काठमाडौं — दाङ तुलसीपुर उपमहानगरपालिका वडा ३ रानागाउँका ऋषि परियार मेचीदेखि महाकालीसम्मको उल्टो पैदल यात्राको एक महिना पुरा भएको छ । स्वास्थ्यका लागि मेचीमहाकाली उल्टो पैदल यात्रा भन्ने नाराका साथ माघ १५ गते काँकरभिट्टाबाट सुरु गरेका परियारले एक महिनामा मध्यविन्दु पार गरिसकेका छन् ।
नेपाललाई विश्व सामु चिनाउने उद्देश्यका साथ शुरु भएको उल्टो पैदल यात्रा एक महिनामा उनले झन्डै ५५५ किलोमिटर उल्टो हिँडेर पार गरिसकेका छन् । पुर्व पश्चिम राजमार्गमा पर्ने २१ वटा जिल्ला मध्ये १४ जिल्ला उल्टो हिँडेर पार गरे । ‘सबैबाट राम्रो हौसला पाएको छु, अझै साथ पाउनेमा ढुक्क छु,’परियारले भने ।
३० वर्षे युवा ऋषि परियारको लगातार हिँडाइले खुट्टामा ठेला उठेका छन् । शरीर थकित छ । तर पनि उनलाई थकानको महसुस छैन । बाटोमा हिँड्दा भेटिएका समर्थकहरूको साथले उनीलाई झन् ऊर्जा थपिन्छ । खुट्टा गले पनि उनको रफ्तारमा कमी छैन । पाइलैपिच्छे सेल्फी हान्ने र भिडियो खिच्नेको भीडले उनको थकान मेटिन्छ । सबैलाई मुसुक्क हाँसेर बिदाइ गर्छन् ।
झोलामा एक जोर दौरा सुरुवाल, हातमा राष्ट्रिय झन्डा बोकेर साधारण पहिरनमा उनी यात्राको थालनी गरेको स्मरण गर्छन् । ‘एक जोर चप्पलमा उल्टो यात्राको थालनी गरें। कुनै पनि क्षण सुल्टो हिँड्दिनँ’, उनी भन्छन् । अगाडि हिँड्ने बानी भएकाले उल्टो हिँड्न त्यति सहज छैन । तर पनि लगभग बानी परेका छन् उनी । ‘उल्टो यात्राबाट विश्वलाई देश चिनाउन खोजेको हुँ’, उनी थप्छन्, ‘यति लामो दूरी कसैले उल्टो हिँडेको छैन । इतिहास रच्नु पनि मेरो उद्देश्य हो । ’
बिहान ८ बजेपछि उनको यात्रा सुरु हुन्छ । दैनिक १५ किलोमिटर दूरी उल्टो हिँडेर पार गर्छन् । कसैले उनलाई बासको बन्दोबस्त गरेर सहयोग गर्छन् । कसैले नगरे बाटोमा पाएको सहयोग रकम खर्च गर्छन् ।
गिनिज बुकको रेकर्ड्सको लोभ उनलाई होइन । दुई पटक उनले गिनिज बुक अफ वल्र्ड रेकडमा नाम लेखाइसकेका छन् । सन् २०२० जनवरी २१ मा जम्पिङ जक्समा उनको नाम छ । एक मिनेटमा १ सय २३ पटक जम्प गरेका थिए । यसअघि भारतीय नागरिकले राखेको १ सय १६ पटकको रेकर्ड उनले तोडेका हुन् । त्यस्तै, इजिप्टका नागरिकले ३० सेकेन्डमा ५४ पटक लाठी घुमाइएको रेकर्ड उनले ५७ पटक गरेर तोडे । यसपटक उल्टो हिँडेर फेरि गिनिजमा नाम लेखाउने जमर्को गर्दैछन् । अबको करिब ४० दिनमा महाकाली पुग्ने उनको लक्ष्य छ ।
Leave a Reply