अक्सर, लोक सेवा आयोगको परीक्षा निजामती सेवामा भविष्य खोज्नेहरूका लागि आकर्षक ‘प्लेटफर्म’ मानिन्छ । निजामती सेवामा भविष्य खाेज्न चाहने हरकोहीको प्रवेशबिन्दु हो, लोक सेवा आयोग । आ-आफ्नो योग्यता अनुरूप सबैले लोक सेवा तयारी गर्ने, परीक्षा दिने गर्छन् । त्यसमध्ये सीमित मान्छेहरू मात्रै सफल हुन्छन् । ती मध्येका एक हुन्, मेखबहादुर मंग्राती ।
सिमान्तकृत समुदायका मंग्रातीले २३ वर्षकाे उमेरमा खरिदार बनेर ३५ वर्षमा आइपुग्दा सहसचिवकाे यात्रा तय गरेका छन् । लाेक सेवाका विभिन्न पदमा खुला र समावेशी दुवैतर्फ नाम निकाल्न सफल हुँदै उनले सहसचिवकाे गन्तव्य चुमेका हुन् ।
०७७/०७८ को विज्ञापनमा फारम भरेका उनले हालै सहसचिव पदमा नाम निकालेका हुन् । ३५ वर्षको उमेरमै यसरी नाम निकालेका मंग्रातीलाई सफलता हात पार्न सोचेजस्तो सहज भने भएन । उनको मेहनतको विगतले पनि लोक सेवा यात्रामा कति संघर्ष चाहिँदाे रहेछ भन्ने देखाउँछ ।
वि.स. २०४३ मा सिन्धुलीको ढकालगाउँमा जन्मिएका उनले गाउँकै स्कुलबाट एसएलसी सके । जनज्योति माध्यामिक विद्यालय, फोस्रेटार सिन्धुलीबाट ०५९ सालमा एसएलसी दिएका हुन् । कक्षा ११ र १२ पनि त्यहीँबाट गरे । स्नातक तहको लागि भने सिन्धुली बहुमुखी क्याम्पसमा भर्ना भए । र, सोही क्याम्पस नै उनको लागि ‘लोक सेवा यात्रा’को प्रस्थानबिन्दु बन्न गयो ।
स्नातक तेस्रो वर्ष अध्ययन गर्दैगर्दा उनको संगत निजामती कर्मचारीसँग भयो । पहिलोपटक गाविस सचिवको रूपमा सिन्धुली आएका दिपेन्द्र गिरीसँग उनले भेट्ने मौका पाए । उनै गिरीले नै मंग्रातीलाई लोक सेवा आयोगको मोह देखाए । नीतिगत तहमा बसेर लोकको सेवा गर्न पाउनुलाई गर्विलो पेशाको रूपमा उनले हेर्न थाले ।
मंग्रातीका अनुसार त्यहीबेला उनका गाउँले एक जना दाइले लोक सेवामा नाम निकालेका थिए । तिनै दाइ र गिरीको संगतले आफूलाई लोक सेवातिर आकर्षित गरेको उनी बताउँछन् । ‘दाइहरूले लोक सेवाको कोर्सहरू, विभिन्न अध्ययन सामग्री ल्याइदिनुहुन्थ्यो । अनि ‘स्नातक तेस्रो वर्ष’ पढ्दापढ्दै लोक सेवाको तयारीतिर लागेँ’, उनले भने ।
६ महिनापछि लोक सेवा आयोगको फाराम खुल्यो । त्यसबेला सिन्धुलीका विद्यार्थीलाई फारम भर्न खोटाङ या जलेश्वर पायक पर्थ्याे । मंग्रातीले भने खोटाङबाटै भर्ने निधो गरे । कारण, त्यहाँ दलितको लागि दुईवटा कोटा दिइएको थियो भने अन्त एउटा मात्रै थियो । ‘एउटा झोला भिरेर अन्तर्वार्ता र लिखित भन्दै कति धाइयो धाइयो । सिन्धुलीबाट उदयपुरसम्म बल्लतल्ल पुग्यो । अनि खोटाङको लागि उदयपुरको साउनेबाट डेढ दिन हिँड्नुपर्थ्याे । त्यसबेला कम्ता दु:ख गरियो त’, उनी सम्झन्छन् ।
यसरी खरिदारको लागि फारम भरेका उनले पहिलो पटकमै (२०६६ साल) सफलता हात पारे । समावेशी र खुला दुवैतर्फ नाम निकाले । समावेशी कोटालाई प्राथमिकतामा राखेर सिफारिस गर्ने नियम भएकोले उनी समावेशी कोटाबाटै सरकारी जागिरे भए । नाम निकालेपछि असार अन्तिममा गाविस सचिवको रूपमा सोलुखुम्बुको वाकु गाविसमा नियुक्ति पाए ।
वाकुमा करिब ६ महिना काम गरेपछि साेही वर्षकाे माघमा उनले नायब सुब्बामा नाम निकाले, र पुरातत्व विभाग काठमाडौंमा काम गर्न थाले । काठमाडौं आइपुग्दा अधिकृत पदको लागि फाराम खुलिसकेको थियो ।
‘एकवर्ष चाहीँ आराम गर्ने, फारम नभर्ने भन्ने थियो । तर, साथीहरूले कर गरेपछि लहैलहैमा फारम भरियो’, उनले भने, ‘अबको गन्तव्य अधिकृत भन्ने त थियो । तर, त्यहीवर्ष भर्छु भन्ने चाहीँ थिएन । जेहोस् हतारमै भरेर परीक्षा दिए पनि नाम निकालेँ ।’
अधिकृत बनेपछि उनले जिल्ला प्रशासन कार्यलय भोजपुरमा सहायक सीडीओको रूपमा काम गरे । त्यसपछि जिल्ला प्रशासन कार्यलय मोरङ सरुवा भए । दुई वर्ष मोरङमै काम गरे । गृह प्रशासनको मूलभूत कुराबारे जानकारी पाएपछि अब त्यहीँ सीमित हुने इच्छा उनमा भएन । उनी स्थानीय विकास मन्त्रालय सरुवा भए । स्थानीय विकास मन्त्रालयले अमरगढी नगरपालिका डडेल्धुरामा खटायो । डडेल्धुरामा कार्यकारी अधिकृतको रूपमा काम गरेपछि फेरि मन्त्रालयमै सरुवा भयाे ।
त्यसपछि महालक्ष्मी नगरपालिका इमाडोलकाे प्रशासन शाखामा उनले एक वर्ष काम गरे । त्यसपछि साढे २ वर्ष राष्ट्रिय दलित आयोगमा कार्यरत रहेका उनी अब भने सहसचिवको रूपमा सरकारले खटाएको क्षेत्रमा जानेछन् ।
यसबीचमा उनले उपसचिव पदको लागि पनि भिडन्त नगरेका हैनन् । २०७४ सालमा उपसचिवकाे वैकल्पिकमा नाम निकालेका थिए । त्यसपछि पनि २०७६ सालमा संसद सचिवालयको उपसचिवकाे लिखित परीक्षामा नाम निकालेका थिए । तर, व्यक्तिगत समस्याका कारण त्यतिबेला मौखिक परीक्षा दिन नसकेकाे उनले बताए ।
यसरी लोक सेवाको यात्रा गरेका मंग्रातीले अहिले सहसचिव पदकाे खुला र समावेशी दुवैतर्फ नाम निकालेका छन् । अब पिछडिएकाे समुदायका लागि केही गर्ने याेजनामा आफू रहेकाे उनले बताए । आफू पनि निम्न मध्यमवर्गीय परिवारमा हुर्किएर यहाँसम्म आइपुगेकोले तल्लो तहमा रहनेको समस्या सहजै अन्दाज गर्न सक्छन्, उनी ।
मंग्रातीले अहिलेसम्म दलित भएकै कारण असहजता र अपमान भने झेल्नुपरेकाे छैन । यद्यपि, उनले जातकै कारण हेपिएका साथीहरूकाे पीडा भने उनले महसुस गरेका छन् । ‘दलनमा परेको समुदायबाट हामीजस्ता केही व्यक्ति माथि आए पनि धेरै काम हुन बाँकी छ। हाम्रो पनि सार्थक प्रतिनिधित्व हुन आवश्यक छ’, उनले भने, ‘यसरी नाम निकाल्न धेरै मेहनत गर्नुपर्छ । मसँग पो खानलाउन जसोतसो पुग्ने थियो र ६–६ महिना ढोका थुनेर पढ्न सकेँ, नाम निकालेँ । कमाउँदै पढ्दै गर्नुपर्नेहरूले कसरी मिलाउने त्यो समय । ढोका थुनेर पढ्न भोकले दिँदैन, भोक मेट्न लागिपर्दा यताको समय मिल्दैन ।’
(यो साम्रगी शिलापत्र डटकमबाट साभार गरिएको हो ।)
Leave a Reply