प्रभावित हुन्छन् । एक डायस्पोरा संगठनको रूपमा लायब्सले ज्ञान उत्पादन र राजनीतिक विश्लेषणका कार्यक्रमको अगुवाइ गर्छ । यसका अगुवाहरू भारतीय उपमहाद्वीपमा भुइँतहका अभियानसँगै अमेरिकाका काला र आदिवासी मुक्ति आन्दोलनबाट आउनुभएको छ ।
आफ्नो विशिष्ट स्थानका साथ लायब्स जातीय समताका अभियान सिर्जना गर्ने नयाँ रणनीति बनाउन सक्षम छ, जसले जातबारे संवादलाई अन्तर्राष्ट्रिय र विश्वव्यापी बनाउँछ, जसले ब्राह्मणवादी केन्द्रहरूबाट भाष्य (न्यारेटिभ) लाई नियन्त्रण हुन नदिईकन उपमहाद्वीपमा प्रणालीहरूलाई जवाफदेही बनाउन सघाउँछ । दलित नारीवादी नेतृत्वका साथ लायब्स जात र लिङ्गको अन्तरसम्बन्ध (इन्टरसेक्सनालिटी) मा आधारित संगठनको छुट्टै ढाँचामा काम गर्छ । यसले जातीय समताका अतिरिक्त यसले आफ्नो राजनीतिक मञ्चको भागको रूपमा मानसिक स्वास्थ्यका मुद्दा र रूपान्तरणकारी न्यायिक अभ्यास पनि समावेश गर्छ ।
Leave a Reply