ब्राह्मण साम्राज्यको अन्त्यमा मैकालेको योगदान

कमला हेमचुुरी ११ असार २०७८, शुक्रबार १४:३८

ब्रिटिशको प्रवेश भन्दा अगाडिको भारतको सामाजिक राजनैतिक अवस्था
भारत यस्तो देश हो जो हजारौ वर्ष देखि विभिन्न शक्तिशाली मानव समूूहको उपनिवेश बन्दै आयो । आर्य, शक, हुण, मुगल, मुसलमानहरु आक्रमणकारीको रुपमा आए । उनीहरुले यहाँको सत्ता, सभ्यता र संस्कृतिमाथि प्रभाव जमाए । र बिस्तारै आफ्नो कथित सभ्यता–संस्कृतिलाई स्थापित गर्दै गए । पछिल्लो चरणमा फ्रेन्च, डच र अंग्रेजहरु आए । उनीहरुको लक्ष्य भारतमा व्यापार तक मात्र सिमित थियो नकि यहाँको शासन सत्तामा कब्जा जमाउने । तर आर्य ब्राह्मणहरुको विभेदकारी सामाजिक वातावरणबाट लाभ उठाउदै उनीहरुको मनमा पनि भारतमा शासन गर्ने लोभ जाग्यो र उनीहरुले त्यसको लागि प्रयास गरे । र सहजै मुगल शासक र पेशवाईहरुको दबदवालाई समेत असफल पारेर भारतको शासक बने ।
भारतमा सबैभन्दा पहिला आर्यहरु इसा पूर्व पन्ध्रौ सताब्दी तिर प्रवेश गरेका थिए । पाचौं र छैठौ शताब्दीमा हूण र शकहरुको बर्चस्व कायम रह्यो । मुगलहरुले आठौ सताब्दी देखि अठारौ शताब्दीसम्म भारतमा शासन गरे । र भारतमा सबैभन्दा पछिल्लो चरणमा सोहरौं शताब्दी तिर अंग्रेजहरुले प्रवेश गरेका थिए ।
आर्यहरु अन्य समुुदायहरु प्रवेश गर्नु भन्दा अगावै प्रवेश गरेर यहाँका मूलवासीहरु माथि वर्ण व्यवस्था, जातिवाद र छुवाछुत लादेर उनीहरुको शान्तिमय सत्तालाई तहसनहस गरी दिए । शक, हुुणहरुले आफ्नो तरवारको बलमा भारतमा कब्जा जमाएका हुँदा ब्राह्मणहरुले उनीहरुको वीरताको कदर गर्न बाध्य भए र अग्निहोत्र कर्मकाण्ड गरेर उनीहरु क्षेत्रीको उपाधि हासिल गर्न सफल भए । साथै ब्राह्मणको आडमा उनीहरुले आफ्नो तरवारको बलमा मूल निवासीको श्रमण संस्कृति र परम्परालाई नष्ट गर्न सफल भए ।

भारतमा मुगलहरुको प्रवेश अगावै ब्राह्मणहरुले आफ्नो कथित सभ्यता र सस्कृतिको विकासलाई चरम विन्दुुमा पुराई सकेका थिए । मुगलहरुले भारतमा प्रवेश गर्नुु अगावै आफ्नो धमर्,संस्कृति र सभ्यताको विकास गरी सकेका थिए । त्यसैले उनीहरु ब्राह्मण धर्म संस्कृति सित अन्तरघुुलन त भएनन् तर उनीहरुले भारतमा आफ्नो अधिपत्य जमाउनु थियो र शासन गर्नु थियो र त्यसको लागि ब्राह्मणहरुलाई विश्वासमा लिन जरुरी थियो । र उनीहरुले ब्राह्मणहरुलाई विशेष स्थान दिएर भारतमा लामो समयसम्म शासन गर्न सफल भए । भारतीय मूलबासीहरु माथि ब्राह्मणहरुको हैकम र उत्पीडनको बारेमा उनीहरु अनभिज्ञ थिएनन् तर उनीहरुलाई भारतमा शासन गर्नु थियो नकी यहाँको शासन व्यवस्थामा सुधार । त्यसैले उनीहरुले ब्राह्मणको मित्रता र सुबिधामा ध्यान केन्द्रित गरे । यसको बदलामा ब्राह्मणहरुले पनि मुुगलहरु प्रति आफ्नो बफादारी देखाए । मुगलहरुको शासनकालमा ब्राह्मणवादा अझै फस्टाउन सफल भयो । सूर, तुलसीदास, भूषण, विहारी र मतिदास जस्ता ब्राह्मण साहित्यकारहरुले ब्राह्मणको शासन व्यवस्थालाई मजबुत बनाउने साहित्यहरु रचे र महिलाहरु र शुद्रहरुको घोर अपमान गरे । यतिसम्म गरे कि ब्राह्मणहरुले अकबरबाट फाइदा लिनको लागि ‘अल्लाह उपनिषेद’ सम्म लेख्न भ्याए । परिणामस्वरुप ब्राह्मणहरुले आफ्नो धार्मिक–सामाजिक व्यवस्थालाई यथावत राख्ने छुट मुगल शासकहरुबाट पाए । मुगल–ब्राह्मणहरुको मेलमिलापबाट भारतका मूलबासीमाथिको दमन यथावत कायम राख्न सफल भए ।

इष्टइण्डिया कम्पनिको नाममा ब्रिटिशको प्रवेश र उनीहरुको भूमिका

भारतमा ब्रिटिशहरुको प्रवेश सोह्रौ सताब्दीमा भएको थियो । अग्रेजको प्रबेश भन्दा अगाडि पूर्तगालीहरु भारतमा आएका थिए र उनीहरुले ब्रिटिशहरुलाई आफ्नो दुष्मन ठान्थे । तैपनी मुगलबाद शाहा अकबरले अंग्रेजहरुलाई व्यापार गर्नको लागि अनुमति दिए । र उनीहरुले सुरुतलाई आफ्नो मुख्य ब्यापार केन्द्र बनाए । त्यस पछि क्रमशःमुम्बै, आगरा, अहमदाबाद, बडौदा र कोलकत्तामा आफ्नो उद्योगहरु स्थापना गरे । एक सय वर्षसम्म उनीहरुले एउटा व्यापारीको रुपमा भारतमा आफ्नो हैसियत बनाए । त्यस पछि भने भारतमा शासन गर्ने राजारजौटाहरुको बीचमा भई रहेको आपसी द्धन्द र खिचातानीको फाइदा उठाएर बिस्तारै बिस्तारै पुरै भारतमा आफ्नो शासकीय प्रभुत्व स्थापित गरे । राजनैतिक शक्ति प्राप्त गर्ने बित्तिकै उनीहरुले आफ्नो ब्यापारिक कंम्पनिलाई भंग गरेर भारतलाई एउटा उपनिवेशकोरुपमा शासन गर्न थाले ।
जहासम्म अग्रेजको कुरा छ उनीहरुले पनि भारतीय राज्यसत्तामा आफ्नो पकड जमाए पछि आफ्नो सत्तालाई दीगो बनाई राख्न ब्राह्मणहरुको भावना र परम्परालाई ख्याल राख्न जरुरी थियो र राखे पनि । यद्यपी उनीहरुले तुलनात्मकरुपमा लोकतन्त्रको महत्वलाई बुुझिसकेको हुदाँ मूलबासीहरुको विकास प्रति शंबेदनशील थिए तर ब्राह्मणहरु रुष्ट नहोउन यसको पनि उनीहरुले राम्रैसंग ख्याल राखेका थिए । सुरुवाती दिनहरुमा उनीहरुले बहुजनहरुलाई शिक्षा र नोकरीको लागि द्धार खोली दिएका थिए । तर ब्राह्मणको बिरोधको कारणले गर्दा यो सुबिधालाई सिमित गरी दिए । ब्रिटिश सरकारले जातको आधारमा सेनाको पूनरगठन गरेको थियो । तर पछि कथित अछूतहरुको सेनामा भर्तीमा रोक लगायो । ब्रिटिश शासनमा सेनामा भर्ती हुनुको मतलब थियो बालबालिकाहरुलाई शिक्षा । किनभने फौजीहरुको बालबालिकाहरुको लागि पढ्नु अनिवार्य थियो । तर ब्रिटिशहरु यि सबै काम गरेर ब्राह्मणहरुलाई चिढाउन चाहदैन थिए ।
तैपनी आधुनिक र भारतको जग हाल्ने काम र ८० प्रतिशत मूलबासीहरुलाई ब्राह्मणको शोषण, उत्पीडन, दमन सम्रगमा भन्ने हो भने आन्तरिक उपनिवेश र साम्राज्यबाट बाहिर निकाल्ने काम ब्रिटिशहरुले गरे । उनीहरुको शासनकालमा भारतमा शैक्षिक तथा साहित्यको विकासको साथसाथै कानूनी तथा सामाजिक सुधारको मामलामा महत्वपूर्ण कदमहरु चाले । उनीहरु आउनु पूर्व भारतमा शिक्षाको अधिकार केवल ब्राह्मण,क्षेत्रीलाई मात्र थियो । केवल गुरुकुल संस्कृत पाठशालाहरु मात्र थिए । जहाँ केवल ब्राह्मण र क्षेत्री पुरुषहरुले मात्र शिक्षा ग्रहण गर्न पाउथे । अरु सबैको लागि शिक्षाको द्धार बन्द थियो । साहित्य संस्कृतिलाई पनि ब्राह्मणहरुले आफ्नो बिरासतकोरुमा सिमित राखेका थिए । ब्रिटिशहरु नै थिए जसले पहिलो पटक भारतमा सार्वजनिक स्कूल, कलेज, संग्राहलय, पुस्तकालय स्थापित गरेर शिक्षाको द्धारा सबैका लागि सुलभ बनाइ दिए ।
उनीहरुले शिक्षाको साथसाथै कानूनी र सामाजिक सुधार गरेर कानूनी समानताको बिजारोपण गरे । यसले बिगत पैतिस वर्ष देखि भारतमा क्रियाशील ब्राह्मण साम्राज्यको अन्त्य गरी दियो । भारतमा ब्राह्मणहरुले जस्तो सुकै अपराध गरेता पनि उनीहरु मृत्य दण्ड सजाय भागिदार हुन पर्दैन थियो । किनभने उनीहरु मनुको विधान अनुसार अपराध क्षम्य थिए । तर पहिलो पटक ब्रिटिश सरकारले नन्द कुुमार देव नामको ब्राह्मणलाई बलात्कार र हत्याको अपराधमा मृत्युु दण्डको सजाय दिन सफल भयो । आफ्नो भाकल पुरा गर्न नवजात शिशुलाई समुन्द्र वा गंगामा बगाउने प्रथा(गंगा प्रवाह)लाई कानूनद्धारा समाप्त गरी दिए । सती प्रथालाई कानूनी अपराध तथा यस्तो व्यवहारलाई दण्डनीय बनाएर यसको अन्त्य गरी दिए । दास प्रथाको अन्त्य भयो । ठग प्रथा, नरबलि प्रथा, ब्राह्मणहरुले अरुको संपत्ति खोस्ने प्रथा, ब्राह्मणहरुले गैरब्राह्मण महिलाहरुको कौमार्य भंग गर्ने प्रथा आदिको पनि अन्त्य गरी दिए । यसरी पहिलो पटक भारतमा ब्रिटिश राजमा ‘कानूनको अगाडि सबै समान’ भन्ने अवधारणाको जन्म भयो ।

जातीय विभेदका अनगिन्ति घटनाहरु हुुँदा समेत राज्यको गम्भिर ध्यानाकार्षण हुन सकेको छैन् । समाज र राष्ट्रमा ब्राह्मणिक सत्ता अहिले पनि कायम छ । हाम्रो लागि पनि बाह्य उपनिवेश भन्दा पनि आन्तरिक उपनिवेश अहिले पनि उत्तिकै खतरनाक छ ।

डा. राम मनोहर लोहियाले आफ्नो पुस्तक ‘हिन्दु बनाम हिन्दु’मा लेख्छन् “अग्रेजको समयको गुलामी कालमा, म दाबीका साथ के भन्न सक्छु भने शुुद्रहरुको लागि बरदान साबित भयो । हामीले प्राचिन लोकतन्त्रको जति फूर्ती लगाएता पनि, यदि अंग्रेजसंग सम्पर्क नहुदो हो त हामी धेरै पछाडि पर्ने थियौं । अंग्रेजहरुको गुलामी समयमा डा. अम्बेडकर, मेघनाथ साहा, राधागोबिन्द पाल, शुुरेन्द्र नाथ शील अन्य कति जो सबैको नाम म जान्दिन , जन्मायो । यदि सन् १८५७ को बिद्रोह सफल भएको भए निश्चितरुपमा शुद्रहरुको सामाजिक उत्थानमा यति धेरै अबसर मिल्दैन थियो होला जति सन् ५७ पछिको अंग्रेजको गुलामी कालमा प्राप्त भएको छ । यो अंग्रजेको नै गुलामीको समय थियो जुन समयमा एउटा ब्राह्मण चपरासी बन्यो र एउटा चमार कलेक्टर बन्यो । ”
भारतमा ब्रिटिश शासकहरु मध्ये पनि आधुनिक शिक्षाको जन्मदाता र समतामूलक कानूनी सम्रचनाको निमार्ण गर्ने व्यक्तिकोरुपमा लर्ड मैकालेलाई लिइन्छ । उनले अंग्रेजी माध्यममा विज्ञानमा आधारित शिक्षाको पाठ्यक्रम लागु गरेर आर्यब्राह्मणहरुद्धारा स्थापित वैदिक संस्कृति र श्रेणीबद्ध असमानतामा आधारित समाज व्यवस्थालाई दमदार झट्का दिए । उनले हजारौ वर्ष देखि बन्चितिकरणमा परेका मूलबासीहरुलाई समाजको मुख्यधारमा जोडिने अवसरको निमार्ण गरी दिए ।
चन्द्र भान प्रसाद लेख्छन्,“लार्ड मैकाले पहिलो ब्रिटिश विद्धान थिए जसले विषमतामा आधारित हिन्दुत्व, ब्राह्मणवाद, जाति व्यवस्था माथि खुलेर बोले । उनी अछुतहरु र शुद्रहरुको पक्षमा आवाज उठाउने पहिलो मानवतावादी अंग्रेज विद्धान थिए ।”
लर्ड मैकालेले भारतमा विज्ञानमा आधारित शिक्षा नीति लागु गरी दिए । उनले पूजीवादको विरोध गर्दै मध्यम वर्गलाई पनि मतदानको अधिकार र महिलाहरु पैतृक सम्पत्तिको अधिकारको लागि समेत संघर्ष गरे । उनले भारतीय दण्ड संहिता (India Penal Code) लागु गरेर कानूनी समानताको अवधारणा जग बसाली दिए ।

मेकालेको योगदान
लर्ड मेकालेको पुरा नाम थोमस बेबिग्टन मेकाले हो । यिनको जन्म २५ अक्टुबर १८००मा बेलायतमा भएको थियो । यिनको पिता जेकारी मेकालेले बेलायतमा भएको दास प्रथाको बिरुद्धमा आन्दोलन गर्ने आन्दोलनकारी र एउटा व्यापारी पनि थिए । बाबुको व्यापार घाटामा गएको कारणले गर्दा यिनले जीवनमा निकै दुःख कष्ट झेल्नु परेको थियो । उनी आजीवन अविवाहित रहे । मेकाले इतिहाँसकार, कवि, कानूनविद र राजनीतिज्ञ थिए । उनी सन १८३० मा बृटिश संसदको सदस्य भएका थिए । उनी सन् १८३४ मा ‘सुप्रिम काउन्सिल अफ इण्डिया’को सदस्यकोरुपमा भारतमा प्रवेश गरेका थिए । उनी भारतमा केवल चार वर्षमात्र बसे । तर उनले भारत बसाइको छोटो अवधीमा जे जति पनि काम गरे त्यसले बहुसंख्यक मूलबासीको जीवनमा काया पलट गरी दियो । उनले भारत प्रवेश गर्नु भन्दा अगाडि के प्रतिज्ञा गरेका थिए भने शुुद्र र अछुत माथि भएको उत्पीडनको बन्धनलाई काटेर मात्र मर्ने छु । उनले ब्रिटिश संसदमा बोल्दै भनेका थिए, “भारतमा हिन्दु कानून संस्कृत ग्रन्थमा र इस्लामिक कानून अरबी ग्रन्थको आधारमा निर्मित छ । मेरो विश्वास के छ भने वर्तमानको यस पद्धतिले भारतको विकास संभव छैन् । यसमा टासिएर बस्नु भनेको रुढीवादलाई प्रोत्साहन गर्नु हो ।”

भारतमा आधुुनिक शिक्षाको सुुरुवात
सुरुको एकसय वर्ष इष्टइण्डिया कम्पनिले मूलत आफ्नो ध्यान भारतमा व्यापारमा केन्द्रित ग¥यो । यो अवधीमा पनि उनीहरुले भारतमा शैक्षिक, राजनैतिक, सामाजिक स्तरमा केही सुधारात्मक र बिकासात्मक कामहरु गरे । सुधारका कामहरु जारी राख्दै ब्रिटिश संसदले वार्षिक एक लाख रुपिया भारतका मूलबासीहरुको लागि इष्ट इण्डिया कम्पनीले खर्च गर्नु पर्ने निर्णय ग¥यो । तर प्रश्न थियो कसरी गर्ने ? त्यतिबेला भारतमा मेकालेले शिक्षा नीति बनाउन पूर्व भारतमा दुुई किसिमका शिक्षाका प्रणालीहरु थिए । जसलाई ‘देशज–पद्धति( indigenious system) भनिन्थ्यो । अध्यापनको भाषाको माध्यम संस्कृत र अरबी थियो । स्कूलहरु हिन्दुहरुको लागि मन्दिर र इमामको लागि मस्जिद थियो । यहाँ मूलबासीहरुको लागि कुनै स्थान थिएन । बनारसमा पहिलो पटक ब्रिटिश सरकारले संस्कृति कलेजको स्थापना ग¥यो । तर संस्कृत केवल ब्राह्मणको मात्र भाषा भएकोले यहाँ पढ्ने ब्राह्मण मात्र भए र प्रवेश पनि ब्राह्मणको लागि मात्र विशेष नियम बनाएर व्यवस्था गरियो ।
मेकालेको भारत आगमन पछि उनले बनाएको नीति अनुसार भारतको मूलबासीहरुको लागि खर्च गर्न भनेर छुट्टाइएको एकलाख रुपिया विज्ञानमा आधारित आधुनिक शिक्षाको लागि खर्च गर्ने निर्णय भयो । सबै जनताको लागि बंगालमा धैरै स्कूल र कलेजहरु खोलिए । देश भरी जिल्ला स्तरीय सार्वजनिक स्कूूलहरु खोलिए । शिक्षा अधिकारीहरुलाई के निर्देशन दिइयो भने, “कुनै पनि स्तरमा जाति, उपजाति, र धर्मको आधारमा कुनै पनि बालबालिकालाई स्कूल प्रवेशबाट बन्चित गरिने छैन ।”ब्रिटिश सरकारको यस समतावादी कदमको ब्राह्मणवादीहरुले घोर बिरोध गर्न सुरु गरे । सरकारले बल प्रयोग गरेर पनि अछुुतहरुको भर्नालाई शुनिश्चि गर्ने काम जारी राख्यो । तर ब्राह्मणवादीहरुले स्कूल बहिस्कार गर्न थाले पछि र अछुत वस्तीहरुमा हिंसात्मक आक्रमण गर्न थाले पछि सरकारले बाध्य भएर अछुत र आदिवासीहरुको लागि अलग्गै स्कूल खोल्यो । तर बाह्मणवादीहरुको दबाब हुँदा हुँदै पनि अछुतहरु र आदिबासीहरुको शिक्षालाई भने निरन्तरता दियो ।
यदि मेकालेले बहुसंख्यक भारतीय जो शिक्षाबाट बन्चित थिए उनीहरु शिक्षाको अधिकारलाई शुनिश्चित नगरी दिएको भए आज पनि भारतीय धर्तीमा ब्राह्मणवादको विधान अहिलेसम्म पनि रही रहन्थ्यो । त्यहाँका मूलबासीहरु अहिले पनि अनपढ, गवार रहन्थे । उनीहरुलाई ब्राह्मणवादीहरुले जुठोपुरोमा बाच्न विवश पारी रहन्थे । अछूतहरु गाउँ छेउमा बस्न बाध्य भै रहने थिए । भारतमा मेकेलेको शिक्षामा सबैको पहुच नीति नआएको भए सायद अम्बेडकर जन्मदिदैन थिए होला ।

मेकालेको दण्ड संहिता

मेकाले निमार्ण गरेको भारतीय दण्ड संहिता लागु गर्नु भन्दा अगाडि पनि ब्रिटिशले अपराधिक दण्ड संहिताको निमार्ण गरेका थिए । तर यो देश भरी समानरुपले लागु हुन सकेको थिएन । न्यायलय राजधानीमा हुन्थे । देशको बाकी हिस्सामा शासन जमिन्दारको हातमा थियो । बंगाल र मद्रासमा मुस्लिम कानून लागु थियो भने बम्बै प्रसिडेन्सीमा हिन्दुको लागि हिन्दु दण्ड संहिता लागु थियो भने मुस्लिमहरुको लागि मुस्लिम दण्ड संहिता । हिन्दुको कानून र न्याय पुरोहितको हातमा थियो र उनीहरुको नजरमा सबै एक समान थिएनन् ।
पछि मेकलेद्धारा निमार्ण गरिएको इण्डियन पेनल कोड अनुसार भारत भरी समानतामा आधारित एक प्रकारको दण्ड संहिता लागु गरियो । यो कानून जाति, धर्म, क्षेत्र, लिङ्ग भन्दा माथि उठेर सबैलाई अपराधको आधारमा समान न्याय दिने नीति अनुरुप निमार्ण गरिएको थियो । अम्बेडकरले लेख्छन्, “ब्रिटिश शासनको देन के थियो भने मनुस्मृति अब देशको कानून रहेन । यसमा अब कुनै सन्देह छैन् कि अदालतबाट अब यो अपेक्षा गरीदैन कि यसले मनुुस्मृतिमा उल्लेख गरीएको कानूनलाई नियमको रुपमा लागु गरोस् । यो बहुजनहरुको लागि त्यतिकै महान उपलब्धी हो जति यूरोपबासीहरुको लागि धार्मिक सुधार थियो ।”
सन् १८३४मा पहिलो विधी आयोग को गठन भयो र यसको अध्यक्ष मेकाले थिए । यसको प्रमुख काम के थियो भने न्याय अधिकार, शक्ति र वर्तमान न्यायलयको नियम तथा ब्रिटिश भारतमा यसको कार्यान्वयनको तरिका तय गर्नुु । यसको प्रमुुख उद्धेश्य थियो ‘विधि व्यवस्थाको नियमन जाति, वर्ण, धर्म र क्षेत्रको भावना भन्दा माथि उठेर गर्नु ।’ जसरी भारतीय संबिधानका प्रधान शिल्पकार डा. अम्बेडकर थिए त्यसै गरी सदियौ देखि उपेक्षित प्रताडित मूलबासीको हितको निमित्त भारतीय दण्ड संहिता निमार्ण गर्ने शिल्पकारको भूमिका मेकलेले निभाएका थिए ।
भारतीय दण्ड संहिताको निमार्णमा मेकालेको मानवतावादी र गहन दार्शनिकतावादी दृष्टिकोण प्रतिबिम्बित हुन्छ । उनले बनाएको दण्ड संहिता आज सम्म पनि यथावतरुपमा भारतको न्यायलयमा कार्यान्वयनमा छ ।
धन्यछन् मेकाले ! भारतमा उनी केवल चार वर्ष मात्र बसे । तर उनले भारतमा गरेको शैक्षिक तथा कानूनी सुधारले ३५०० वर्ष देखि ब्राह्मणिक आन्तरिक औपनिवेशबाट पीडित करौडौ मूलबासीहरुले न्याय पाउने वातावरण बन्यो ।

उपसंहार
भारत बिगत ३५०० वर्ष देखि विभिन्न विदेशी शक्तिहरुको उपनिवेश नै भएर रह्यो । तर इतिहाँसको अध्ययन गर्दा के पाइन्छ भने ब्रिटिश बाहेक अन्य सबैले त्यहाँको ब्राह्मणवादी सत्ताको नै पक्षपोषण गरे र बहुसंख्यक मूलबासीहरु माथि ब्राह्मणवादको छत्रछायामा शोषण उत्पीडन नै लादे र उनीहरु माथि राज गरे । मैले यहाँ जोड्न खोजेको मूल कुरा के हो भने नेपाल पनि धर्मको नाम जुन किसिमको जातीय र लैङ्गिक विभेद छ त्यसको मूल श्रोत भनेको भारतको ब्राह्मणवादी सत्ता नै हो । चन्द्र सम्सेरले सती प्रथाको अन्त्य ब्रिटिश कै दबाबमा गरेका हुन भन्दा अतियुक्ति नहोला । राणाहरु थोरै भए पनि सार्वजनिक स्कूलहरु खोल्न बाध्य भए । सायद ब्रिटिशहरुको उपस्थिति नेपालमा पनि भई दिएको भए तुलनात्मकरुपमा हामीलाई धेरै नै अगाडि बढ्ने अवसर मिल्ने थियो । किनभने यहाँका दलित जनजातिहरुको हकहितको लागि उनीहरुले पक्कै पनि धेरै थोरै काम गर्थे नै । नेपालमा पनि ब्राह्मणवादी सत्ता थियो र छ । राणा शासनको अन्त्य पछि पनि यसको सम्रचनामा खासै परिवर्तन आएको छैन् । हामीले लोकतन्त्र भनेका छौं तर यहाँ मलाई धर्मरत्न यमीलाई स्मरण गर्न मन लाग्यो । २०१५ सालमा उनले संसदमा जातीय विभेदलाई दण्डनीय बनाउनु पर्छ भनेर शभामुुख कृष्ण प्रसाद भट्टराई समक्ष संकल्प प्रस्ताव पेश गरे । तर भट्टराईले त्यसलाई असान्दर्भिक भनेर पन्छाई दिए । र यो खालको चरित्र र प्रबृत्ति राज्य सत्तामा आज पनि विद्यमान छ ।
जातीय विभेदका अनगिन्ति घटनाहरु हुुँदा समेत राज्यको गम्भिर ध्यानाकार्षण हुन सकेको छैन् । समाज र राष्ट्रमा ब्राह्मणिक सत्ता अहिले पनि कायम छ । हाम्रो लागि पनि बाह्य उपनिवेश भन्दा पनि आन्तरिक उपनिवेश अहिले पनि उत्तिकै खतरनाक छ । त्यसैले भारतको इतिहाँसबाट पाठ सिकेर हाम्रो वर्तमान र भविष्यको आन्दोलनलाई कसरी निर्धारण गर्ने भन्ने कुरा तय गर्ने आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank