बालीघरे दलितको नियति खेलकुद मन्त्रालय !

अनलाईन डेक्स २३ आश्विन २०७८, शनिबार २१:५६

काठमाडौ – दलित अनलाईन डटकमले प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता समालेको एक हप्तामा एउटा समाचार विश्लेषणत्मक रुपमा प्रकाशित गरेको थियो । त्यसमा ‘अबको मन्त्रीमण्डलमा दलितका तर्फवाट कस्ले मार्ला वाजी’ भन्ने शीर्षकमा ।
देउवाले सत्ता सम्हालेको करिब ३ महिनापछि मन्त्री मण्डलले पूर्णता पाएको छ ।
त्यतिवेला हामीले खास गरि माओवादी र नेपाली कांग्रेसवाट दलितका तर्फवाट मन्त्री बन्ने संभावित नामहरुमा माओवादीका तर्फवाट महेश्वर गहतराज तथा अंन्जना विशंखे, कांग्रेसको तर्फवाट सुजाता परियार, लक्ष्मी परियार, मीन विश्वकर्मा तथा मानवहादुर विश्वकर्माको बारेमा चर्चा गरिएको थियो । यी ६ अनुहारमध्ये अन्ततः महेश्वर गहतराज माओवादीले पाएको पाँच मन्त्री तथा एकजना राज्यमन्त्रीको कोटाबाट मन्त्री बन्न सफल भएका छन् ।
सुरुको मन्त्रीमण्डलको बनोट हेर्दा प्रचण्ड व्राम्हणवादी तथा देउवा क्षेत्रीवादी जस्ता देखिएका थिए । किनभने प्रचण्डले पठाएका पम्फा भुषाल तथा जनार्दन शर्मा दुवै बाहुन थिए भने देउवाले ल्याएका मन्त्रीहरुमा वालकृष्ण खाँण्ड तथा ज्ञानेन्द्रवहादुर कार्की क्षेत्री, कति सम्म भने केही हप्ता अगाडि नियुक्त भएका नारायण खड्का पनि क्षेत्री । हालसालै विस्तार भएको मन्त्रीमण्डल भने केही मिश्रित प्रकृतिको देखिएको छ, यसमा बाहुन, क्षेत्री, जनजाति, मधेशी तथा दलित पनि समावेश भएका छन् । तर नियत हो की संयोग हो, देउवा स्वंय क्षेत्रीको नेतृत्वमा गठन भएको मन्त्रीमण्डलमा मनग्गे क्षेत्रीहरुको बाहुल्यता देखिन्छ ।

नेपालमा एउटा नियत के देखिन्छ भने देउवाले प्रधानमन्त्रीको रुपमा नियुक्त गर्ने व्यक्तिहरुमा क्षेत्रीहरु हावी हुन्छन भने अन्य बाहुन प्रधानमन्त्रीहरुले नियुक्त गर्दा बाहुनहरु । अहिले पनि त्यहि नियति दोहोरिएको छ । अर्थात सत्ताको खेलमा धेरै बाहुनहरु भएको अवस्थामा बाहुनै हावी, देउवा आउँदा क्षेत्री हावी । यी दुवै खेलमा दलितहरु सधै वाली घरे । नेपालको वालीघरे नीतिमा दलितले वर्षभरि आफ्नो पेशाको आधारमा आफ्ना विष्टहरुको सेवा गर्नु पर्छ, अर्थात उनीहरुले गर्ने कामको कुनै ज्याला पाईदैन । अन्नपात स्याहार्ने बेलामा सवैभन्दा कमसल अन्नहरु दलितका लागि छुट्याईन्छ र दिईन्छ, त्यस्तै दशै तिहार जस्तो चार्डवाडमा पुराना लुगा तथा केही रहे परेका पकवानहरु जस्को राम्रो चित्रण अन्तर्राष्ट्रिय पुरस्कार समेत पाउन सफल चलचित्र कालोपोथीमा गरिएको छ । सो चलचित्रमा यसको मुख्य पात्र
खड्गवहादुर परियार र उस्का वावुले गाउँका सामन्तको कस्तो सेवा गर्छन र त्यस वापत एउटा कालो ज्याकेट पाउदा कस्तो खुशी हुदै गाउँ डुल्छ र सामन्तको छोरीको कुरा छिनेपछि भएको भोजमा भाँडा माझ्दै खाएको दृष्य छ । वास्तवमा भन्ने हो भने यसका निर्देशक मीनवहादुर भाम (संवभतः जुम्ली ठकुरी) ले कर्णालीका दलितको जीवन चक्रलाई अत्यन्त सजिव ढंगले चित्रित गरेका छन् । नेपालको अहिले सम्मको राजनीतिमा पनि त्यस्तै खालको वालीघरे प्रथाले निरन्तरता पाईरहेको छ र त्यसको पछिल्लो प्रकरणहो युवा तथा खेलकुद मन्त्रीको रुपमा महेश्वर गहतराज अथकको नियुक्ति ।

यो सबैका वावजुद प्रचण्डले एकजना दलितलाई भलै मन्त्री वनाएरै भए पनि समावेशीताको इज्जत धानेका छन् त्यस अर्थमा अन्य सवै पार्टीहरु भन्दा माओवादी समावेशी मैत्री छ भन्न करै लाग्छ ।

महेश्वर गहतराज जसलाई सशस्त्र द्वन्द्व कालमा कहिल्यै नथाक्ने अथकको नाम दिइयो उनी एउटा कमाण्डर थिए र धेरै युद्ध मोर्चाहरुको नेतृत्व गरेका थिए । माओवादी शान्त्ति प्रकृयामा आए पछि पनि उनी निरन्तर प्रचण्डको अथक सहयात्रीको रुपमा रहे । गएको चुनवामा माओवादी तेश्रो पार्टीको रुपमा खुम्चिदा पनि संघीय संसद अन्तरगत प्रतिनिधिसभाका प्रत्यक्षतर्फ निर्वाचित ३ जना दलित सांसदमध्ये उनी एक हुन् । उनले बाँके क्षेत्र नम्बर एकमा ३१ हजार एक सय ७३ मत प्राप्त गर्दै प्रतिस्पर्धी माधवराज खत्रीलाई करिव ३ हजार मतान्तरले पराजित गरेका थिए ।
उनको राजनैतिक हैसियत कनै  पनि हालतमा जनार्दन शर्मा भन्दा कम छैन, अहिले माओवादीका तर्फवाट मन्त्री बनेकाहरु भन्दा पनि कम छैन । यति हुँदाहुदै पनि किन दलितलाई खेलकुद मन्त्रालय मात्रै । अहिले एउटा मन्त्री बनेकाहरुको सूची फेसवुकमा सार्वजनिक भएको छ, त्यसमा अथकको नाम ३ जना राज्यमन्त्रीहरु भन्दा माथि छ र अन्य सवै मन्त्रीहरु भन्दा तल, त्यसको मतलव उनी मन्त्रीपरिषदका सवैभन्दा कनिष्ठ सदस्य हुन ।
युवा तथा खेलकुद मन्त्रालयमा अहिले महेश्वर गहतराज तेश्रो दलित मन्त्री हुन । सवैभन्दा पहिले प्रचण्डको प्रधानमन्त्रीत्व कालमा उनको अंगरक्षक जस्तै भूमिका खेलेका दलजीत श्रीपाईली मन्त्री भए । करिव दुई तिहाईको बहुमतको नेतृत्व गर्ने ओलीको पालामा जगतवहादुर सुनार भए भने अहिले देउवाको पालामा अथक । अब यो नियत हो की नियति हो ? जो कोहीले अनुमान लगाउन सक्छ, अर्थात यो दलितलाई सवैभन्दा कनिष्ठ र कसैको रोजाईमा नपर्ने युवा तथा खेलकुद मन्त्रालय मात्रै दिईन्छ ? के यसलाई बालीघरे प्रथाको राजनीतिक स्वरुप भन्दा अत्योक्ति हुन्छ ?
यसो त मन्त्रालय आफै नराम्रो हुँदैन, युवा तथा खेलकुद मन्त्रालयले देशको समग्र खेलकुद क्षेत्रको नेतृत्व गर्छ त्यसमा राष्ट्रिय खेलकुद परिषद पर्दछ जस अन्तर्गत विभिन्न खेलकुद संघ, रंगशाला, खेलाडीहरु पर्दछन् ।
ओली सरकारकमा भएका जगत सुनारले अन्य मन्त्रीहरुको तुलनामा केही काम गर्ने खोजे किनभने उनको नेतृत्वमा केवल साफ गेम मात्रै भएन त्यसमा नेपालले पदक तालिकामा दोश्रो स्थान हासिल गर्यो । त्यति मात्र नभईकन युवा परिषदका उपाध्यक्षले एउटा टेलिभिजन अन्तरवार्तामा उनले ऐन वनाउन खेलेको भूमिकालाई अत्यन्त सर्हायका थिए । तर उनले दलितका लागि कुने उल्लेखनीय काम गर्न फिटिक्कै सकेनन । अलि अलि जातीवादी सोच र चिन्तनबाट ग्रस्त छन् । कति सम्म भने खेलकुद परिषदभित्र भएका दलितका खेलाडी तथा कर्मचारीहरुसँग एकपटक भेट सम्म गरेनन ।
कमसेकम त्यहाँ भएका दलितका खेलाडी तथा कर्मचारीहरुलाई दलितका मन्त्री छन भन्ने आभाष सम्म दिन सकेनन । दलजीत श्रीपाईलीको कुरा गर्दा ९ महिने छोटो कार्यकाल भएकाले उनले
केही गर्ने अवस्था थिएन, र पनि घाँस उम्रिएको दशरथ रंगशालालाई पुनर्जिवन दिन खोजेको कुरालाई धेरैले सर्हाना गरेका थिए । उनले आफ्नो कार्यकक्षमा दलितका अगुवाहरुलाई एकपटक बोलाएर छलफल गरे सम्म गर्ने चेष्टा गरे । तर त्यो छलफलले कुनै नतिजा नदिएको हुँदा हात्ति आयो फुस्सा मात्रै भयो । महेश्वर गहतराजका सामु करिव १५ महिनाको अवधि रहेको छ यस अवधिमा उनले के गर्छन् र भन्ने अवस्था विद्यमान छ, यसलाई चिरेर केही नतीजा मुखि काम गर्न सके पछि त्यसले समग्र देशको शिर उचा पार्नुका साथै दलितको आत्मसम्मानमा केही योगदान हुने छ । तर नेपालको सरकारको कार्यशैली हेर्दा जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान लाई बढी सार्थक बनाएको विगत छ । अहिलेको देउवा सरकार त झन त्यस मामिलामा अग्रणी नै देखिन्छ, किनभने उसको ध्यान देश र जनताको आशा जगाउने तथा विश्वास जित्ने भन्दा पनि सत्ताको अधिकतम दुरुपयोग गरेर आफ्ना अरौटे र भरौटेहरुलाई पक्षपोषण गर्ने नै देखिन्छ । यस्तै नियतको शिकार भएका छन् वल्लतल्ल नियुक्ति पाएका दक्षिण अफ्रिकाका लागि नेपाली राजदुत डा. निर्मल विश्वकर्मा, जसले एक वर्ष पनि आफ्नो कार्यकाल पुरा गर्न पाएनन ।
देउवाले भागवण्डामा पाएका आठवटा मन्त्रालय मध्ये एउटामा एकजना दलित अनुहारलाई ल्याउँछन भन्ने आशा गरिएको थियो, तर उनको विगतका दलित सापेक्ष भएको छवि पनि यसपाली धुमिल भएको छ । निकै तामझामका साथ पार्टी टुक्र्याएका माधव नेपालले दलितका लागि केही नया कुरा गर्ने छन भन्ने अपेक्षा गरिएको थियो । तर उनको प्राथमिकतामा दलित कहि कतै देखिदैनन भन्ने कुरा उनले पठाएका मन्त्रीहरुको सूचिवाट थाहा हुन्छ । यो सबैका वावजुद प्रचण्डले एकजना दलितलाई भलै मन्त्री वनाएरै भए पनि समावेशीताको इज्जत धानेका छन् त्यस अर्थमा अन्य सवै पार्टीहरु भन्दा माओवादी समावेशी मैत्री छ भन्न करै लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank