एमाले बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग

दलित अनलाईन १६ असार २०७८, बुधबार १६:४५

काठमाडौं—  जातीय विभेदको आरोप लागेको घरबेटीलाई संरक्षण गरेको विरोधमा राजीनामा माग गदै सर्वत्र आलोचना र विरोध प्रदर्शन भइरहेका बेला शिक्षामन्त्री  कृष्णगोपाल श्रेष्ठको नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा राजीनामा माग भएको छ ।

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग केन्द्रीय सदस्य जगत विश्वकर्माले गरेका हुन् ।

बुधबार बालुवाटारमा भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रीले श्रेष्ठ रूपा सुनार प्रकरणमा गल्ती गरेकाले आत्मआलोचना गर्नु पर्ने बताएका थिए।

‘रूपा सुनारको मुद्दामा एमालेको वरिष्ठ केन्द्रीय सदस्यले जे व्यवहार देखाउनु भयो त्यो दु:खद र खेदजनक छ। यसले जातीय विभेदविरूद्ध सबै नागरिकलाई आहात पुर्‍याएको छ,’ विश्वकर्माले बैठकमा भने,‘यस्ता कुराले एमालेप्रतिको आशा-विश्वास पनि धुमिल बनाउन सक्छ। त्यसैले उहाँले आत्मआलोचना गर्नुपर्छ।’

श्रेष्ठ अहिले मन्त्री पनि भएकाले उनले तत्काल राजीनामा दिनुपर्ने आफूले सुझाव दिएको विश्वकर्माले बताए। ‘मन्त्रीका रूपमा पनि उहाँ सबैको अभिभावक बन्न सक्नुभएन। व्यक्तिगत रूपमा मेरो उहाँसँग आत्मीय सम्बन्ध भए पनि उहाँले उच्च नैतिकता प्रदर्शन गरेर राजीनामा दिनुपर्छ भन्ने मैले सुझाव दिएँ,’ विश्वकर्माले भने।

जवाफमा प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठको व्यवहार शोभनीय नभएको बताएका थिए।  श्रेष्ठले आफूसँग भावनामा बगेर कमजोरी भएको स्वीकारेको र भविष्यमा यस्तो नगर्ने बताएको प्रधानमन्त्री ओलीले बैठकमा जानकारी दिए। उक्त विषयमा शिक्षा मन्त्री श्रेष्ठले भने कुनै प्रतिक्रिया दिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank