नवराज विक, सम्बन्ध र जातीय मनाेविज्ञान

मिमबहादुर परियार १० जेष्ठ २०७८, सोमबार १५:१३

नेपाली इतिहासको कालाे दिन, जातको नाममा प्रेमकाे हत्या भएको दिन। समाजले जातकाे नाममा मानवता बिर्सिएकाे दिन। भेरी नदीमा ६ जना युवाकाे लास बगेको दिन। जेठ १० गते रुकुम पश्चिम अवस्थित साेतिमा नवराज विक र उनका साथीकाे सामुहिक हत्या भएको आज एक बर्ष पुगेको छ।

सामुहिक हत्याकाण्ड सम्झिँदा आँखा रसाउछ, आङ जिरिङ्ग हुन्छ, समाजको कालो कर्तुत दिनहुँ मस्तिष्कमा खेलिरहन्छ। जातकाे नाममा अझै कति नवराज विकहरु मर्नुपर्ने हाे ? प्रश्नले सधैं टाेकलि रहन्छ।

प्रेम गर्नु के अपराध हाे ? सम्बन्ध गाँस्नु पाप हाे ? नेपाली समाजको चिन्तन हेर्दा अचम्म लाग्छ। माया प्रेम सम्बन्धकाे दाहेरा देख्दा, जातको जाताेले मानवता बिर्सेकाे देख्दा। समाजको चित्र एकदम कुरुप लाग्छ।

विद्वान लेख्छन् प्रेमको दायरा हुँदैन, जात भाषा र भूगोलले छेक्दैन। मायाकाे मुल भावनै जाेड्ने हाे नकि ताेड्ने। एउटा भूगोल समाजभित्र बसिसके पछि कहिलेकाहीँ जातले, कथित समाजिक संरचना, डरत्रास  र मुल्यमान्यताले दुई फरक कथित जात भएकालाई जाेड्छ। मानिसलाई जाेड्ने एकमात्र माध्यम भनेको प्रेम र सम्बन्ध हाे। प्रेम आफैमा विचित्रको छ, यसले केही देख्दैन, बुझ्दैन सिवाय भावना।

भलै प्रेमीलाई थाहा हुन्छ, मिल्दैन, समाजले दिँदैन, त्यसका कयौं वियोगान्त उदाहरण बारे उनीहरूकाे जानकार हुन्छन्। तर पनि प्रेम गर्छन्, जाेखिम माेल्छन्। नेपालमात्र हाेइन संसारको जुनसुकै समाजमा प्रेमले रङ्ग फरक भएका, धर्म भाषा, भेषभूषा फरक भएकालाई जाेडेकाे छ। नेपालमा पनि कयौं प्रेमी प्रेमिका जाेडिएका छन्। कतिको बिछाेड भएको छ, कतिको मेल भएको छ, कतिले तिरस्कार सहनुपरेकाे छ, कयौंले घरबार त्यागेर आफ्नै भूमिमा पराइ हुनुपरेको छ।

यी यावत कारणका बाबजुद प्रेमीकाे संख्या घटेको छैन।  कारण प्रेम निश्चल र अटल हुन्छ, छ। यसले जातपात धर्म संस्कार बुझ्दैन, याे विशुद्ध भावनासँग गाँसिएको छ। नवराज अर्थात प्रेमकाे एक मानक हाे। जसलाई प्रेम गरिएकै कारणले मारियो।

नवराज विक तमाम अमर प्रेमीका एक प्रतिनिधि पात्र हुन्। उनले प्रेमकाे  जात समाज बाधा अवराेध केही हेरेनन्। उनले विशुद्ध प्रेम गरे, सँगै जिउने सपना देखे। दुई फरक परिवारलाई सम्बन्धमा गाँसेर एक बनाउने साहस देखाए। उनको कयौं रहर सपना थिए हाेला। बृद्धअबश्थाका आमा बुबाको युवा छाेराप्रति धेरै अपेक्षा अवश्य थियो हाेला। उनले गरेको यहीँ प्रण र प्रेम अपराध सावित भयो। परिवारको निम्ति अभिशाप भैदियाे।

उनको, परिवारको आशा रहर अपेक्षा उनीसँगै भेरीमा बगेकाे छ। सबै सपना रहर डाेरीले बाँधेर कहिल्यै नफुक्ने गरि भेरीका किनारमा जलाइएको छ। आज नवराज विक र उनका हितैषी हामी माझ छैनन्। तर उनको प्रेम, मित्रकाे साथ सधैं अमर हुनेछ। उनीहरूलाई भेरीमा बगाउन लगाउने कथित जात व्यवस्था र व्यक्ति  जिउँदै छ। यसले कति नवराजलाई जलाउने हाे कति अजित मिजारलाई गाड्ने हाे कतिलाई मार्ने हाे ?

नेपाली समाजको सबैभन्दा घातक पक्ष भनेको जात व्यवस्था हाे। यसले समाजलाई चिराचिरामा विभाजित गरेको छ। तेराे मेरो हाम्रो मिल्ने नमिल्ने चल्ने नचल्ने जस्ता कथित जातवादी रेखा काेरिदिएकाे छ। सम्बन्ध विस्तारको लागि जात वर्णकाे सिमा राखिदिएको छ। मानिस मानिसबिच भेदभावकाे लागि  सानो ठूलो जातको पर्खाल बनाइदिएको  छ। जसकारण आज कथित जात व्यवस्थाले हजारौं सम्बन्ध ताेडिएका छन्, लाखौं मन वियोगान्तमा डुबेको छ, घरपरिवार गाउँ समाजबाट अलग बस्नुपरेको छ।

सेते दमाई, अजित मिजार, नवराज विकहरु यहीँ कथित जात व्यवस्थाकाे सिकार भएका छन्। उच्च जातीय अहंकारी रवैयाले मानिसलाई जातका हिसाबले मानसिक राेगी बनाइदिएको छ। जस्तोसुकै क्रियाकलापको लागि तयारी अवस्थामा राखेको छ।

जातको सवालमा नेपाली समाजको भाष्य एकदम डरलाग्दो छ। मानिस आफ्नाे जातलाई आफ्नाे इज्जत  प्रतिष्ठाकाे रुपमा लिने गरेको देखिन्छ। जातको लागि अमानवीय घटना घटाउनु अग्रसर भएका धेरै घटनाक्रमले पुष्टि गरेको छ। जातीय भेदभावका घटना, अन्तरजातीय विवाह र प्रेमका सम्बन्धमा गैरदलित समुदायका व्यक्तिबाट हत्या जस्तो जघन्य अपराध घटाएको धेरै उदाहरण हाम्रै अगाडि छन्।

गाउँ,शहर, बजार जता पनि जातीय कूसंस्कारकाे कुरीति देखिएको छ। के शिक्षित अशिक्षित, युवा वृद्धामा उच्च जातीय अहंकारको मनाेविज्ञान मस्तिष्कमा गहिरिएर बसेको छ। भनिन्छ, शिक्षा परिवर्तनको संवाहक हाे। तर नेपाली सन्दर्भमा अलि फरक छ। नेपालमा सरकार अधिकृतबाट जातीय भेदभावका घटेका छन्। शिक्षित जनशक्तिबाट जातीय भेदभावका घटना ढाकछोप गरिएको छ। राजनीतिक दलका विद्यार्थी संगठन जातीय विभेदका घटनामा लुकेर बस्ने परिपाटी स्थापित भएको छ। प्राज्ञ जमात पनि जातीय छुवाछूतको सवालमा माैन बसेका छन्। अब भन्नुस शिक्षाले मान्छेलाई परिवर्तन गर्छ ?

प्रेम गर्नु के अपराध हाे ? सम्बन्ध गाँस्नु पाप हाे ? नेपाली समाजको चिन्तन हेर्दा अचम्म लाग्छ। माया प्रेम सम्बन्धकाे दाहेरा देख्दा, जातको जाताेले मानवता बिर्सेकाे देख्दा। समाजको चित्र एकदम कुरुप लाग्छ।

शिक्षालाई आधुनिक समाजले प्रमुख परिवर्तनकारी अस्त्र मानेको छ। आर्थिक, राजनीतिक,कानुनी र प्रविधिक  विकासकाे सम्रचना देख्दा हाे जस्तो पनि देखिन्छ। तर दलितका हकमा भने शिक्षाले खासै परिवर्तन ल्याएको देखिदैन। सहर बजारमा शिक्षित परिवारबाट हुने विभेदका घटनाले पनि याे तथ्यकाे पुष्टि गरेको छ।

विद्यालयका शिक्षक शिक्षिकाबाट दलित छात्रछात्रालाई विभेद हुने घटनाले पनि शिक्षाले मानिसको चेतनामा परिवर्तन नपार्ने देखिएकाे छ। तुलनात्मक रुपमा  विगतकाे दाँजोमा नेपाली समाजकाे शैक्षिक अवस्था सुध्रेकाे छ। देशका कुना कन्दरामा स्कुल स्थापना भएका छन्। वर्षकै लाखौं विद्यार्थीले प्रवेशिका परिक्षा उत्तीर्ण गर्छन्। नेपालीहरु देश बिदेशका विश्वविद्यालयबाट विद्यावारीथिकाे उपाधि पाएका छन्,  तर साेच चेतनाकाे स्तरमा अझै परिवर्तन आएकाे छैन।

युरोप अमेरिकमा बस्ने नेपालीले पनि जातीय विभेदका घटनामा मुछिनुले पनि शिक्षा र ठाउँले जातीय अहमताकाे किराे मार्न नसकेकाे पुष्टि हुन्छ। धार्मिक सांस्कृतिक रुपान्तरणमा शैक्षिक जनशक्तिको भूमिका प्रभावकारी हुनुपर्ने हाे, तर नेपाली समाजमा शिक्षित परिवारबाट अन्तरजातीय विवाहमा अवरोध तथा समाजिक बहिष्कार गरेका घटनाले नेपाली शिक्षित जनशक्ति रुडिबादि प्रवृत्तिको दास भएको देखिन्छ।

जातीय मुद्दामा के शिक्षित के अशिक्षित, गैरदलितकाे मनाेविज्ञान उच्च जातीय अहंकारले घेरिएको छ। मेरो जात सर्वश्रेष्ठ हाे भन्ने अहम जीवित छ। जब समुदायमा निश्लवादी चिन्तन हाबी हुन्छ, तब समाजिक कथित संरचनाले कुसंस्कार कुरीतिलाई टेवा पुर्‍याउने गरेको छ।

नेपाली समाजको सन्दर्भमा पनि यहीँ जातीय अहंकारी रवैयाले समाजिक भाइचारा सम्बन्ध भाड्न सफल भएको छ। जात नमिले सम्बन्ध मिल्दैन, सम्बन्ध नमिले चुलोचाैका मिल्दैन। नमिल्ने सम्बन्धले वियोगमात्र दिन्छ।यदि क्रान्तिकारी मन विद्रोह गर्न चेष्टा गरे परिणाम नवराज विककाे जस्तो हुन्छ।

आफ्नाे सन्ततिकाे निम्ति अभिभावकले सेताे दमाईले जस्तै ज्यान गुमाउनु पर्छ। अजित मिजारले जस्तै मृत्यु पश्चात् वर्षाै अस्पतालको शवगृहमा बस्नुपर्ने हुन्छ। त्यसकारण अन्तरजातीय प्रेम सम्बन्धले दलित अभिभावकमा एकदम नराम्रो छाप परेको छ। कतै मेरो छाेराछाेरीकाे मृत्यु अकालमा त हुने हाेइन ? सारा गाउँ समाज मिलेर हत्या त गर्दैन जस्ता कयौं प्रश्नले पिराेलिरहन्छ।

अन्त्यमा नेपाली समाजले विशेषगरी गैरदलित समुदायले जातप्रति मनाेविज्ञानमा परिवर्तन गर्नुपर्ने देखिन्छ।  एउटा समाजमा बसिसके पछि ढिलाेचाडाे कथित संरचना बदलिन्छ। मानिसको मन बदलिन्छ, क्रान्तिकारी मनहरु थपिन्छन्। भलै त्यसकाे पारम्भिक परिणाम राम्रो हुँदैन तर परिवर्तनलाई कसैले राेक्न छेक्न सक्दैन। जातको सवालमा पनि ढिलोचाडाे परिवर्तन अवस्य हुन्छ।

विभिन्न जातजातिबीच जातीय अन्तर्घुलन निश्चित छ। विवाहको निम्ति बाहुनले बाहुनीलाई विवाह गर्न कति सम्भव छ ? दमाईले दमाइनीलाई मात्र विवाह गर्न सम्भव छ ? आज हाेला, भाेलि त्यो रहदैन। जनसंख्याको अनुपात अवस्य मिल्दैन।

अर्कोतिर मानिसको मन सधैं एकै ठाउँमा बस्दैन। एउटा समाज घरपरिवार टाेल छिमेक भैसकेपछि, धर्म संस्कार भाषा एक भएपछि बिपरित लिङ्गप्रति आकर्षित हुनु  स्वभाविक हाे। त्यहीँ आकर्षणले सम्बन्ध अवस्य गाँसिन्छ र गाँसिएका धेरै दम्पती हाम्रै वरिपरि  छन्।

सम्बन्ध गाँसियाे, जात नमिलेको प्रेम भयो भनेर कति हत्या गर्ने ? पश्चिम रुकुम नरसंहार कति घटाउने ? अकालमा कति कलिला युवालाई भेरीमा बगाउने ? एउटा कुरा भलै आज दमाई-कामी र बाहुन-क्षेत्री लगायतका अन्य दलित समुदायको वैवाहिक सम्बन्ध, नातागोता मिलेको छैन। कतिपय सन्दर्भमा मिल्न दिएको छैन। तर भाेलिकाे दिनमा दमाई कामी भान्जा भान्जी बाहुन क्षेत्री मामा माइजु अवस्य हुनेछन्।

दमाई ज्वाइँ बाहुन ससुरा यहीँ समाजमा निश्चितरूपमा देखिन्छन्। त्यसकारण मिल्नुकाे विकल्प छैन, मानवतावादी चेतलाई नखुलाई समाज सभ्य रहँदैन। यसको सुरुवात आफैबाट हुन आवस्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank