माइतीपक्षले केटीलाई खोसेर लगे, चन्द्रे कामीलाई गैरदलितले नाङ्गै डोरीले हात बाँधेर लगे

दलित अनलाईन ३ पुष २०७८, शनिबार १३:०१

हुम्ला — अन्तरजातीय विवाह गरेका हुम्लाका चन्द्रे कामीलाई केटीको माइतीपक्षले निर्घात कुटपिट गर्दै अपहरण गरी बेपत्ता बनाएको परिवारले आरोप लगाएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका-१ नाक्पाका १८ वर्षका चन्द्रे कामी र छिमेकी जिल्ला मुगुको सोरुकोट गाउँपालिकाकी १७ वर्षीया सुन्तली मल्लबीच प्रेम थियो । एक महिनाअघि युवतीको गाउँ लिप्रु पुगेर चन्द्रले सुन्तलीलाई भगाएर विवाह गरे । प्रेम गरेर उपल्लो जातकी युवती भगाएर घर ल्याएपछि सामाजिक परम्परा अनुसार धनन्जय कामीले धुमधामका साथ बुहारी भित्र्याए ।

उपल्लो जातकी बुहारी भित्र्याएदेखि नै धनन्जयलाई त्रास थियो । नभन्दै बुधबार राति त्यस्तै भयो । केटीको गाउँबाट आएको १२/१५ जनाको समूहले सुतिराखेकै ठाउँबाट केटालाई हात बाँधेर लगेर गयो । ‘मध्य राति १२ बजेतिर आएको केटी पक्षको समूहले गाउँलेका घरका ढोका बाहिरबाट बन्द गरेर केटाकेटी दुवैलाई लगेर गएछन्,’ वडाध्यक्ष गोकुल बुढाले भने, ‘केटो अहिलेसम्म बेपत्ता छ ।’ वडाध्यक्ष बुढाकाअनुसार केटी पक्षकाले चन्द्रेलाई हात पछाडि बाँधेर नाङ्गै कुट्दै लगेका थिए ।

‘मध्यराति मस्त निन्द्रामा रहेको बेला १२/१५ जनाको समूहमा आएका केटी पक्षका मान्छेले गाउँलेका घरका ढोका बाहिरबाट बन्द गरेछन्,’अध्यक्ष बुढाले भने, ‘केटा केटी सुतिरहेको घरको ढोका र झ्याल तोडफोड गरेर केटालाई नाङ्गै डोरीले हात बाँधेर लगेका हुन् ।’ गाउँलेहरूले केटालाई लिँदै गर्दा मात्रै थाहा पाएका थिए ।

‘गाउँका मान्छे बाहिर निस्कदाँसम्म उनीहरू टाढा पुगिसकेका रहेछन्,’ वडाध्यक्ष बुढाले भने, ‘केटी पक्षकाले मारेर फालेकी भन्ने आशंका हामीलाई छ ।’ उनले घटनाबारे प्रहरीले चासो नदिएको भन्दै गुनासो गरे । ‘केटी माइती घरमा पुगिसकेकी छन्, सँगै हात बाँधेर लिएको केटा कहाँ छ भन्ने विषयको सोधखोज प्रहरीले अहिलेसम्म गरेको छैन्,’ उनले भने, ‘दलित केटाले ठकुरीको छोरीसँग माया प्रेम लगाउँदैमा बेपत्ता बनाउन त भएन नि ?’

वडाध्यक्ष बुढाका अनुसार युवकलाई केटी भगाएर ल्याए लगत्तै विवाह दर्ताका लागि वडा कार्यालयमा आएका थिए । ‘मैले दुवैको उमेर सोधे, केटाको १८ र केटीको १७ वर्ष पुगेको थियो,’ उनले भने, ‘२० वर्ष नपुग्दासम्म विवाह दर्ता हुँदैन्, त्यसमाथि यो अन्तरजातीय विवाह भएकाले झन समस्य हुन्छ भनेर पठाएको थिएँ ।’ जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी हेरम्भ शर्माले केटाको खोजी भइरहेको बताए। घटनाबारे जानकारी पाउने वित्तिकै प्रहरी टोली खटाएर खोजतलास गइरहेको उनले बताए ।

‘केटी माइतीको सम्पर्कमा रहेको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘केटाको खोजी गरिरहेका छौं, फेला पार्न सकेका छैनौं ।’ उनले केटीलाई लिन आएकाहरूको पहिचान भए पनि पक्राउ गर्न नसकिएको बताए। ‘केटीको माइती घर मुगुमा पर्‍यो, हामीले मुगु प्रहरीलाई सम्पर्क गरेका छौं,’ उनले भने, ‘अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन् ।’ जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी शुवास हमालले केटी सम्पर्कमा आएको बताए ।

उनले केटीलाई सोधपुछ गरेर स्थानीय जनप्रतिनिधिको जिम्मामा लगाएको उनले जानकारी दिए । ‘केटीको भनाइ अनुसार केटालाई घरमै छाडेर आएको भन्ने बुझिएको छ,’ उनले भने, ‘आवश्यक परेको बेला बोलाउने गरेर स्थानीय जनप्रतिनिधिको जिम्मामा छाडेर आएका छौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank