प्रहरीकाे लापरवाही : जातीय विभेद गर्ने वडाध्यक्ष र उनका छाेरा फरार

महेश नेपाली २ श्रावण २०७८, शनिबार २३:२९

जुम्ला — जातीय विभेद गरेकाे प्रमाणसहित जाहेरी दर्ता भएपछि जुम्लाको सिंजा गाउँपालिका- ६ का वडाध्यक्ष कालिबहादुर बुढा र उनका छोरा नविन बुढा फरार भएका छन्।

जाहेरी दर्ता भएकाे एक हप्तापछि पक्राउ पुर्जी लिएर वडाध्यक्ष र उनका छाेरालाई पक्राउ गर्न गएकाे प्रहरीले उनीहरु फरार रहेकाे बताएको छ। ‘हामीले विहिबार दुई पटक वडाध्यक्षकाे दुईवटा घरमा छापा हान्दा भेटाउन सकेनौं,’ पक्राउ गर्न गएकाे टाेलीका एक प्रहरी जवानले भने, ‘घरमा वडाध्यक्षकाे छाेरा सुर्खेत गएकाे र बाबु जुम्ला बजारमा गएकाे भन्छन्। उनीहरु यता कतै छैनन्।’

सोही वडाकाे काँडागाउँ निवासी दलित युवा विवेन्द्र नेपालीले उनीहरु विरुद्ध गत असार २२ गते जातीय विभेद गरेकाे भनी जाहेरी दिए पनि प्रहरीले २५ गते मात्र मुद्दा दर्ता गरेकाे थियाे।

‘सुरुमा जुम्ला प्रहरीले जाहेरी नै दर्ता गर्न मानेको थिएन। डिएसपी र सीडीओसँग भन्दा पनि मुद्दा दर्ता भएन,’ पीडित नेपालीले भने, ‘जुम्लाका दलित अगुवाहरु र रंगकर्मीकाे दबाबपछि मात्र प्रहरी जाहेरी लिन तयार भएको थियो।’ तर, जातीय विभेदजस्तो जघन्य अपराध गरेको आरोप लागेका वडाध्यक्ष र उनका छोरालाई जुम्ला प्रहरीले ढिलासुस्ती गर्दा पक्राउ नपरेको उनले बताए।

‘यसमा जुम्ला प्रहरीकाे चरम लापरबाही छ। प्रहरीले समयमै जाहेरी दर्ता गरेकाे भए अपराधी उम्किन पाउने थिएनन्,’ विवेन्द्रका लागि न्याय अभियानका संयाेजक नरेश बहादुर नेपालीले भने, ‘आलटाल गरेर आराेपी उम्काउने खेलमा प्रहरी आफै लाग्याे। यसमा कतैबाट दबाब आएकाे हुनसक्छ।’

पीडित विवेन्द्र नेपालीका अनुसार प्रहरीले सक्रियता नदेखाएका कारण अहिलेसम्म उनीहरुलाई पक्राउ गरिएको छैन। विभिन्न तवरबाट दोषीलाई उम्काउने प्रपञ्च भइरहेको उनको दुःखेसो छ।

सरकारमा हुनेहरुलाई विभिन्न बाहनामा उम्काउने र अदालतबाट धराैटीमा रिहाइ गर्ने चलन नै भएकाे अधिवक्ता अनिता तिमिल्सिनाले बताइन्।

‘हिजाे-अस्तीकाे विजय गच्छदारकै मुद्दालाई लिनुहाेस् न, प्रहरी प्रशासन खाेजेजस्ताे गरेर माैन बसिदिन्छ,’ उनले भनिन्, ‘नजिककाे सरकारका प्रतिनिधि वडाध्यक्षलाई सरकारकै सुरक्षा निकाय प्रहरीले नपक्रनु कुनै अनाैठाे हाेइन। याे एक आम प्रचलन भइसक्यो। यसरी त न्याय मर्छ।’

अधिवक्ता तिमिल्सिनाले भनेजस्तै जिल्ला अदालत जुम्लाले २७ गते जिल्ला प्रहरी कार्यालय र नराकोट प्रहरी चौकीलाई पक्राउ पुर्जीको आदेश दिए पनि प्रहरी वडाध्यक्षकाे घरमा असार ३१ गते मात्र पुग्याे। ‘याे अवधिमा षड्यन्त्रका धेरै तनाबाना बुनिएजस्ताे मलाई लागेकाे छ। नत्र हालसम्म प्रहरी दोषी पक्रन नसक्ने क्षमता नभएको पक्कै हाेइन,’ पीडित नेपालीले भने।

वडाध्यक्ष बुढाको घरमा गएको प्रहरीलाई उदृत गर्दै उनले भने, ‘उनीहरु फरार भइसकेछन्। श्रीमतीले छोरा सुर्खेत गएको छ र बुढा सदरमुकाम गएका छन् भन्नुभएछ। अहिलेसम्म दोषीमाथि कारवाही प्रक्रिया सुरु भएकाे छैन। सबैतिरका न्यायप्रेमीकाे दबाब आवश्यक छ।’

यता जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सिंजा पुगेका प्रहरी जवान सन्देश बुढाले वडा अध्यक्ष नभेटिएको बताए। उनका अनुसार घरमा पुग्दा पनि वडा अध्यक्ष र उनका छोरा त्यहाँ थिएनन्। उनले ८ जनाको टोलीलाई जसरी पनि वडाध्यक्ष र उनका छाेरा पक्रिन आदेश भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank