सल्यान – राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले सल्यानमा विशाल जनप्रदर्शन गरेको छ । दलित समुदायको हक अधिकार स्थापित गर्न माग गर्दै अभियानले सल्यान जिल्लाको थारमारेमा भेला र प्रदर्शन गरेको हो । समुदायलाई जागरण र राज्यलाई दबाब, विभेद विरुद्धको अभियानमा एक हौं भन्ने मुल नाराका साथ दलित समुदायको शक्ति प्रदर्शन गरिएको छ ।
राज्यका हरेक अंग र निकायमा दलित समुदायको सहभागितामूलक प्रतिनिधित्व हुनुपर्ने,नीति निर्माण तहमा दलितहरुको स्पष्ट प्रतिनिधित्व र यस समुदायको पेशा व्यवसायको सुनिश्चितताको माग गर्दै प्रदर्शन गरिएको राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल पश्चिम संयोजक खगेन्द्र सुनारले बताएका छन् ।
जातीय विभेद, छुवाछुत र दलितमाथिको उत्पीडनविरुद्ध सचेतना जगाउन समुदायलाई जागरण र राज्यलाई दबाब दिन प्रदर्शनको आयोजना गरिएको सुनारले जानकारी दिए । यसअघि अभियानले पुर्वको सप्तरी, पश्चिमको दैलेख र नेपालगन्जमा वृहत् प्रदर्शन गरिसकेको छ ।
सल्यानमा सोमबार आयोजित प्रदर्शनमा सल्यानमा जाजरकोट रुकुम सुर्खेत, दाङ जिल्लाका मानिसहरुको समेत ठूलो संख्यामा सहभागिता रहेको थियो ।
संविधानमा लेखिएको सहभागितामूलक र समावेशी राज्य संयन्त्र कार्यान्वयनमा नआएको र यो कार्यान्वयनका लागि समुदायस्तरबाटै जनदबाब बढाउनुपर्ने आवश्यकता देखिएकाले कार्यक्रम आयोजना गरिएको उनले बताए ।
जनसभा प्रदर्शनमा राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल जिल्ला कमिटि दाङका अध्यक्ष केशव नेपाली, दलित अधिकारकर्मी प्रेमनारायण विकलगायत दलित अगुवाहरुको सहभागिता थियो ।
सुनारले भने, हिजो सम्म अरुका लागि लड्यौं अव आफ्नो समुदायको लागि लड्न सम्पुर्ण उपस्थीत मानिसहरुलाई आग्रह गरे । संविधानमा लेखिएको अधिकार व्यवहारिक रुपमै कार्यान्वयनमा ल्याउनका लागि समुदाय स्तरमा जागरण र राज्यस्तरमा दबाबको खाँचो परेकाले अभियान सञ्चालन गर्नुपरेको उनले बताए । यो अभियानमा तराई मधेस हिमाल पहाडका दलितलाई जोड्ने हिसाबले खगेन्द्र सुनार र राजेश विद्रोही दुईजना केन्द्रीय संयोजक छन् ।
Leave a Reply