१. पृष्ठभूमि
भगत सर्वजित विश्वकर्मालाई नेपाली दलित आन्दोलनका संस्थापक नेता मानिन्छ । बागलुङ गैरागाउँका भगत सर्वजित र उनका मित्र लक्ष्मीनारायण विश्वकर्माले १९९७ सालमा ‘विश्व सर्वजन संघ’ गठन गरी आधुनिक नेपाली दलित मुक्ति आन्दोलनको सुरुवात गरेका थिए । यस संघले ‘घोषणा अभ्यास’ शीर्षकको पर्चा प्रकाशन गरेको थियो । धर्मशास्त्रका आधारमा उत्पीडित समुदायलाई अछूतको व्यवहार गर्न नमिल्ने, यो समुदायले जनै धारण गर्न र शिक्षा आर्जन गर्न पाउनुपर्ने माग गरेको थियो । यही संस्थाको अगुवाइमा दलित समुदायका निम्ति पहिलोपटक बागलुङमा विद्यालयसमेत खोलिएको थियो ।
२. संस्थापनकाल
दलित समुदायविरुद्ध भइरहेका अत्याचारको प्रतिरोध भने उनले १९७९-८० सालतिर गरेको पाइन्छ । यसले के देखाँउछ भने दलित समुदायको प्रतिरोधको इतिहास १०० वर्ष पुरानो हो । भगत सर्वजित विश्वकर्माको जन्म बागलुङको तत्कालीन मूलपानी गाउँ विकास समितिमा पर्ने गैरा गाउँमा १९५० सालमा भएको थियो भने मृत्यु भारत प्रवासमा रहँदा २०१२ सालतिर भएको मानिन्छ । सानै उमेरदेखि विद्रोही स्वाभावका भगत सर्वजित अत्यन्त अध्ययनशील र तार्किक हुनुहुन्थ्यो । सर्वजितले हिन्दू धर्मको सबै ग्रन्थको अध्ययनपछि आफ्नो नामअगाडि ‘भगत’ र पछाडि ‘बृञ्ची’ लेख्न थाल्नुभएको थियो । प्राप्त ऐतिहासिक दस्तावेजमा उहाँको नाम भगत सर्वजित बृञ्ची लेखिएको पाइन्छ । उहाँ २० वर्षको लक्का जवान उमेरमा घर त्यागेर हिँड्नुभयो । घरपरिवार, इष्टमित्र, आफन्त, साथीभाइ र गाउँ–समाजले अनुमान गरे– पक्कै लाहुर (भारत) गयो होला कमाइ गर्न । सर्वजितल वाराणसी पुगेर साधु–सन्तहरूको सेवा र संगत गर्दै अक्षरारम्भ गर्नुभयो । साधु–सन्तहरूको संगतबाट उहाँ हिन्दू धर्मका वेद, उपनिषद, पुराण, मनुस्मृति, रामायण, महाभारतजस्ता ग्रन्थको अध्ययन गरी त्यसको व्याख्या र शास्त्रार्थ गर्न सक्ने हुनुभयो । साथै उहाँले भारतको स्वतन्त्रता संग्राम र त्यसका नायकहरूका बारेमा पनि गहिरो अध्ययन गर्नुभयो ।
लगभग १० वर्षपछि १९७९÷८० तिर उहाँ नेपाल फर्की उहाँले गाउँ– समाजका दलितहरूमा छुवाछूत–भेदभावविरुद्ध चेतना भर्ने अनि पण्डित–पुरोहितहरूसँग धर्मकर्म, वर्ण–व्यवस्था र यसले सिर्जना गरेको छुवाछूत–भेदभावविरुद्ध शास्त्रार्थ र बहस गर्नु उहाँको दिनचर्या बन्यो । गाउँ–समाज र आसपासका कुनै पनि पण्डित उहाँका सामु टिक्न नसक्ने भए । एउटै ब्रह्माबाट जन्मेका सन्तान कोही छुत, कोही अछूत हुँदैन भन्ने उहाँको तर्क थियो । कुन धर्मशास्त्रमा लेखेको छ, हामी अछुत हौं भनेर? प्रतिप्रश्न गर्नुहुन्थ्यो । कामी, दमाईं, सार्की, गाइने अछूत होइनन् भन्ने अकाट्य तर्क दिँदै पण्डित–पुरोहितहरूलाई नाजवाफ पार्ने सामथ्र्य उहाँमा थियो । कतिलाई त गायत्री मन्त्रसम्म पनि जप गर्न नजान्ने ठहर्याई आफूलाई गुरु मान्नुपर्ने तर्क अघि सार्नुभयो । धार्मिक हिसाबले पनि दलित समुदायलाई छुवाछूतको भेदभाव गरी अपमान गर्न नमिल्ने जिकिर गरिरहनुभयो । आफ्नो श्रम र सीपको भरमा समाज धान्ने उत्पीडित समुदायलार्ई भइरहेको भेदभावपूर्ण व्यवहार अन्त्य नगरेसम्म आफ्नो परम्परागत पेसाबाट सामग्री उत्पादनको काम रोक्ने ‘असहयोग आन्दोलन’ चलाउनुभयो, जसलाई आरनको टुँडो भाँच्ने आन्दोलनका रूपमा आज पनि स्मरण गरिन्छ ।
भगत सर्वजितपछि नेपालमा निम्न चार प्रकारका दलित आन्दोलन देखिएका छन् :
१. स्वतन्त्र दलित समाजिक आन्दोलन
२. सुषुप्त काल
३. राजनीतिक पार्टीसँग एकीकृत आन्दोलन
४. यथास्थितीवादी राज्यसत्ताविरुद्ध आन्दोलन
५. स्वतन्त्र दलित राजनीतिक आन्दोलन
२. १. स्वतन्त्र दलित समाजिक आन्दोलन
भगत सर्वजितको आन्दोलनबाट प्रेरित भएर २००४ सालमा पूर्वी नेपालमा जदुवीर विश्वकर्माको नेतृत्वमा ‘नेपाल समाज सुधार संघ’ गठन गरिएको थियो । त्यसैगरी सहर्षनाथ कपालीको नेतृत्वमा २००४ मै काठमाडौंमा ‘टेलर युनियन’ संस्था गठन गरिएको थियो । यसले नेवार समुदायभित्र कुसुले (कपाली) जातविरुद्ध भइरहेको छुवाछूतको विरोध र सिलाई पेसासँग जोडिएका हकहितका कुरा उठाएको थियो ।
यसैगरी २००७ सालमा तनहुँ जिल्लामा चन्द्रलाल विश्वकर्माको नेतृत्वमा ‘नेपाल हरिजन संघ’ खोलिएको थियो । राणाविरोधी क्रियाकलापमा समेत संलग्न यस संस्थाले २०१४ सालमा ‘भद्रअवज्ञा आन्दोलन’ गरेको थियो । टी.आर. विश्वकर्माको नेतृत्वमा धरानमा २००९ सालतिर ‘हटिया आन्दोलन’, २०११ सालमा पशुपति मन्दिर प्रवेशको प्रयास र सफलता, २००७ देखि २०१५ सालसम्म देशका विभिन्न भागमा जातपात र छुवाछूतविरुद्धका संघर्ष भए । मिठाइदेवी विश्वकर्माले २०१२ सालमा नेपाल परिगणित नारी संघ स्थापना गरी दलित महिला हकहितका लागि काम गर्नुभयो भने काठमाडौंको दलित बस्ती पोडेटोलमा स्कुल स्थापना गरेर पोडे जातिका बालबालिकालाई शिक्षा दिनुभयो । उहाँले काठमाडौंको बिजेश्वरीमा दलित विद्यार्थीका लागि समाज विकास छात्रावास स्थापनामा सक्रिय सहभागिता जनाउनुभयो । यी आन्दोलनको मूल रूप विशुद्ध सामाजिक आन्दोलनका रूपमा देखिन्छन् । कठोर जहानियाँ राणा शासनको भर्खर अन्त्य र पञ्चायती व्यवस्था चरम अवस्थामा पुगेका बेला राज्यसत्ता प्राप्तिका लागि यी आन्दोलन मुखर हुन सकेनन्।
२.२. सुषुप्तकाल : पञ्चायतकाल
वि.सं. २००८ लमा नेपाल समाज सुधार संघ (पछि निम्न समाज सुधार संघ) र टेलर युनियनबीच एकता भई सहर्षनाथ कपालीकै नेतृत्वमा ‘जाततोड मण्डल’ गठन गरियो । विभिन्न समयमा यस संस्थाको नाम परिवर्तन हुँदै २०१८ सालमा ‘राष्ट्रिय अछूत मुक्ति परिषद्’ भयो । सोही वर्ष सहर्षनाथ कपालीको संस्थाका तर्फबाट तत्कालीन राजा महेन्द्रलाई मागसहितको स्मृतिपत्र बुझाइयो । २०२४ सालमा सहर्षनाथकै नेतृत्वमा राष्ट्रियस्तरमा ‘नेपाल राष्ट्रिय दलित जनविकास परिषद्’ स्थापना भई २०२९ मा काठमाडौंमा यसको राष्ट्रिय सम्मेलन भयो । यस संस्थाले पहिलोपटक दलितका लागि आरक्षण माग गरेको थियो । पञ्चायतकालमा टीआर विश्वकर्मा, हिरालाल विश्वकर्मा, मनबहादुर विश्वकर्माहरूले पञ्चायती व्यवस्थामा दलितका मुद्दा उठाउनुभएको थियो ।
२.३. राजनीतिक पार्टीसँग एकीकृत आन्दोलन
नेपालमा छविलाल विश्वकर्मा, गोल्छे सार्की, पदमलाल विश्वकर्मा, तिलक परियार, विश्वभक्त दुलाल (आहुति), मानबहादुर विश्वकर्मा, रामप्रित पासवान, रामऔतार पासवानलगायत नेता दलित आन्दोलनलाई राजनीतिक पार्टीको आन्दोलनसँग एकाकार गरेर लैजानुपर्छ भन्ने मान्यता राख्नेहरू हुन् । त्यसैको परिणामस्वरूप २०४५ मा छविलाल विश्वकर्माले पश्चिम क्षेत्रलाई कार्यक्षेत्र बनाउने गरी रुपन्देहीमा ‘उत्पीडित जनजातीय मुक्ति मोर्चा’ संगठन स्थापना गर्नुभएको थियो । सो मोर्चा पछि उब्जाउ मञ्चसँग एकीकरण भयो । २०४५ सालमा गोल्छे सार्कीको नेतृत्वमा उत्पीडित जातीय उत्थान (उब्जाउ) मञ्च गठन भएको थियो । जसमा उपाध्यक्ष छविलाल विश्वकर्मा र महासचिव पदमलाल विश्वकर्मा हुनुभयो । उब्जाउ मञ्च गठनलाई दलित आन्दोलनको कोसेढुंगा मानिन्छ । यो संगठनले २०४७ सालमा नवलपरासीमा दबिल्ला मन्दिर प्रवेश, २०५० सालमा चितवन र स्याङ्जाको दुधकाण्ड, गोरखाको गोरखकाली मन्दिर प्रवेश, सिन्धुपाल्चोक र काभ्रेको पानी उघाऊ आन्दोलन, लमजुङ, धादिङलगायत जिल्लामा भएका आन्दोलन, सप्तरीमा सिनो बहिष्कार आन्दोलन, वादी आन्दोलन र हलिया आन्दोलनलगायत महत्त्वपूर्ण आन्दोलन गरेको थियो ।
२०५१ सालमा उत्पीडित जातीय उत्थान मञ्च, दलित जनविकास परिषद् र जातीय समता समाजको एक अंशबीच एकीकरण गरी नेपाल दलित उत्पीडित जातीय मुक्ति समाज स्थापना भयो । सो एकीकृत मुक्ति समाजमा अध्यक्ष पदमलाल विश्वकर्मा र महासचिव छविलाल विश्वकर्मा बन्नुभयो । सो समाजले २०५० मा गोरखाको गोरखकाली मन्दिर प्रवेश, २०५०–०५२ मा सिन्धुपलाञ्चोकको सिपापोखरी पानी उवाऊ संर्घष, २०५७ मा दलित मुक्ति मञ्चद्वारा आयोजित सिंहदरबार घेराऊ तथा भद्रकाली रिले अनसनलगायत थुप्रै दलित आन्दोलन गरेको थियो । सो समाजले नेपालमा दलितका लागि उपयुक्त प्रगतिशील आरक्षणको अवधारणा अगाडि सारेको थियो ।
दलित समुदायको प्रतिरोधको इतिहास १०० वर्ष पुरोनो हो । भगत सर्वजितपछि नेपालमा चार प्रकारका दलित आन्दोलन देखिएका छन् ।
२०५२ सालमा माओवादी जनयुद्ध सुरु भएपछि मुक्ति समाजबाट अलग भई तिलक परियारकोे नेतृत्वमा नेकपा माओवादीेको भ्रातृ संगठनका रूपमा नेपाल दलित मुक्ति मोर्चा गठन भयोे । २०५५ सालमा छविलाल विश्वकर्माकोे नेतृत्वमा नेपाल उत्पीडित जातीय मुक्ति समाज पुनःगठन गरियो । जुन हाल नेकपा (एमाले) को भ्रातृ संगठनका रूपमा क्रियाशील छ ।
२०५५ सालमै पदमलाल विश्वकर्माकोे नेतृत्वमा ‘नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज’ पुनःगठन भयो । जुन मुक्ति समाज नेकपा (माले) को भ्रातृ संगठन बन्यो । यी दलित संगठनले दलित सवाललाई राजनीतिक मुद्दा बनाउन प्रयास गरिरहे । जसका कारण समानुपातिक समावेशिता, आरक्षण, जातीय भेदभाव तथा छुवाछूतलाई कानुनी रूपमा दण्डनीय बनाउने, दलित शब्द स्थापित गर्नेजस्ता उपलब्धि भए ।
२.४. यथास्थितिवादी राज्यसत्ताविरुद्ध विद्रोह
२०४७ सालमा प्रजातन्त्र स्थापनापश्चात् दलित आन्दोलनले यथास्थितिवादी राज्यसत्ताविरुद्धका विद्रोहमा पनि सक्रिय सहभागिता जनाएको छ । तत्कालीन नेकपा माओवादी २०५२ सालमा जनयुद्धमा होमिएपश्चात् त्यसको भ्रातृ संगठन नेपाल दलित मोर्चा पनि सशस्त्र संघर्षमा सक्रियतापूर्वक सहभागी भयो । २०५२ देखि २०६२ सालसम्म भएको जनयुद्धमा खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), तिलक परियार, दलजित श्रीपाली, डम्बर विश्वकर्मा (मामा), परशुराम रम्तेल, गोपी अछामी, तेज मिजार, रामलाल विश्वकर्मालगायत नेतृत्वको सक्रिय सहभागिता थियोे । जुन युद्धका क्रममा मारिएका १७ हजार जनामध्ये १ हजार ५ सय जनाजति दलित समुदायका थिए ।
जसले माओवादीले त्यसबेला यथास्थितिवादी राज्यसत्ताविरुद्ध स्थापना गरिएका जनसरकारको नेतृत्व गरेका थिए । उनीहरूले युद्धका लागि आवश्यक हतियार बनाउने तथा कब्जा गर्ने, छापामार युद्ध, मोर्चाबद्ध युद्ध, आक्रमण, प्रत्याक्रमण, जनकारबाहीलगायत थुपै्र युद्ध मोर्चाको नेतृत्व गरेका थिए । साथै दलित समुदायविरुद्ध हुने विभेद र अत्याचारविरुद्ध भाटे कारबाही र जनकारबाहीजस्ता क्रियाकलापको नेतृत्व पनि उनीहरूले गरेका थिए ।
२०६३ सालमा नेपालमा गणतन्त्र स्थापनापश्चात् नेपाली जनताविरुद्ध ठूलो षड्यन्त्र भएको भनी तत्कालीन नेकपा (माओवादी ) का नेताहरू नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), डम्बर विश्वकर्मा (मामा), नवीन विश्वकर्मा, रामलाल विश्वकर्मालगायतले विद्रोह गरी नेपाल कम्युनिस्ट पार्टी गठन गर्नुभयो, जो एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना नभएसम्म उत्पीडित वर्ग÷समुदायको मुक्ति हुँदैन भन्ने मान्यता राख्नुहुन्छ ।
२.५. दलित राजनीतिक पार्टी
राजनीतिक दल विषेशगरी कम्युनिस्ट पार्टीका नीति तथा व्यवहारले त्यहीँ रहेर दलितका मुद्दा एकीकृत गर्न सकिँदैन, यी पार्टी जातिवादी मानसिकताबाट ग्रस्त छन्, त्यसैले जबसम्म दलित समुदायको नेतृत्वमा छुट्टै पार्टी गठन गरिँदैन तबसम्म दलित समुदायको मुक्ति सम्भव छैन भन्ने मान्यता यो समुदायको नेतृत्वमा विकास हुँदै गएको देखिन्छ । रूपलाल विश्वकर्माले २०२४ सालदेखि कम्युनिस्ट आन्दोलनमा दलित मुद्दा जोडेर लैजाने र दलित समुदायको नेतृत्व स्थापना गर्ने प्रयास गर्नुभएको थियो । तत्कालीन नेकपा मशाल पार्टीले दलित मुद्दा नसमेट्ने, पार्टीमा दलित समुदायका नेतालाई स्थापित गर्नुको साटो नस्वीकार्नेजस्ता क्रियाकलाप देखेपछि उहाँले सो पार्टी छाडेर सर्वहारावादी श्रमिक मोर्चा गठन गर्नुभएको थियो ।
तत्कालीन एमाले नेता विश्वेन्द्र पासवान, जो २०५६ सालको सिरहाको लहानमा भएको सिनो बहिष्कार आन्दोलनमा सक्रिय हुनुभयो, उहाँले नेपाली कांग्रेस, नेकपा एमालेजस्ता दलले दलित समुदायको हित गर्दैनन्, आरक्षण पनि दिँदैनन् र जातीय विभेद गर्नेलाई कारबाही पनि गर्दैनन् भन्ने निष्कर्ष निकाली २०६२ सालमा आफ्नो नेतृत्वमा दलित जनजाती पार्टी गठन गर्नुभयो । सो पार्टीबाट पहिलो संविधान सभा (२०६५) मा एक जना र दोस्रो संविधान सभा (२०७०) मा दुई जना समानुपातिक सभासद चुनिएका थिए । सो पार्टी २०७१ सालमा फुटेपछि उहाँले बहुजन शक्ति पार्टी बनाई त्यसको अध्यक्ष हुनुभयो ।
त्यस्तै मेघबहादुर कामीले आफ्नो घर आफैं बनाउनुपर्छ, अरू जातिले कुनै पनि हालतमा बनाइदिँदैनन् भनी २०६९ सालमा नेपाल दलित पार्टी स्थापना गर्नुभयो, जुन पार्टी अहिले पनि सक्रिय छ । सो पार्टीले २०७४ सालमा भएका स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा भाग पनि लिएको थियो ।
त्यस्तै विश्वभक्त दुलाल (आहुति) नेपालको दलित आन्दोलनलाई राजनीतिक पार्टीको आन्दोलनसँग एकाकार गरेर लैजानुपर्छ भन्ने मान्यता राख्ने नेता हुनुहुन्छ । उहाँ ०६३ सालमा गणतन्त्र स्थापनापश्चात् पहिलो संविधान सभामा सभासद भई संविधान निर्माण प्रक्रियामा उत्पीडित वर्ग÷समुदायका मुद्दा समेट्न सक्रिय बन्नुभयो । पहिलो संविधान सभा विघटन गरी दोस्रो संविधान सभामा उत्पीडित वर्ग÷समुदायप्रति भयंकर षड्यन्त्र गरी धोकापूर्ण तरिकाले संविधान बनाइयो, दलित समुदायका मुद्दा पन्छाइयो जस्ता सवाल उहाँले निरन्तर उठाइरहनुभयो । एउटा नेताका रूपमा उहाँका कुरा तत्कालीन नेकपा माओवादीले नसुनेपछि उहाँले दलितकै नेतृत्वमा छुट्टै राजनीतिक पार्टी नभई मुक्ति सम्भव छैन भन्ने महसुस गर्नुभयो । र, २०७५ सालमा नेकपा माओवादी त्याग्दै आफ्नो अध्यक्षतामा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल गठन गर्नुभयो । जुन पार्टी अहिले पनि क्रियाशील छ ।
३. उपसंहार
दलित आन्दोलनको इतिहासबाट शिक्षा लिँदै अहिलेको संविधानभित्र रहेर, यसैको दायराबाट राष्ट्रको विकास र समाज परिवर्तन गर्ने उद्देश्य राख्दै अगाडि बढनुपर्ने देखिन्छ । समाजको मागअनुसार संविधान संशोधन गर्न सकिन्छ र उत्पीडित वर्ग÷समुदायको मुक्ति र समृद्धिको दिशामा अघि बढ्न सकिन्छ । सम्बन्धित पार्टीभित्र अन्तर–संघर्ष, बौद्धिक बहस, शान्तिपूर्ण आन्दोलन तथा दबाबद्वारा दलित समुदायले सम्बन्धित राजनीतिक दल, तिनको नेतृत्व, सिद्धान्त र सोचमा परिर्वतन गर्र्न जरुरी छ ।
(मार्च २१ को सन्दर्भमा राष्ट्रिय दलित आयोगको सहकार्यमा आरएम मिडिया हाउसले प्रकाशित गरेको प्रतिरोधको शतक विशेषांक दलित अनलाईनमा पढ्न सकिन्छ ।)
Leave a Reply