दलित मुक्तिका लागि मेरो उम्मेदवारी : मान बहादुर नेपाली

दलित अनलाईन २६ मंसिर २०७८, आईतवार १६:१८

मुलुकको जेठो राजनीतिक दल नेपाली कांग्रेस यतिबेला १४ औं महाधिवेशनको संघारमा छ । सो सन्दर्भमा विभिन्न नेताहरुले विभिन्न पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसमा लामो समयदेखि आवद्ध मान बहादुर नेपाली केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।
मुसीकोट बहुमुखी क्यापसबाट  २०५१ सालको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएर काम गरिसकका मानबहादुर नेपाली  कांग्रेसभित्र युवा नेताहरुले रुचाएका नेता हो । उनको उम्मेदवारी किन त ? प्रस्तुत छ, यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानीको सारः

केन्द्रिय कमिटीमा तपाईको उम्मेदवारी  किन  ?
मैले आफ्नो राजनीतिक जीवनमा पार्टीको विभिन्न कमिटीमा बसेर काम गरिसके । अबको पालो केन्द्रीय कमिटीमा नै बसेर काम गर्ने हो ।
मैले २०५१ मा मुसीकोट बहुमुखी क्यापसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएर काम गरिसके । यस्तै, २०५२ सालमा नेपाल विद्यार्थी संघ रुकुमको सभापति, २०५४ सालमा तरुण दलको जिल्ला संस्थापक सभापति, २०५६ मा दलित संघको केन्द्रीय सदस्य र २०५७ मा पार्टीको जिल्ला सह सचिव भएर काम गरे । त्यसपछि म तरुण दलको केन्द्रीय सदस्य, केन्द्रीय सचिव भएर काम गरे ।

यसैगरि २०६७ सालमा पार्टीको रुकुम जिल्ला सभापतिमा निर्वाचित भए । यसका अलावा पार्टीको १० औं देखि १४ औं महाधिवेशन सम्म खुल्ला रुपमा प्रतिनिधि हुँदैं आएको छु । यसबाहेक मैले २०६२/६३ सालको जनआन्दोलनको जिल्ला संयोजक पनि भए ।  साथै, २०६४, २०७० र २०७४ निर्वाचनमा म समानुपातिक तर्फको उम्मेदवारमा सुचिकृत हुँदैं आएको छु । साथै, २०७१ सालमा राष्ट्रिय दलित आयोगको अध्यक्ष भएर पनि काम गरे ।

यसरी मैले पार्टीको विभिन्न तहको नेतृत्व गरिसके । अबको पालो केन्द्रीय कमिटीमा नै बसेर काम गर्ने हो । त्यसैले केन्द्रिय सदस्यमा मेरो उम्मेदवारी स्वभाविक हो । मैले १३ औं महाधिवेशनमा पनि केन्द्रिय सदस्यमा उम्मेदवार दिएको थिए । तर, त्यसबेला सामान्य मतले हार्नुपर्यो । यसपाली आम प्रनिनिधि साथीहरुले मलाई न्याय गर्नुहुन्छ भन्नेमा विश्वस्त छु । यस्तै, मैले दलित समुदायको मुद्दालाई मसिनो तरिकाले अध्ययन गरेको छ । ग्रामीण भेगमा बस्ने दलितको समस्या राम्रोसँग अध्ययन गरेको छु । त्यो अवस्थामा पार्टीले कस्तो नीति बनाउँदा दलितका समस्या समाधान गर्न सकिन्छ भनेर आफ्नै दृष्टिकोण तथा विचार पनि बनाएको छु । तसर्थ, दलित मुक्तिका लागि पनि पार्टीको केन्द्रिय कमिटीमा मेरो आवश्यकता छ ।

आरक्षणको प्रयोगबाट ?

मैले १० औं देखि १४ औं महाधिवेशनसम्म खुल्ला रुपमा नै प्रतिनिधि जित्दै आएको छु । र, ममा जित्छु भन्ने आत्मविश्वास पनि थियो । त्यसैले मैले आरक्षणको प्रयोग गरिन । मैले आरक्षणको प्रयोग नगर्दा अन्य साथीहरुले अवसर पाउनु भएको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । यस पद्धतिलाई सबै ठाउँमा लागू गर्नुपर्छ ।
एकपटक आरक्षणको प्रयोग गरेका साथीहरुले पटक पटक यसको प्रयोग गर्नु हुदैन । यसले हामी भित्र नै लडाउने काम गरेको छ । साथै, जिल्ला लगायतका तहबाट केन्द्रमा आउन चाहाने साथीहरुलाई पनि अप्ठ्यारो बनाएको छ । तसर्थ, एक पटक आरक्षण प्रयोग गरेका साथीहरुले पुनः त्यो प्रयोग नगर्दा राम्रो हुने थियो । आरक्षण प्रयोग गरिसकेका साथीहरुले अर्काे पटक खुल्ला रुपमा नै प्रतिस्पर्धामा आउने गरी आफ्नो क्षमता विकास गर्नुपर्छ । तव मात्र हाम्रो सहभागिता बढ्छ ।

पार्टीले कसरी काम गर्दा दलितले मुत्ति पाउँछन् भन्ने बिषयमा मेरो आफ्नै दृष्टिकोण छ भन्नु भयो, के हो  ?

यसमा मेरो आफ्नै व्यक्तिगत दृष्टिकोण छ । मेरो अध्ययनले के देखाउँछ भन्दा, आर्थिक असमानताबाट नै दलितहरुलाई विभेद गर्न थालेको देखिन्छ । धनाढ्य दलितले भन्दा पनि आर्थिक रुपमा विपन्न दलित समुदायले समाजमा विभेद भोग्दै आएको देखिन्छ । त्यसैले सर्वप्रथम दलितलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन पर्छ । त्यसको लागि दलित समुदायका व्यक्तिहरुलाई रोजगारी दिने, दलित समुदायको पेशालाई आधुनिकीकरण बनाउने काम गर्नुपर्छ । साथै, जग्गा दिने काम पनि गर्नुपर्छ । अहिले दलितहरुको जग्गा हेर्ने हो भने राम्रोसँग खेती गर्न पनि मिल्दैन । कृषि मै निर्भर हुने जग्गा पनि दलित समुदायसँग छैन । पराम्परागत पेसा पनि आधुनिकीकरण गर्न सकिएको छैन । आर्थिक रुपमा कमजोर भएपछि उपचार गर्न सक्दैनन् । बालबच्चालाई उपयुक्त शिक्षा दिन सक्दैनन् । तसर्थ, आर्थिक रुपमा पनि दलित समुदायलाई माथि ल्याउनुपर्छ । साथै, राज्य पनि यसमा ध्यान दिनुपर्छ । पार्टीले पनि यस सम्बन्धमा राम्रो नीति लिएर काम गर्नुपर्छ । यस्तै, जातिय विभेद सामाजिक समस्या नै हो । समाजमा जातिय लगायत थुप्रै समस्या छन् । त्यसलाई पार्टीले आफ्नो मुद्दा बनाउनुपर्छ । पार्टीले यो मुद्दालाई जवरजस्ती उठाउनु पर्छ । पार्टीमा पनि लामो समयसम्म काम गरेका, दशकौ समय पार्टीमै विताएका व्यक्तिमा पनि रुढीवादी मानसिकता छ । उनीहरु पराम्परागत रुपमा नै ग्रस्त छन् । अब उनीहरु पनि परिवर्तन हुन आवश्यक छ । साथै, पार्टीले पनि यो विषयलाई जागरणकै रुपमा उठाउन आवश्यक छ ।

पार्टीको केन्द्रिय सदस्य जित्न के छ चुनावी रणनीतिक ?

पहिलो कुरा त नेपाली कांग्रेसमा २०४६ पछि व्यक्तिवादी प्रवृति हावी भएको भने परिवर्तन सस्ंथागत पद्धति ओझेलमा पर्दै गएको छ । संस्थागत मर्यादा भुलेको अवस्था छ । व्यत्तिलाई कसरी बलियो बनाउने भन्ने छ । त्यो अवस्थामा ठुला नेतालाई खुसी बनाउँदा पार्टीमा लामो अनुभव नभएका, तल्लो तहमा काम नगरेका व्यक्ति पनि सिधैं केन्द्रमा आउने समस्या देखिएको छ । यसरी पार्टीमा राम्रा मान्छे पछि पर्दै गएका छन् । समावेशी लागू भएपछि नयाँ वर्ग जन्माउने सम्भावना बढेको छ । तर, यसको दुरुपयोग पनि भएको छ । श्रीमान समानुपातिकबाट सांसद भएको छ भने श्रीमतीले समानुपातिक बाटै कुनै सरकारी निकायमा नियुक्ति पाएको छ । छोराछोरीले आरक्षण तथा छात्रवृतिबाटै पढेका छन् । एउटै परिवारमा कोटा नै कोटा किन ? एक व्यक्तिका लागि एक पटक मात्रा आरक्षण सुविधा दिनुपर्छ । पटक पटक राम्रो होइन ।तर, एक पटक आरक्षण लिएपछि उनको क्षमता अभिवृद्धि गर्ने, खुल्ला रुपमा चुनाव लड्न सक्ने र स्थापित गराउने काम भने गर्नुपर्छ ।
अहिले जातको आधारमा नभएर आर्थिक विपन्नताको आधारमा आरक्षण दिने भनिएको छ, जुन गलत हो । राज्यले कानुन नै बनाएर सयौं वर्ष दलितलाई विभेद गर्यो । त्यसको क्षति पुर्ति त हामीले पाउन पर्यो । तसर्थ, जातकै आधारमा आरक्षण दिनुपर्छ ।
यस्तै, अहिले भुगोलहरु नेताविहीन बन्ने अवस्था पनि आएको छ । सबै नेताहरु केन्द्र अर्थात् काठमाडौंमा नै बस्ने प्रवृति मौलाएको छ । यसलाई सुधार गर्नपर्छ । केन्द्रिय जिम्मेवारी भएका नेताहरु काठमाडौंमा बस्नुपर्छ । अन्य नेताहरु भुगोलमा नै फर्कनुपर्छ । फलस्वरुप भुगोलमा काम गरिरहेका क्षमतावान साथीहरु पनि माथि आउन सक्नु भएको छैन । दलित समुदायका केही साथाीहरु सिंगो समाजलाई नै कुशल रुपमा नेतृत्व गर्न सक्छन् । तर, सिमित व्यक्तिले आरक्षण कब्जा गर्ने, काठमाडौंमा डेरा जमाएर बस्ने प्रवृतिले उनीहरु माथि आउन सकेका छ्रैनन् । काठमाडौं बसेर नेताको वरपर लाग्ने व्यत्तिले मात्र अवसर पाएका छन् । यसलाई सुधार गर्न आवश्यक छ ।
यस्तै, अब आरक्षणको सुविधा लिइसकेका दलित नेताहरुले पनि खुल्ला रुपमा लड्ने हैसियत राख्नुपर्छ । विगतमा तिलक परियार, दल सुनारदेखि लिएर अहिले महेश्वर गहतराज लगायतका नेताले प्रत्यक्ष रुपमा नै चुनाव जितेका छन् । उनीहरुलाई हेरेर पनि हामीले आत्मविश्वास बढाउनु पर्छ ।
हामी समानुपातिक सिटमा नै व्यवस्थित हुँदा अन्यमा हस्तक्षेप गर्न सकिएको छैन । कोटामै हानथप गरेका छौं । जो मन्त्री सांसद भइसके, यसअघि पनि आरक्षणबाटै पार्टीको केन्द्रीय सदस्य भए । उनीहरु अब खुल्ला रुपमा आउनुपर्छ र आरक्षणमा नयाँलाई अवसर दिनुपर्छ । मैले कसैको अपमान गर्न खोजेको होइन । तर, राम्रोसँग जिल्ला, प्रदेश लगायतका अन्य कमिटि नेतृत्व नगरेको साथीहरु केन्द्रमा नै आउन त्यति सुहाउँदैन ।
अब पार्टीका ठुलो नेताहरुले दलित समुदायका नेताहरुको करियरमा पनि सर्पोट हुने गरि काम गनुपर्छ । दलित नेताहरुलाई सधैं आरक्षणबाट ल्याउनु हुँदैन । खुल्ला रुपमा पनि ल्याउनुपर्छ । त्यसको लागि पार्टीले नै नीति बनाउनुपर्छ । अहिलेसम्म दलितलाई खुल्ला रुपमा टिकट दिए पनि हार्ने ठाउँमा मात्र दिइएको छ । जहाँ पार्टीको पकड छ, जहाँ जित कुनै पनि हालतमा सुनिश्चित छ त्यहाँ दिइएको छैन । तसर्थ, अब दलितलाई जित सुनिश्चित हुने ठाउँमा पनि खुल्ला रुपमा उठाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank