जुम्ला— स्थानीय तहको निर्वाचनमा दलीय राजनीतिलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिँदै आएका छन् । यही क्रममा जुम्लाको कनकासुन्दरी गाउँपालिका– ८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको हो ।
दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रूपमा धनबहादुरलाई अघि सारेका थिए । उनीहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए । उनीहरूले निर्वाचन अधिकृतको कार्यालयदेखि वडा नम्बर ८ सम्म बाजागाजा र नाराजुलुससहित विजय र्याली निकालेका छन् ।
संघीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्वविना वडामा समृद्धि हुन नसक्ने भन्दै उनीहरूले दलको टिकट लिएनन् । धनबहादुर २८८ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भए । वडासदस्यमा गोल दमाईं र कर्णजित सार्कीले जितेका हुन् । महिला सदस्यमा कांग्रेसकी रामुदेवी काफ्लेले जितिन् ।
दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय भइन् । कनकासुन्दरी ८ मा वडाध्यक्षसहित चारजना स्वतन्त्र उम्मेदवार जितेका हुन् । एकजना महिला सदस्य मात्र कांग्रेसबाट विजय भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ । अहिले उनीहरू दलितबस्तीमा खुसियाली मनाइरहेका छन् ।
Leave a Reply